आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूचना प्रविधि निर्यात गर्ने कम्पनीले अब विदेशस्थित खातामा सोझै रकमान्तर गर्न पाउने

सोमबार, २२ साउन २०८०, १८ : ०१
सोमबार, २२ साउन २०८०

काठमाडौँ । अब सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले विदेशस्थित आफ्नै खातामा सोझै रकमान्तर गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले सोमबार विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

परिपत्रको एकीकृत इ.प्रा.परिपत्र ७/२०७९ मा दफा ५ क थप गर्दै केन्द्रीय बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गर्नेलाई उपलब्ध हुने विदेशी मुद्रा सुविधालाई सहज बनाउँदै त्यस्ता कम्पनीहरुले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनको लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न पाउने सुविधा उपलब्ध गराएको हो । यस्तो कम्पनीले सफ्टवेयर/प्रोग्राम/उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग/व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही तोकिएको सर्त पुरा गरेको आधारमा वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

तर यसका लागि कम्पनीले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाताको विवरण पेश गर्नुपर्न बैंकले जनाएको छ । यस्तो निर्यात भारतीय बजारमा गरी मुद्रा आर्जन गर्ने निर्यातकर्ताको हकमा ने.रु खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भा.रु आर्जन सम्बन्धी प्राण हुनुपर्ने बताइएको छ । 

यस दफा अन्तर्गतको विदेशी मुद्राको सीमा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लिखित कर योग्य आयको २० प्रतिशतभन्दा बढी हुननहुने बैंकले जनाएको छ । 

यस्तो सुविधाको विवरण संलग्न ढाँचामा बैंक तथा वित्तीय संस्थाले महिना समाप्त भएको ७ दिनभित्र विभागमा पेश गर्नुपर्नेछ भने यस्तो सुविधा प्राप्त गर्ने उद्योग/व्यवसायले महिना समाप्त भएको ७ दिनभित्र संलग्न बमोजिमको ढाँचामा राष्ट्र बैंक स्थित मुद्रण विभागमा विवरण पेश गर्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप