आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समितिको बैठक

राजदूत सिफारिस समावेशी नगरेकोमा परराष्ट्रमन्त्रीमाथि सांसदहरूको प्रश्नै प्रश्न

बुधबार, १७ साउन २०८०, १३ : ४८
बुधबार, १७ साउन २०८०

काठमाडौँ । सरकारले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूत समावेशी नभएको भन्दै सांसदहरूले परराष्ट्र मन्त्री एनपी साउदमाथि प्रश्न उठाएका छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले संविधानले व्यवस्था गरेको समावेशी समानुपातिक सिद्धान्तअनुसार किन सिफारिस हुन नसकेको भन्दै प्रश्न गरेका हुन् । 

सुनुवाइ समिति बैठकमा सांसद ईश्वरी घर्तीमगरले संविधानले व्यवस्था गरेको आरक्षण अनुसार राजदूत नियुक्तिमा  समावेशिता कायम गर्नुपर्ने बताइन् । उनले समावेशी रूपमा सरकारले सिफारिस नगरे समितिले फिर्ता पठाउने क्षमता राख्नुपर्ने बताइन् ।

सांसद लीलानाथ श्रेष्ठले के आधारमा राजदूत छनौट गरिएको हो ? त्यसको मापदण्ड के हो भन्दै प्रश्न गरे ।  सांसद देवेन्द्र दाहालले कति देशमा राजदूत रहेका छन् र बाँकी देशका लागि कसरी नियुक्त गरिन्छ भन्दै प्रश्न गरे । सांसद जीवन परियारले संविधानको धारा २८३ मा समावेशी सिद्धान्त बमोजिम नियुक्त गर्नुपर्ने व्यवस्था रहेको बताउँदै सरकार यसबारेमा गम्भीर हुनुपर्ने जोड दिए । उनले  एकैपटक ६ जना राजदूत सिफारिस गर्दा मधेसी, जनजाति, महिला आदि समावेशीताका आधारमा सिफारिस गर्नुपर्ने बताए । 

अर्का सांसद पदम गिरीले  राजदूत नियुक्तिमा समावेशी समानुपातिक रूपमा गर्दा संविधानको मर्मअनुसार हुनुपर्ने बताए । उनले राजदूत नियुक्त गर्दा राजनीति भागबन्डामा गर्न नहुने बताउँदै सक्षम  कूटनैतिक दक्षता भएका व्यक्तिलाई मात्र नियुक्त गर्न आग्रह गरे । उनले विगतमा राजनीति भागबन्डामा राजदूत नियुक्त गरेका कारण पुस्तकालयको पुस्तक चोरी गरेको घटना समेत रहेको बैठकमा स्मरण गराए । 

सांसद रमेशजंग रायमाझीले पहुँच भएका मानिसहरू ठुला देशहरूमा पटक पटक जाने गरेको प्रति के हो भन्दै मन्त्री साउदलाई प्रश्न गरे । सांसद झकबहादुर शर्माले ६ जना राजदूत सिफारिस गर्दा किन समावेशिता नभएको भन्दै प्रश्न गरे ।  अर्का सांसद महेशकुमार बर्तौलाले  प्रस्तावित गरिएका राजदूतका विषमा लैङ्गिक रूपमा समावेशी नभएकोबारे प्रश्न आएको र संविधानको मर्म विपरीत आएको बताए । उनले योग्यता क्षमताअनुसार नियुक्त नगर्दा ठिक ठाउँमा ठिक मान्छे नपुग्ने बताए । 

सिफारिस गरिएको व्यक्तिबाट सम्बन्धित देशमा उत्कृष्ट कार्यसम्पादन हुन सक्दैन भनेर उजुरी आएको उल्लेख गरे ।  सांसद जर्नादन शर्माले राजदूत सिफारिसमा समावेशी समानुपातिक नभएको भन्ने प्रश्न उठेकोले मन्त्री साउदलाई प्रस्ट पार्न आग्रह गरे ।

सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस गरेको छ । आज समितिले ३ प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप