आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संवैधानिक परिषद्को बैठक

प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस, को हुन् श्रेष्ठ ?

बिहीबार, १८ साउन २०८०, २१ : १२
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा अगाडि सारिएको हो । 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने कानुनी व्यवस्था छ । न्याय परिषद्ले उपलब्ध गराएको वरिष्ठताको सूची अनुसार परिषद्ले बिहीबार श्रेष्ठको नाम प्रधानन्यायाधीशका रुपमा संसदीय सुनुवाइ समितिमा सिफारिस गरेको हो ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिमा सिफारिस भएपछि समितिले प्रस्तावित प्रधानन्यायाधीशका सम्बन्धमा उजुरी आव्हान गर्दछ । उजुरी आव्हानपछि उजुरीकर्तासँग छलफल गरी उजुरीबारे स्पष्ट पार्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न प्रस्तावित व्यक्तिलाई समय दिनेछ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुनेछ । 

को हुन्, प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

३१ औं प्रधानन्यायाधीशका रुपमा नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन् । ‘क्याडर जज’ रहेका श्रेष्ठलाई न्याय सेवाको लामो अनुभव रहेको छ । 

डोटी जन्मस्थान भई कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय कुलेश्वरमा बस्दै आएका छन् । कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गरेका हुन् । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएका श्रेष्ठ २०४१ पुष ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी भएका थिए । त्यसलगत्तै क्षेत्रीय अदालतमा नियुक्ति लिएका श्रेष्ठ २०४४ फागुन १४ गते उपरजिष्ट्रार बनेका थिए । 

२०४५ जेठ ३ गतेबाट श्रेष्ठले न्यायाधीशका रुपमा काम गरेका थिए । न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ दार्चुला जिल्ला अदालतमा भएको थियो । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रुपमा काम गरेका थिए । 

२०६२ चैत १० गतेदेखि श्रेष्ठले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा कामकाज सुरु गरे । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ बागलुङ इजलासमा भएको थियो । त्यसपछि श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा न्यायाधीशका रुपमा काम गरे । पोखरामै रहँदा २०७० साउन ८ गते श्रेष्ठ पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश बने भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशका रुपमा काम गरेका छन् । 

२०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा कामकाज गरेका श्रेष्ठ हाल सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश रहेका छन् । साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि कामु प्रधानन्यायाधीशका रुपमा उनले न्यायपालिकाको जिम्मेवारी सम्हाल्नेछन् । 

प्रधानन्यायाधीश पदका लागि योग्य ११ जना न्यायाधीशको नाम समावेश गरेर न्याय परिषद सचिवालयले संवैधानिक परिषद्मा रोष्टर पठाएको थियो । सोही रोष्टरमा उल्लेख भएको न्यायाधीशमध्येबाट संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेको हो । 

संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेमा उनी करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानेछन् ।

नरम स्वभावका श्रेष्ठ न्यायपालिकामा गहिराइमा पुगेर मुद्दा बुझ्न सक्ने न्यायाधीशका रुपमा चिनिन्छन् । हालसम्म न्याय सम्पादन तथा फैसलाका सम्बन्धमा विवादमा नपरेका श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुने निश्चित जस्तै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप