आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी कप्तानको प्रश्न : ‘भारतलाई प्रतियोगिता खेल्न स—साना केटाकेटी पठाउन कसले भन्यो ? ’

आइतबार, २१ साउन २०८०, १७ : १८
आइतबार, २१ साउन २०८०

काठमाडौँ । गत जुलाईमा श्रीलंकामा ‘इमर्जिङ टिम्स एसिया कप’ क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका र नपाएका आठवटा राष्ट्र सहभागी थिए । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाएको थियो ।  प्रतियोगितामा नेपालवाहेक अन्य राष्ट्रले आफ्नो ‘ए’ टोली सहभागी गराएका थिए । नेपालले भने आफ्नो सिनियर टोलीलाई नै सहभागी गराएको थियो । तर, नेपाली टोलीमा पनि थुप्रै अनुभवी खेलाडी अनुपस्थित थिए । 

प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको थियो । फाइनलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई एक सय २८ रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगिता सकिएको करिब दुई साता बितिसक्दा पनि भारत र पाकिस्तानका खेलाडी र समर्थक भने त्यसैमा अल्झिएर बसेका छन् । पाकिस्तानले उपाधि जितेपछि सुरुमा केही समर्थकले भारतले कमजोर टोली पठाएकाले पाकिस्तानले उपाधि जितेको धारणा सामाजिक सञ्जालमा ब्यक्त गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा यस्ता थुप्रै धारणा राख्न थालियो । 

सामाजिक सञ्जालमा भारत र पाकिस्तानका क्रिकेटप्रेमीबीच एक प्रकारको वाकयुद्ध नै चल्यो । पाकिस्तानभित्र पनि यो विषयले निकै चर्चा पायो । पाकिस्तानकै केही खेल अधिकारीले पनि प्रतियोगितामा सिनियर खेलाडी पठाएको भन्दै आलोचना गरेका थिए ।  त्यसबाट आजित भएका पाकिस्तानी  ‘ए’ टोलीका कप्तान मोहम्मद ह्यारिसले आइतबार आफ्नो मुख खोलेका छन् । ह्यारिसकै कप्तानमा पाकिस्तानले ‘इमर्जिङ टिम्स एसिया कप’ को उपाधि चुमेको थियो । भारतलाई प्रतियोगितामा जुनियर खेलाडी पठाउन कसैले दबाब नदिएको धारणा ह्यारिसले ब्यक्त गरेका छन् । 

‘प्रतियोगितामा जुनियर खेलाडी सहभागी गराउन भारतलाई कसले दबाब दियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नै भारतको टोली चयन गरेको होइन र ? हामीले त भारतलाई दबाब दिएका थिएनौं । अनि किन भारतले प्रतियोगितामा स—साना केटाकेटीलाई सहभागी गराएको त ?’ पाकिस्तानी कप्तान ह्यारिसले आफ्नो रोष प्रकट गरेका छन् । 

‘इमर्जिङ टिम्स एसिया कप’ खेल्न श्रीलंका पुगेका भारतका अधिकांश खेलाडी अनुभवी भएको दाबी पनि उनले गरेका छन् । ‘के इन्डियन प्रिमियर लिग (आईपीएल) सामान्य प्रतियोगिता हो ? भारतीय टोलीमा रहेका अधिकांश खेलाडीसँग आईपीएलजस्तो ठूलो प्रतियोगिता खेलेको अभुवन थियो । अनि कसरी भारतीय टोलीका खेलाडी अनुभवहिन भए ? ’ ह्यारिसले भनेका छन् । 

प्रतियोगिताको समूहगत चरणको खेलमा भने भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो । ‘समूहगत चणको खेलमा हामी भारतसँग पराजित भएका थियौं । त्यतिबेला त सिनियर र जुनियर टोलीको कुनै प्रश्न नै उठाइएन । अनि अहिले फाइनलमा हारेपछि किन यत्रो रडाको ?’ ह्यारिसले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।  प्रतियोगिताको फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोली भने ४० ओभरमा दुई सय २४ रन बनाउँदै अलआउट भएको थियो । 

केही आलोचकहरु अहिले पनि त्यो फाइनल खेल पाकिस्तानको सिनियर खेलाडी र भारतको जुनियर खेलाडीबीच भएको धारणा राख्छन् । उनीहरुलाई नै जवाफ दिन अहिले पाकिस्तानी टोलीका कप्तान ह्यारिसले आफ्नो मुख खोलेका हुन् ।  आलोचकहरुका अनुसार, भारतको तुलनामा पाकिस्तानी टोलीमा बढी सिनियर खेलाडी थिए । सिनियर खेलाडीका रुपमा आलोचकहरुले कप्तान ह्यारिस, मोहम्मद वसिम जुनियर, साहनवाज दहानी र सामी अयुबलाई औंल्याएका छन् ।  

भारतीय टोली भने २० वर्षीय यस ढुलको कप्तानीमा प्रतियोगितामा सहभागी भएको थियो । भारतीय टोलीमा साई सुदर्शन, राजबद्र्धन हङ्गारगेकर, रियान परागलगायतका खेलाडी थिए । ‘आईपीएल आफैमा निकै ठूलो प्रतियोगिता हो । भारतीय टोलीमा सहभागी अधिकांश खेलाडीले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अनि उनीहरु अनुभवहिन खेलाडी कसरी भए ?’ ह्यारिस प्रश्न गर्छन् ।

सामी र आफूले केवल पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको तर, भारतीय खेलाडीले त्योभन्दा निकै बढी आईपीएल खेलेको उनको तर्क छ । ‘सामीले पाँचवटा र मैले ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छौं । तर, भारतीय टोलीमा रहेका खेलाडीले आईपीएलमा दुई सय ६० वटा खेलसम्म खेलेका छन् । अनि को बढी अनुभवी खेलाडी भए त ?’ ह्यारिस भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप