आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई मृत फेला, आत्महत्याको आशङ्का

बुधबार, १७ साउन २०८०, १२ : ३१
बुधबार, १७ साउन २०८०

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगड जिल्लामा मृत फेला परेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक रूपमा हेर्दा यो आत्महत्याको घटना भएको बताए ।

उनको शव रायगढको कर्जतस्थित एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी अधिकारीले बताए ।

यो ठाउँ महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ५० किलोमिटर टाढा छ । उनले जानकारी पाए लगत्तै प्रहरी टोली त्यहाँ पुगेको बताए । प्रहरीका अनुसार उनले मङ्गलवार राति आत्महत्या गरेका थिए तर बिहान मात्रै थाहा भएको हो ।

एनडी स्टुडियो ४२ एकडमा फैलिएको छ । यसमा सबैभन्दा पहिला आमिर खानको फिल्म ‘मंगल पाण्डे’ को सुटिङ भएको थियो । 

प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।’ नितिन देसाई धेरै चर्चित फिल्महरूसँग जोडिएका थिए ।

नितिन देसाई ‘लगान’, ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’ र  ‘राम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशक थिए ।

सन् १९९० को दशकमा रिलिज भएको विधु विनोद चोपडाको फिल्म ‘१९४२ः अ लभ स्टोरी’ को सेट डिजाइन गरेपछि नितिन देसाई चर्चामा आए ।

नितिन देसाईले कला निर्देशकको रूपमा चार वटा राष्ट्रिय पुरस्कार जितेका थिए ।

उनले ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि अवार्ड पाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप