आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘बादल वर्षा बिजुली’

टिकटकले चाह्यो भने १२ वर्षमा पनि खोला फर्काउँदो रहेछ

आइतबार, २१ साउन २०८०, ११ : २६
आइतबार, २१ साउन २०८०

अचेल सामाजिक सञ्जालको प्रभाव बलियो छ । कुनै पनि व्यक्ति जिरोबाट हिरो र हिरोबाट जिरो हुन समय लाग्दैन । सामाजिक सञ्जालकै कारण वर्षाैं पुराना गीतले समेत चर्चा पाइरहेका छन् । यस्तै एक गीत हो ‘बादल वर्षा बिजुली’ । 

वर्षातको समय चलिरहँदा यो गीतको नेपालको अलवा भारत, पाकिस्तानलगायत मुलुकमा चर्चा बढ्दो छ । टिकटक, फेसबुक र इन्स्टाग्राममा समेत भाइरल छ यो । गीतमा भारतीय सेलिब्रेटीले समेत अत्यधिक टिकटक बनाएका छन् ।

‘कर्तव्य’ फिल्मका लागि १८ वर्षअगाडि बनेको यो गीतमा आनन्द कार्की र प्राश्ना शाक्यको स्वर छ । सचिन सिंहको सङ्गीत र करुण थापाको शब्द रहेको गीतमा फिल्मभित्र दिलिप रायमाझी र सज्जा मैनालीले नाचेका थिए । अहिले भने थुप्रै स्वदेशी तथा विदेशी नाचिरहेका छन् ।

केही समयअगाडि गीतको रिमेक भर्सनसमेत सार्वजनिक भयो । अहिले पुरानो होस् कि रिमेक दुवै हिट छन् । शब्द, सङ्गीत र एरेन्ज सबै उत्कृष्ट भएकाले गीतले अहिले पुनर्जीवन पाएको गायिका प्राश्ना शाक्य बताउँछिन् । पप, आधुनिक, फिल्म होस् वा लोक प्राश्नाको स्वरमा थुप्रै गीत सार्वजनिक छन् । तर यसरी भाइरल भएको यो उनको जीवनकै पहिलो गीत हो । भाइरल गीतले आफू फेरि चर्चित भएको उनको बुझाइ छ । त्यसैले यो चर्चालाई प्राश्ना आफ्नो कमब्याक मान्छिन् । गीत भाइरल हुँदाको अनुभव र गीतका विषयमा गायिका प्राश्नालाई रातोपाटीले सोधखोज गरेको छ । 

–पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

विगत तीन महिनायता गायन रियालटी सो ‘मेरो भ्वाइस युनिभर्स’को कोचका रूपमा व्यस्त छु । अहिले यसको सेमिफाइनल राउन्ड चलिरहेको छ । त्यसका अतिरिक्त मेरो एउटा गीत भर्खरै रिलिज भयो । इमेज टेलिभिजनको जागिर पनि गरिरहेकी छु । यसमा सोमबार ‘जीवन शैली’, बुधबार ‘शृङ्गार’ र शनिबार ‘सिङ विथ मी’ नामक कार्यक्रम छ ।

–१८ वर्षअगाडिको गीत ‘बादल वर्षा बिजुली’ अहिले भाइरल भयो, कस्तो लागिरहेको छ ?

एकदमै रमाइलो महसुस गरेकी छु । आफ्नो कमब्याक भएको ठानेकी छु । गीतको राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि दिन प्रतिदिन चर्चा बढ्दो छ । गीतमा विदेशमा पनि अत्यधिक टिकटक बनिरहेका छन् । एकदमै रमाइलो फिल भइरहेको छ ।

–अहिले आएर किन भाइरल भयो जस्तो लाग्छ गीत ?

बादल देखिने, वर्षा हुने र बिजुली चम्कने वर्षात्को समय हो अहिले । यो समयसँग यो गीतमा भनिएको शब्द बादल, वर्षा, बिजुलीको कुरा पनि मिल्यो । गीतका शब्द, सङ्गीत र एरेन्ज सबै राम्रो छ । अहिले पब्लिकले फेरि रुचाए । अर्काे कुरो अहिलेको समय मानिसले धेरै गहिरिएर गीत सुन्दैन । टक्क टिप्न सक्ने, मुखमा झुन्डिन सक्ने खालको गीत चल्ने समय हो यो । त्यही भएर यो गीत फेरि चल्यो ।

यो गीतका सङ्गीतकार सचिनसिंह दाइ हुनुहुन्छ । उहाँका गीत सबै चलेका छन् । यो गीत पहिले पनि चलेको थियो । त्यो समय ३, ४ महिना लगातार विभिन्न एफएममा टप वानमा हरेको थियो । मैले धेरै कार्यक्रममा गाउने गीतमध्येको एक हो यो । गीतको सफलताबाट म मात्र होइन, हामी सबै टिम नै गदगद छौँ ।

–गीत भाइरल भएको कसरी थाहा पाउनुभयो ?

म भाइरलको पछि लाग्ने, पछ्याउने खालकी गायिका होइन । कतिपयले यस्तो गीत गाउँदा भाइल भइन्छ भन्दा पनि हँुदैन त्यस्तो गर्न भन्थे । ‘मेरो भ्वाइस युनिभर्स’ को एक मिटिङमा थिए । त्यहाँ निशा देशार गायिकाले तिम्रो गीतमा टिकटक बनेको बनेकै छ त भन्नु भयो । मैले अन्य गीतको झैँ मेरो पनि बनेछ भनेर सामान्य रूपमा लिए । तर नाम हेर्दा गलत देखेँ, वास्ता गरिनँ । त्यहाँ केही समय बस्दा छिन छिनमा गीतमा नयाँ नयाँ भिडियो अपलोड भइरहेको देखेँ । त्यो समय निशाले तिम्रो गीत भाइरल होला जस्तो छ है भन्दै हुनुहुन्थ्यो । नभन्दै गीत त भाइरल भइसके छ । गीत अचम्मले भाइरल भयो । गीतको चर्चा देख्दा म छक्क परेँ । भाइरल भनेको यो रहेछ, यति धेरै चर्चा हुँदोरहेछ भनेर करियरको यो लामो समय अहिले आएर अनुभव भयो ।

277303254_4915046451894842_3797398494120901178_n

–गीत भाइरल भएको यो पहिलो पटक होइन त ?

यति धेरै भाइरल भएको यो पहिलो हो । कोरोना अगाडि मेरो गीत ‘कस्तो माया तिमीसँग बस्यो’ पनि राम्रो चलेको थियो । त्यो समय पनि गीत भाइरल हुन्थ्यो होला । किनभने यसरी नै टिकटकलगायत बन्दै थिए । कोरोनाले बिगार्यो । अहिलेको त अचम्मै तरिकाले भाइरल भयो ।

–गीत भाइरल भएपछि प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

देश विदेशबाट कस्तो राम्रो गीत गाएको भनेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । कतिलाई त यो पुरानो गीत भन्ने पनि थाहा रहेछ । उहाँहरूले कति राम्रो गीत गाएको भन्नुहुन्छ । पुरानो गीत भन्ने थाहा पाउनले पहिलेको राम्रो गीत फेरि आयो खुसी लाग्यो भन्नुहुन्छ । गीतले एक पटक मलाई फेरि हिट गरायो ।

–गीत टिकटकले भाइरल बनायो, यो प्लेटफर्मलाई कसरी हेर्नुहुन्छ ?

टिकटकले चाह्यो भने १२ वर्षमा पनि खोला फर्काउन सक्दोरहेछ । दुई दशक हुन लागेको मेरो गीत अहिले हिट बनायो । जसले राम्रो गीत बनाउनुहुन्छ, जम्न सक्नु भएको छैन तर अवसर खोजिहरनु भएको छ, उहाँहरूका लागि यो एउटा राम्रो, उपयुक्त प्लेटफर्म हो भन्ने मैले बुझेकी छु । यसमा कहिलेकाहीँ नराम्रो कुरो भाइरल भइरहको हुन्छ । राम्रो चिजको चर्चाका लागि टिकटकले जुन भूमिका निर्वाह गरेको छ, त्यो धेरै राम्रो कुरो हो । एउटा कलाकारका लागि यो राम्रो प्लेटफर्म र अवसर हो । सदुयोग गर्न जान्नुपर्छ ।

–तपाईंको गीतमा बलिउडका चर्चित कलाकारले भिडियो बनाइरहेका छन् नि ?

बलिउडका थुप्रै कलाकारले यो गीतमा भिडियो बनाउनुभनेको नेपाली गीतसङ्गीतका लागि अन्तर्राष्ट्रिय ढोका खोले जस्तै हो । यो नेपाली गीतसङ्गीतका लागि खुसीको कुरो हो ।

–तपाईंलाई यो गीत गाउने अवसर कसरी मिलेको थियो ?

म त्यो समय गायनमा नयाँ थिएँ । एउटा रियालटी सो जितेर सङ्घर्ष गर्दै थिएँ । पहिलेदेखि नै सचिनसिंह दाइका गीतसङ्गीत निकै राम्रो लाग्थ्यो । मेरो पाश्र्व गायनमा पनि रुचि थियो । अवसर पाए गर्ने सोच थियो । 

त्यो समय मैले सचिन दाइलाई कसरी भेटेँ याद छैन । भेटमा उहाँले मेरो गायन स्केल हेर्नुभयो । गीत आफर गर्नु भयो । फेरि अर्काे साइनो भन्ने फिल्मको । गीत स्वरूपराज आचार्यसँग गाएकी थिए । त्यो समय स्टुडियो थोरै हुन्थे । स्टुडियोमा मानिसहरूको भीड हुन्थ्यो । स्वरूपराज आचार्यसँग मैले गाएपछि सबैले मेरो स्वरको तारिफ गरे । त्यसपछि सचिन दाइले ‘कतव्र्य’ फिल्मका लागि यो गीत ‘बादल वर्षा बिजुली’ दिनुभएको थियो । 

उक्त समय आनन्द कार्की निकै चर्चित गायक हुनुहुन्थ्यो । उहाँसँग यो गीत गाउन सक्दिनँ कि भन्ने डर थियो । डराई डराई मैले गीतमा भोकल हालेकी थिए । यो गीत मेरा लागि लक्की पनि भयो । यस अगाडि गाएको फिल्मको भन्दा यो गीत बाहिर छिटो आयो । 

यो मेरो पाश्र्व गायनको डेब्यु गीतभन्दा पनि हुुन्छ । त्यसपछि मैले लगातार फिल्मको गीतसमेत गाएँ । यो गीत अधिकांश स्टेजक कार्यक्रममा मैले गाउने गरेकी छु ।

–गीत भाइरल भएपछि काम पनि त बढ्यो होला ?

भाइरल मेरो गीत भएको हो, म होइन । किनभने यो गीत हिट भएपछि अहिले जुन किसिमले कामको चाप मलाई हुनु पथ्र्याे, त्यो छैन । अलिअलि गीतसङ्गीतका काम त म गरिरहेकी छु । भाइरल भए पनि कामको चाप बढेको छैन ।

–गीतको रिमेक भर्सन पनि आयो नि, किन ?

मनिसहरू कतिले पुरानो गीत राम्रो त कतिले अहिलेको राम्रो छ  भनेका छन् । रिमेक पुरानोभन्दा राम्रो गर्छाैं भनेर गरेको पनि होइन । अहिले टेक्नोलोजीको जमाना हो । समय अनुसारको केही फरक हुन्छ कि भनेर रिमेक गरिएको थियो । 

–रमेक पहिलेभन्दा राम्रो भएन भनेका छन् नि ?

कतिपयले राम्रो भनेका छन्, कतिले नराम्रो । प्रतिक्रिया दिनेले जे दिए पनि गीतकै चर्चा भइरहेको छ । केही गर्दै गरेन भने मात्र प्रतिक्रिया आउँदै छ । प्रतिक्रिया आयो भनेर केही नगरी बस्न पनि सकिन्न । काम गर्दै जाने हो । सकारात्मक नकारात्मक प्रतिक्रिया त आउँछ नै ।

–प्राश्ना हराएकी थिइन्, गीतले फेरि ल्यायो भनेको पनि सुनियो ?

पहिले पनि म चलेको होइन, मेरो गीत चलेको हो । गीतमार्फत मेरो नाम अलि अलि आउँथ्यो । अहिले मेरो कमब्याक हो । किनभने म उद्योगमै रहे पनि गीतमार्फत यति धेरै चर्चा त कहिलै पाएको थिइनँ । एक हिसाबले ओझेलमा रहेकी मलाई यसले फेरि ल्यायो भन्न मिल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप