आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

भदौमा अनलाइनमार्फत वडा समितिका उम्मेदवार संकलन गर्ने रास्वपाको तयारी

बिहीबार, १८ साउन २०८०, १३ : ०९
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौमा वडा समितिका उम्मेदवार संकलन गर्ने भएको छ । संगठन निर्माण र विस्तारमा जुटेको रास्वपाले अनलाइनमार्फत भदौमा वडा समितिका उम्मेदवार संकलन गर्न लागेको हो ।

रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट संकलन गर्ने तयारी भइरहेको छ । भदौ महिनाभरी हामीले उम्मेदवारी लिन्छौं ।’ उनका अनुसार उम्मेदवारी संकलन भइसकेपछि असोजमा दाबी–विरोधको प्रक्रिया सुरु हुने छ ।

‘असोजको पहिलो साता दाबी विरोध गर्छौ । दाबी विरोध नपरेका अन्तिम उम्मेदवारको सूची असोज दोस्रो साता सार्वजनिक गरेर निर्वाचनको मिति तोक्छौं,’ बुर्लाकोटीले रातोपाटीलाई भने ।

त्यसपछि अनलाइन भोटिङमार्फत वडा समिति गठन हुने उनको भनाइ छ । ‘सम्बन्धित वडा प्रचार–प्रसार भेला भएर गर्छन् । निर्वाचन भने अनलाइनमार्फ नै हुन्छ,’ बुर्लाकोटी भन्छन् ।

रास्वपाको वडा समितिमा  वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु रहने व्यवस्था छ । ११ सदस्यीय वडासमितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ ।

‘जुन वडामा दलित महिला छैन, त्यो वडामा त्यो पद खाली हुने व्यवस्था छ । त्यहाँ १० सदस्य समिति मात्र हुन्छ,’ उनले भने । 

रास्वपाले डिजिटल युगको प्रारम्भ वडा कमिटीबाटै गर्न लागेको बुर्लाकोटीको भनाइ छ । ‘वडा–वडामा रास्वपा’ भन्ने अवधारणामा काम भइरहेको उनले बताए । रास्वपाले पार्टी गठनको एक वर्षमा करिब १ हजार वडामा कमिटी बनाइसकेको बुर्लाकोटीको दाबी छ ।

‘उक्त वडाको केन्द्रीय अभिलेखीकरण भइरहेको छ । त्यो वडामा चाहिँ चुनाव हुँदैन । वर्तमान समितिले नै काम गर्छ । अभिलेखीकरणमा नआएका वडाको चुनाव गरेर कमिटीलाई अन्तिम रुप दिन्छौं,’ उनी भन्छन् ।

वडा समितिलाई अभिलेखीकरणमा आउनका लागि रास्वपाले केही मापदण्ड राखेको छ । बुर्लाकोटीका अनुसार मापदण्ड पुरा नभएका वडाको अभिलेखीकरण हुँदैन । रास्वपाले मापदण्डमा मुख्यत तीनवटा कुरा राखेको छ ।

‘एउटा दलित महिला सदस्य हुनुपर्‍यो । महिला ३३ प्रतिशत हुनुपर्‍यो । सम्बन्धित वडामा न्युनतम सदस्य संख्या पुगेको हुनुपर्‍यो,’ उनले भने ।

बुर्लाकोटीका अनुसार गाउँपालिकाका वडामा कमिटी गठनका लागि न्युनतम ३३ जना क्रियाशील सदस्य भएको हुनुपर्छ । त्यसपछि मात्र कमिटीको अभिलेखीकरण हुन्छ ।

यस्तै नगरपालिकाको वडामा न्युनतम ४४ जना क्रियाशील सदस्य पुगेपछि बल्ल वडा समितिको अखिलेखीकरण हुन्छ ।

उपमहानगर र महानगरपालिकाका वडामा ५५ जना क्रियाशील सदस्य पुगेपछि मात्र अभिलेखीकरण हुन्छ । न्युनतम संख्या पुगेको छैन भने सिस्टमले नै अभिलेखीकरण गर्न दिँदैन ।

उनले उदाहरण दिँदै भने, ‘काठमाडौँको १६ नम्बर वडामा ५५ जनाभन्दा तल सदस्य रहेछ भने अभिलेखीकरणमा मापदण्ड पुगेको छैन भनेर सिस्टमले दिँदैन । हामीले सबै सदस्यको डिजिटलाइज गरेका छौं ।’ सबै वडामा समिति गठन भइसकेपछि मंसिरमा रास्वपामा पहिलो महाधिवेशनको प्रक्रिया सुरु हुने छ । 

रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ । सबै पालिका र निर्वाचन क्षेत्रमा पनि समिति गठनको गृहकार्य भइरहेको बुर्लाकोटीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप