आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा

हामी एक ढिक्का भएका छौँ, विधि पद्धतिभन्दा बाहिर जाँदैनौँ : प्रचण्ड
आइतबार, २१ साउन २०८०, १६ : १९
आइतबार, २१ साउन २०८०

काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । 

बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।  

‘प्रचण्ड’ले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । 

‘यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, उनले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’ 

बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए । 

बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार ७ सय वडामा पुगेर तीन महिने अभियान चलाउने निष्कर्षमा पुगेका छौँ’, अध्यक्ष प्रचण्डले आफू पनि सातवटै प्रदेशमा एकएक वडामा पुग्ने घोषणा समेत गरे । 

‘म पनि सात वटा प्रदेशका सात वटा वडामा पुगेर जनताको भावना बुझ्ने र सबै केन्द्रीय सदस्य वडामा पुग्ने निष्कर्ष यो बैठकको छ’, त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि देशभरका कुनैपनि घरपरिवार नछोडि जनताका घरमा पुग्ने प्रचण्डले बताए । ‘एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता ,सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ’, प्रधानमन्त्री समेत रहेका प्रचण्डले घोषणा गरे । साथै उनले बैठकपछि पार्टी एकढिक्का भएकोमा आफू विश्वस्त बनेको बताए । 

‘अव यो बैठकबाट निक्लँदै गर्दा यो भन्न सक्छौँ कि हामी एक ढिक्का भएका छौँ, विधि पद्धतिभन्दा बाहिर जाने छैनौ’, प्रचण्डले भने, ‘सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिनेगरी जनतामा जानेछौँ, विचार र राजनीतिमा मात्र होइन, हामी सवैका लागि यो खुसी र भावनामा पनि एक भएका छौ ।’ 

प्रचण्डले यो अभियानपछि माओवादी पुन जाग्ने दाबी समेत गरे । ‘माओवादी अव फेरि जाग्नेछ । जनताको भावना र चाहाना सम्बोधन गर्न बैठकले नयाँ उज्यालो दिएको छ’, प्रचण्डको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप