आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म किन बिग्रिइनँ ?

शनिबार, २० साउन २०८०, १० : ४०
शनिबार, २० साउन २०८०

उस बेला
कुनै कालखण्डमा
त्यति धेरै बिग्रने
अवसरहरू हुँदा हुँदै पनि
म किन बिग्रिइनँ ?

मलाई पछुतो छ
म किन अनुशासन
र, इमानदारिताको घेरा भन्दा 
बाहिर उछिट्टिइनँ ?
उनै साथीहरूको लहलहैमा लागेर
गलत बाटो किन रोजिनँ ?
पढाइ नै सबथोक हो भन्दै
मैले किताबको रटान मात्र लगाइरहेँ
किन कहिले आफू हिँड्ने बाटो भुलिनँ ?

अवसर त मलाई थुप्रो नआएका होइनन्
हरेक पाइला, हरेक दिन अनि हरेक साल
अवसर नै अवसरहरूले घेरिएकै त थिएँ
जहिलेदेखि आफूले आफैलाई
बालिग कहलाउन थालेँ
तहिलेदेखि नै मैले
सही र गलत छुट्ट्याउन जानेकै त थिएँ
र, पनि म किन बिग्रिइनँ ?

गलत बाटो हिँडाउन खोज्ने सङ्गतियाहरु
नभेटिएका पनि त होइनन् 
स्कूलदेखि कलेज
कलेजदेखि विश्वविद्यालयसम्म आइपुग्दा
हरेक चरणमा भेटिएकै त थिए
तैपनि म किन बिग्रिइनँ ?

आखिर, सम्पन्नता र भोगविलासलाई नै
प्रगति मान्ने हो भने
त्यसरी नै बिग्रिएका मेरा सहपाठीहरू
वर्षौदेखि
कोही सम्पन्न त कोहीले विलासी 
जीवन बिताइरहेकै छन्
कतिपयले झन् 
आफूलाई आमूल परिवर्तन गर्दै
राजनैतिक प्रभुत्व 
र, हैकम जमाएर बसिरहेकै त छन्

ल, त्यो पनि होइन रे 
यदि सन्तुष्टि र सुखमय अवस्थालाई
जीवनको प्राप्ति मान्ने हो भने 
त्यो पनि त मसँग छैन 

मलाई अहिले पछुतो लाग्छ 
वर्षौसम्मको अध्ययन, लगन, परिश्रम
र, धैर्यताको बाबजुद
आखिर, के छ त मसँग ?
छ त केवल 
उही असम्पन्नता, असन्तुष्टि, दरिद्रता 
र, त्यही पढाइको प्रमाणपत्र
जस्ताको तस्तै त छु म
अन्ततः जहाँको तहीँ त छु म

किताबका पानाहरु पल्टाउँदा पल्टाउँदै
शिक्षा दीक्षाको अपेक्षित परिणाम कुर्दा कुर्दै
जिन्दगीको आधाउधी कालखण्ड त गुज्री नै सक्यो
अझ पढिरहेकै त छु म 
अफसोच,
अझै पढिरहेकै छु  ।

मुसिकोट–१, रुकुम पश्चिम 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप