आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रविको ‘रोजगारी घोषणा’ कसरी आउँछ कार्यान्वयनमा ?

आवेदनलाई ‘शर्ट लिस्ट’ गर्ने, लिखित परीक्षा र अन्तर्वार्ता लिने काम रोजगारदाताकै
बुधबार, १७ साउन २०८०, २१ : ३२
बुधबार, १७ साउन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने घोषणासहित आवेदन आह्वान गरेका छन् । चुनावी घोषणा अनुसार उनले आफू दोस्रोपटक सांसद निर्वाचित भएको सय दिनको अवसर पारेर सय जनालाई रोजगारीका लागि विज्ञापन आह्वान गरेका हुन् । 

 लामिछानेले गत वैशाख १० गते चितवनमा भएको उपनिर्वाचनका क्रममा 'निर्वाचित भएको १०० दिनमा विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु' भनेका थिए ।लामिछानेले उपनिर्वाचन जितेको बुधबार सय दिन पूरा भएको छ।  लामिछानेले मंगलबार राति नै नेपालका विभिन्न क्षेत्रमा रोजगारी दिने भन्दै एउटा विज्ञापन सार्वजनिक गरे ।

लामिछानेले विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा विज्ञापन छापेको देखिन्छ । अहिले जापान, अस्ट्रेलिया, साउदी अरब, दक्षिण कोरियामा नेपालीले सञ्चालन गरेमा पत्रिका, अनलाइनमा विज्ञापन छापिएको रास्वपा केन्द्रीय सदस्य प्रतिभा रावलले बताइन् । 

ती देशबाट सञ्चालन हुने अनलाइन जस्तै केबिसी न्युज अस्ट्रेलिया, पिटी अनलाइन न्युज साउदी अरब, जापान समाचार डटकममा यो विज्ञापनबारे समाचार छापिएको छ।  ‘यो सबै निजी क्षेत्रमा खुलेको आवेदन हो । निजी क्षेत्रसंँग समन्वय गरेर आवेदन सार्वजनिक गरिएको छ,’ उनले भनिन् ।

रावलका अनुसार लामिछानेको सचिवालयले हस्पिटालिटी, टेक्निकल फिल्ड, रियल स्टेट लगायतका क्षेत्रमा रोजगारी दिलाउने छ । ‘रोजगारदाताको विवरण हामीले गोप्य राखेका छौँ । उहाँहरुको गोपनीयता कायम गरिदिनुपर्ने हुन्छ । रोजगारदाताले पनि राम्रो जनशक्ति ल्याउन खोज्नु भएको छ,’ उनले भनिन् ।

लामिछानेले आह्वान गरेको आवेदनमा इमेलमार्फत आफ्नो कागजात पठाउन सकिने रावलको भनाइ छ । ‘जस्तै हामीले हस्पिटालिटी इन्डस्ट्रीमा मागेको एउटा सीईओ कुरा गरौँ । तपाईं सीईओका लागि इच्छुक हुनुभयो भने हामीलाई इमेल गर्न सक्नुहुन्छ । त्यसमा सबै कागजपत्र पठाउन सक्नुहुन्छ,’ उनले उदाहरण दिँदै भनिन् ।

कम्पनीले तोकेको मापदण्ड पुगेको आवदेनलाई लामिछानेको सचिवालयले ‘शर्ट लिस्ट’ गर्ने उनको भनाइ छ । जसमा मुकुल ढकाल, दीपक बोहोरा, प्रतिभा रावल र प्रकाश सिग्देल लगायतको टोलीले काम गर्नेछ ।

‘शर्ट लिस्ट’मा भएको नामलाई उनीहरुले सम्बन्धित रोजगारदाता समक्ष पठाउने छन् । त्यसपछि आवेदन दिनेहरुलाई लामिछानेको सचिवालयले ‘भनसुन’मार्फत रोजगारी मिलाउने छ ।

लामिछानेले रोजगारदाताबाट ‘भ्याकेन्सी कलेक्ट’ करिब १६६ जनाका लागि आवेदन आह्वान गरेको बुझिएको छ । आवेदनलाई ‘शर्ट लिस्ट’ गर्ने, लिखित परीक्षा र अन्तर्वार्ता लिने काम रोजगारदाताकै हुन्छ ।

यसरी आवेदन दिनेमध्ये सबैले जागिर पाउँछन् भन्ने छैन । कम्पनीले योग्य ठानेका मान्छे मात्र छानिने छन् । कम्पनीले योग्य व्यक्ति छनोट गरिसकेपछि आफ्नो माध्यमबाट गएर छनोट हुनेलाई बधाई दिएपछि लामिछानेको काम सकिने छ ।

रावलका अनुसार काम गर्न इच्छुक व्यक्ति आफैँले रोजगारदातासँग सम्झौता गर्नुपर्ने छ । ‘कामको अवधि कति हुनेछ भन्ने दुई पक्षमा निर्भर हुन्छ । दुई पक्षबीच सहमति भएपछि काम गर्ने अवधि कति के हुने भन्ने उनीहरुबीच नै टुङ्गो लाग्छ । यसमा हामी निरपेक्ष रहन्छौँ,’ रावलले भनिन् ।

आवेदनबाट छनोट भएकाहरुलाई नेपाल आएर काम गर्न लामिछानेको सचिवालयले रोजगारदातासँग केही समय मागेको छ । ‘जागिरका लागि छनोट हुँदा पनि आजको भोलि नै नेपालमा आउन सम्भव नहुन सक्छ । केही समय लिएरमात्र नेपाल आउन सक्नुहुन्छ,’ उनी भन्छिन् ।

फ्री टिकटको स्रोत के ?

लामिछानको घोषणामा विदेशबाट नेपालमा काम गर्न फर्किनेका लागि ‘फ्री टिकट’को व्यवस्था छ । ‘कुनै रोजगार दाताले फ्री टिकट दिन्छौँ भन्नुभएको छ । केही टिकटको व्यवस्था हामीले गर्छौँ ,’ रावलले भनिन्, 'करकाप छैन। स्वच्छाले आउनुहुन्छ, नेपाल फर्किएर हामीले प्रस्ताव गरेको पदमा काम गर्नुहुन्छ भनेर टिकट र रोजगारीको सुनिश्चितता हामी गर्छौं भनेका हौं।' 

अहिले अस्ट्रेलियाको सिड्नीबाट नेपाल आउने हवाई टिकटको न्यूनतम मूल्य ७७ हजार रूपैयाँ छ। त्यस्तै कोरियाबाट नेपाल आउने टिकटको न्यूनतम मूल्य ३९ हजार रूपैयाँ छ। साउदीबाट आउन न्यूनतम २१ हजार रूपैयाँ लाग्छ भने जापानबाट आउन न्यूनतम ५५ हजारदेखि ७० हजार रूपैयाँसम्म टिकटको मूल्य पर्छ।

उनका अनुसार ‘फ्री टिकट’को सबै जिम्मा लामिछानेको सचिवालयले लिएको छ । स्रोत व्यवस्थापनबारे भने सचिवालयसँग भरपर्दो जवाफ छैन।

टिकटका लागि एयरलाइन्स र रोजगारदाता कम्पनीसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । ‘फ्री टिकटमा हामी जिम्मेवार हुन्छौँ । त्यो हाम्रो जिम्मेवारी हो । हाम्रो मेकानिजम छ,’ उनी भन्छिन्, ‘फ्री टिकट प्रबन्धको योजना बनिसकेको छ । तर, अहिले हामीले भन्न मिल्दैन ।’

नर्सको तलब १५ हजार !

लामिछानेले खाडी मुलुकदेखि अष्ट्रेलियामा काम गरिरहेका नेपालीलाई स्वदेशमै रोजगारीका लागि आवेदन आह्वान गरेका छन् । ६ वटा समूहमा १६६ पदमा रोजगारीका लागि आवेदन आह्वान गरिएको छ। मार्केटिङ एन्ड कम्युनिकेसन अन्तर्गत विभिन्न पदमा ४३ जना मागिएको छ।

टेक्निकल समूहमा ३५ जना, फाइनान्स एन्ड एकाउन्टिङमा ७ जना, फुड एन्ड वेभरेजमा २७ जना, म्यानेजमेन्ट एन्ड एड्मिनिस्ट्रेसनमा ३६ र हेल्थ केयर समूहमा १८ जनालाई रोजगारी दिने गरी विज्ञापन आह्वान गरिएको छ।

इलेक्ट्रिकल इन्जिनियरमा १ जना माग गरिएका छ । जसको तलब ४५ हजार रूपैयाँ तोकिएको छ भने मेकानिकल इन्जिनियरको तलब भने ३५ हजार रूपैयाँ तोकिएको छ। आइटी कम्पनीको सिस्टम एड्मिनिस्ट्रेटरको तलब न्यूनतम तलब ४५ हजार रूपैयाँ तोकिएको छ।

हेल्थकेयर क्षेत्रमा काम गर्न इच्छुक परिचारिका (नर्स) का लागि न्यूनतम तलबमान १८ हजार रूपैयाँ तोकिएको छ। अपरेसन थिएटरको नर्स र ओपिडी नर्सका लागि २०/२० हजार रूपैयाँ तोकिएको छ।

यस्तै, एउटा एसी कम्पनीको मार्केटिङ प्रमुख र त्यसको प्रदेश मार्केटिङ प्रमुखको तलब क्रमश : ३० हजार र २५ हजार र बोनस तोकिएको छ। प्राविधिक क्षेत्रअन्तर्गत खुलाइएको विज्ञापनमा डिजिटल डिस्प्ले सोलुसनमा रेन्टल सपोर्टमा आवेदन दिन चाहनेलाई १५ हजार रूपैयाँ तलब तोकिएको छ ।

यी क्षेत्रमा काम विदेशमा मनग्गे कमाइरहेका नेपालीहरु १५ हजारका लागि स्वदेश फर्किन्छन् त भन्ने प्रश्न उठेको छ ।  लामिछानेले 'जब लिस्टिङ कम्पनी'कै शैलीमा विज्ञापन खुलाएपछि कतिपयले सामाजिक सञ्जालमै खिसिट्युरी गरेको पनि पाइन्छ । तर, उनको सचिवालय यसको बचाउमा उत्रिएको छ ।

लामिछानेले स्टन्टका गर्न नभइ स्टडी गरेर आवेदन आह्वान गरेको रावलको दाबी छ । उनले भनिन्, ‘हाम्रो यो स्टन्ट होइन, स्टडी गरेर गरेको काम हो ।’

पहिलो चरणमा लामिछानेको टोलीले करिब १६६ जनालाई नेपाल फर्काएर रोजगारी दिने ग्यारेन्टी गरेको उनको भनाइ छ । रावलले भनिन्, ‘फरक फरक क्षेत्रका लागि जनशक्ति मागिएको हो । हामीले सबै तहको जनशक्तिका लागि आह्वान गरेका छौँ ।’ 

सबै तहको म्यानपावरलाई लक्षित गरि तलबको तोकिएको रावलको दाबी छ । ‘नेपालीहरुले खाडी मुलुकमा अहिले पनि २५–३० हजारमा काम गरिरहेका छन् । योग्य कामदारका लागि एक-डेढ लाख तलब पाउने गरि हामीले आह्वान गरिएको आवेदनमा पनि छ । हामीले सबै लेबलका कामदारलाई लक्षित गरेर आवेदन आह्वान गरेका छौँ,’ उनले भनिन् ।

तर, रास्वपाको उद्देश्य रोजगारी सिर्जना गर्ने भए पनि अहिले निजी क्षेत्रसँग समन्वय गरेको उनको भनाइ छ । ‘हाम्रो उद्देश्य भनेको रोजगारी सिर्जना गर्ने हो । अहिले हाम्रा सीमितता थाहा छन्,’ उनी भन्छिन् ‘आजको भोलि हुने कुरा होइन । तर, नेपालले पनि म्यानपावर हायर गर्न सक्छ है भन्ने उदाहरण स्थापित गर्न खोजिएको हो ।’

नेपालमा विदेशी सिप भित्र्याउन निजी क्षेत्रकै सहकार्यमा लामिछाने रोजगार अभियान चलाएको रावल बताउँछिन् । लामिछानेले यो अभियानलाई संस्थागत नभइ व्यक्तिगत रुपमा अगाडि बढाएको बुझिएको छ 

पार्टीको रोजगारी सम्बन्धि विभागहरु लामिछानेको रोजगारीको आह्वानप्रति बेखबर पाइएको छ । रास्वपा श्रम तथा उपभोक्ता हित विभागका प्रमुख असिम साहले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप