आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारले थालेका तीन प्रकरणको अनुसन्धानमाथि कांग्रेसकै आंशका

सोमबार, २२ साउन २०८०, १९ : ०९
सोमबार, २२ साउन २०८०

काठमाडौँ । सरकारले थालेका नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणको अनुसन्धानमाथि सत्ता साझेदार नेपाली कांग्रेसले नै प्रश्न उठाएको छ । केन्द्रीय समिति बैठकबाट ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’ भन्ने नीति लिएको कांग्रेसले सरकारी अनुसन्धानमाथि प्रश्न उठाएको हो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन काण्डको अनुसन्धानमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ मागेका छन् । ‘अवैध सुन तस्करीका सम्बन्धमा संसदमा गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने सांसदहरूको माग हो,’ महामन्त्री शर्माले भने ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शर्माले भ्रष्टाचारमा मुछिएका जोकोहीलाई मिहिन ढंगले छानबिनको दायरामा ल्याउनुपर्ने बताए । भ्रष्टाचारको छानबिन गर्ने सन्दर्भमा नेपाली कांग्रेसले कुनै मोलाहिजा नराख्ने निर्णय नै गरेको उनको भनाइ थियो ।

शर्माले भने, ‘सरकारले छानबिन गर्नुपर्ने, निर्दोष फस्नु हुन्न र दोषी कोही उम्किनुहुन्न भनेर कांग्रेसले निर्णय गरेको छ । यस्तो गम्भीर अपराधका विषयमा सरकारले यो वा त्यो बहानामा छानबिन र कारबाहीमा खुट्टा कमाउनु हुँदैन ।’

माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष गृहमन्त्री रहेको सरकारले आफ्नालाई बोक्ने र अरुलाई ठोक्ने नीति लिएको कांग्रेस नेताहरुको आरोप छ । सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीसहितका नेताहरूको नाम जोडिएको छ ।

९ किलो सुन तस्करी प्रकरणमा महराका बाबुछोरा नाम मुछिए पनि उनीहरूमाथि सामान्य सोधपुछ नभएपछि कांग्रेसले अनुसन्धानमाथि आशंका गरेको देखिन्छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले माओवादीका नेताहरू बचाउन खोजेको शंका उब्जिएको बताएकी छन् । ‘माओवादीका नेताहरू बचाउन खोजेको शंका उब्जिएको छ । यसले माओवादीका नेता बचाएर कांग्रेस नेतालाई सरकार फसाउन लाग्यो कि भन्ने प्रश्न उठाएको छ,’ उनले भनिन् ।

कांग्रेस नेताहरुलाई फसाएर सरकार अलि बढी पपुलिष्ट हुन थाल्यो भन्ने लागेको उपाध्यायको भनाइ छ । ‘सबै त भन्न मिलेन, सरकारका केही व्यक्ति पपुलिष्ट हुन थाले । मैले गरेँ है भनेर देखाउन आडम्बरी कुरा बढी गर्न खोज्या हो कि भन्ने पनि छ,’ मोरङमा आयोजित एक कार्यक्रममा उपाध्यायले भनिन् ।

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले पनि भ्रष्टाचार प्रकरणको गहिरो अनुसन्धान नभइरहेको बताए । ‘एउटा कुनै काण्ड आउँछ, त्यसलाई अघि बढाउँदा बढाउँदै अर्को आउँछ र पहिलेको साइड लाग्छ,’ प्रेस युनियन काठमाडौँको कार्यक्रममा उनले भने, ‘भुटानी शरणार्थीबाट सुरु भयो, अघि बढ्दै थियो, साइड लागेको छ ।  ललिता निवास जग्गा प्रकरण आयो । त्यो पनि अघि बढ्दै गयो, ठ्याक्क रोकिएको छ ।’

विभिन्न प्रकरणमा शीर्ष नेताहरू जोडिएपछि अनुसन्धान डिसमिस हुने गरेको कोइरालाको आरोप छ । ‘ललिता निवास प्रकरणमा मन्त्रिपरिषद् लैजान टिप्पणी उठाएका भरमा कर्मचारी जेल गएका छन् तर जसले मन्त्रिपरिषदबाट निर्णय ग¥यो, उनीहरूलाई छानबिनले छोएको छैन,’ अनुसन्धानमाथि आशंका व्यक्त गर्दै उनले भने, ‘यसपछि सुन काण्ड आयो । यो पनि सामसुम हुन्छ । किनभने माथिल्लो कोही न कोही संलग्न हुन्छ ।’

कुनै पनि प्रकरणलाई सरकारले तार्किक निष्कर्षमा पु‍¥याउन नसकेको नेता कोइरालाको भनाइ छ । ‘राजस्व अनुसन्धान विभागको महानिर्देशक सुन काण्ड हुनुभन्दा एक साताअघि प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो । हामी कहाँ पुग्न खोज्दैछौँ ?,’ उनको प्रश्न छ ।

कुनै प्रकरणमा अनुसन्धान अघि बढ्दा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच हुने गरेको छलफलमाथि पनि कोइरालाको आशंका छ । ‘कुनै प्रकरणमा अनुसन्धान अघि बढ्छ । त्यसपछि शीर्ष तीन जना नेता (पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली) एक ठाउँमा बसिहाल्नु हुन्छ । के छलफल हुन्छ ?,’ उनले भने, ‘यो कुरा उजागर भए नेपाललाई सही दिशातर्फ लैजान सकिन्छ ।’

यस्तै सहमहामन्त्री उपाध्यायले सरकारबाट निर्दोष व्यक्तिलाई थुन्ने काम भएको आरोप लगाइन् । ‘कतिपय व्यक्ति संलग्न नरहेको कुरा बाहिर पनि आएको छ । अपराधी नभएका व्यक्तिलाई राज्यले थुन्यो भने के हुन्छ ? सोचविचार गरेरमात्रै फाइल अघि बढाउनुपर्दछ,’ उनले भनिन् । कसैले सामाजिक सञ्जालमा आरोप लगाएको आधारमा मात्रै राज्य एक्सनमा जान नहुने उनको भनाइ छ ।

केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिन आवश्यक रहेको महरको भनाइ छ ।

जनकपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘भरिया पक्राउ गरिएको छ । नाम जोडिएका मान्छेलाई सामान्य सोधपुछ पनि गरिएको छैन । सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’

यस्तै कांग्रेस नेता गुरुराज घिमिरेले पनि सरकारले कुनै प्रकरणमा गहिरो अनुसन्धान गर्न नसकेको बताए । कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पनि सरकारले अनुसन्धानभन्दा स्टन्ट बढी गरेको आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप