आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी बैठकमा १३९ जनाले बोले, सूची लामै भएकाले बैठक लम्बिन सक्ने

शुक्रबार, १९ साउन २०८०, २० : १०
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को तेस्रो दिन जारी केन्द्रीय समिति बैठकमा ६५ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् । अहिलेसम्म पाँच जना पदाधिकारीसहित १३९ जना केन्द्रीय सदस्यहरूले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि विचार राखेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जनाए ।

शुक्रवारको बैठकमा पदाधिकारीबाट उपाध्यक्षद्वय अग्नि सापकोटा, पम्फा भुसाल र सचिव डिलराज आचार्यले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिए । 

छलफलमा भाग लिने सदस्यहरूको नामलिस्ट लामै भएकाले बैठक लम्बिन सक्छ । शनिबार बोल्ने सदस्यहरूको लिस्ट झण्डै २ सयको हाराहारीमा रहेको आचार्यले बताए ।

‘भोलिसम्म केन्द्रीय सदस्यहरूले बोल्ने नाम लिस्ट लामै छन् । विषय प्रायः दोहोरिएका छन् । सबैले बोल्न खोजे बैठक लम्बिन सक्छ । बोल्न क्रम रोकिए २१ गते अध्यक्षले उठेका प्रश्नको  जवाफ दिनु हुन्छ । परिमार्जनसहित प्रतिवेदन पास हुन्छ’, उनले भने ।

बैठकमा सापकोटाले अध्यक्ष प्रचण्ड असाधारण क्षमता रहेको भन्दै उनी जुनसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्ने नेता भएको विचार राखे ।

‘प्रचण्डमा असाधारण क्षमता छ । उहाँले जस्तो सुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नु हुन्छ’, अध्यक्षको प्रशंसा गर्दै सापकोटाले भने, ‘अहिलेको कठिन परिस्थितिमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो ।’

यसै गरी, अर्का उपाध्यक्ष भुसालले प्रचण्डको प्रस्ताव समय सान्दर्भिक रहेको भन्दै सबै जना मिलेर पार्टी निर्माणमा लाग्नुपर्ने धारणा राखेकी थिइन् ।

‘सबैको योगदान र परिश्रमबाट माओवादी बनेको हो । अध्यक्षज्यूले जुन प्रस्ताव ल्याउनु भएको छ, त्यो समय सान्दर्भिक छ । हामी सबै मिलेर पार्टी पुनर्निर्माण गर्नुपर्छ’, उनले भनिन् ।

सचिव आचार्यले जनताको जीवनस्तर परिवर्तन नभएसम्म पार्टीमा रूपान्तरणको मुद्दा उठिरहने बताए ।

बैठकमा नन्दकुमार प्रसाईँ, सत्य पहाडी, मुक्ति प्रधान, लेखनाथ दाहाललगायत ६२ जना सदस्यले विचार व्यक्त गरेको उपाध्यायले बताए । आज पनि अधिकांश सदस्यले पार्टी रूपान्तरणका लागि नेतृत्व रूपान्तरण आवश्यक रहेको धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप