आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद

जुटेन सहमति : प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, २२ साउन २०८०, २१ : ३७
सोमबार, २२ साउन २०८०

काठमाडौँ ।  प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते भित्रिएको सय किलो हाराहारी तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ ।

यता सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ ।  एमालेको अडानका कारण संसदमा गतिरोध कायम भएपछि संसद सुचारु गराउन भन्दै सभामुख देवराज घिमिरेले पहल थालेका थिए ।

बिहान उनले प्रधानमन्त्री, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुबीच सिंहदरबारमा छलफल राखेका थिए । तर दुबै पक्ष आफ्नो अडानमा कायम रहेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न सकेन । 

सिंहदरबारमा सहमति नजुटेपछि साढे २ बजे निस्किएका प्रधानमन्त्री सहितका मुख्य नेताहरु साढे ३ बजेपछि नयाँ बानेश्वरमा छलफलमा बसेका थिए ।

सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन ।  त्यसपछि सूचना टाँस गरेर भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप