आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पुनरावेदनका लागि प्राप्त मुद्दा

उच्च अदालत पाटन हेटौँडाको ७२ प्रतिशत मुद्दा फैसला सदर

मङ्गलबार, २३ साउन २०८०, ०७ : ५६
मङ्गलबार, २३ साउन २०८०

हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलास पुनरावेदनका लागि प्राप्त मुद्दाहरुको फैसला सदर दर बढी हुने गरेको पाइएको छ । इजलासले गत आर्थिक २०७९÷०८० मा पुनरावेदनका लागि प्राप्त भएको मुद्दामध्ये फैसला गरेको मुद्दामा सदर दर बढी र फैसला उल्टाएको दर न्यून रहेको हो ।

सो आर्थिक वर्षमा इजलासले फैसला गरेको मुद्दामध्ये ७२.६२ प्रतिशत फैसलालाई सदर गरेको छ । सो वर्षमा इजलासले जिल्ला अदालत मकवानपुर र चितवनबाट पुनरावेदनका लागि प्राप्त ७२.६२ प्रतिशत मुद्दाको फैसला सदर गरेको हो । उक्त वर्षमा १.२२ प्रतिशत मुद्दामा उल्टी फैसला गरेको उच्च अदालत पाटन हेटौँडा इजलासले जनाएको छ ।

इजलासका रजिष्ट्रार जगदीश प्रसाद भट्टका अनुसार सो वर्षमा पुनरावेदनका लागि प्राप्त भएका मुद्दामध्ये १ हजार ३१२ वटा मुद्दा फैसला गरेको छ । फैसला भएकाहरूमा इजलासले ९ हजार ५२ वटा गरिएको फैसला सदर गरेको र १६ वटा मुद्दाको फैसला उल्टाएको उनले बताए ।

त्यस्तै इजलासले ४.३८ (५८ वटा) मुद्दामा केही उल्टी फैसला गरेको छ । जसमा दाबी पुग्ने २.९७ प्रतिशत (३९ वटा), दाबी नपुग्ने ०.९१ प्रतिशत (१२ वटा), आंशिक दाबी पुग्ने ०.७८ प्रतिशत (१० वटा), मिलापत्र ०.८३ प्रतिशत (११ वटा), मेलमिलाप ०.५३ प्रतिशत (७ वटा), खारेजी ५.७२ प्रतिशत (७५ वटा), जारी १.५२ प्रतिशत (२० वटा), तामेली ०.१५ प्रतिशत (२ वटा), मुद्दा फिर्ता १.०६ प्रतिशत (१४ वटा), पुनः निर्णयका लागि फिर्ता ०.१५ (२ वटा) र अन्य ७.१३ प्रतिशत (९४ वटा) रहेको छ ।

संयुक्त इजलासबाट १ हजार ३१० र एकल इजलासबाट २ वटा गरी जम्मा १ हजार ३१२ वटा मुद्दाको फैसला गरिएको, ४१.४२ प्रतिशत मुद्दामा विपक्षी झिकाउने आदेश भएको रजिष्ट्रार भट्टले बताए । 

इजलासले पुनरावेदनका लागि प्राप्त भएका मुद्दाहरुमा आवश्यक छलफल र बहस गरी अङ्ग पुगेमा फैसला गर्ने गरेको न्यायाधीश अब्दुल अजिज मुसलमानले बताए । 

इजलासले न्यायको अवस्थाअनुसार मुद्दा हेरेर फैसला गर्ने गरेको र जिल्लाबाट गरिएका फैसलाहरूमा त्रुटि देखिएमा मात्र फैसला उल्टिने उनले बताए । 

‘पुनरावेदनको लागि प्राप्त मुद्दाको फैसला सदर हुनु सकारात्मक हो । यसले न्यायको अवस्था देखाउँछ । जब जिल्ला अदालतले गरेको फैसला माथिल्ला अदालतले उल्ट्याउन थाल्छ, त्यसले देशको न्याय प्रणाली ध्वस्त भएको बताउँछ ।’ न्यायाधीश मुसलमानले भने, ‘अहिलेको तथ्याङ्कले आम नागरिकमा न्याय गरेको देखाउँछ । हाम्रा न्यायाधीशहरुले न्याय सम्पादनको काम राम्रो गर्नु भएको ठहर्छ ।’

७५ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्षमा ७५.३६ प्रतिशत मुद्दाको फर्छ्यौट गरेको छ । इजलासमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ५४५ वटा, नयाँ दर्ता १ हजार १९६ वटा गरी कुल १ हजार ७४१ वटा मुद्दामध्ये १ हजार ३ सय १२ वटा मुद्दाको फर्छ्यौट गरेको रजिष्ट्रार भट्टले बताए । 

उनका अनुसार ४२९ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको छ । जसमा पुनरावेदनका लागि प्राप्त ३९२ वटा, सुरु मुद्दा ८ वटा र रिट÷निषेधाज्ञा २९ वटा रहेका छन् ।

इजलासमा सो आर्थिक वर्षमा लक्ष्य भन्दा कम मुद्दा दर्ता भएको छ भने फर्छ्यौट दर लक्ष्य भन्दा बढी रहेको छ । सो वर्षमा इजलासमा १ हजार ७५९ वटा मुद्दा दर्ता गर्ने लक्ष्य राखेकोमा १ हजार ७४१ मुद्दा दर्ता भएको छ भने १ हजार १७४ वटा मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा १ हजार ३१२ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।

इजलासमा सबैभन्दा बढी लागू औषधसम्बन्धी २८९ वटा र सबैभन्दा कम राहदानी र विदेशी विनिमयसम्बन्धी १÷१ वटा मुद्दा परेको रजिष्ट्रार भट्टले बताए । 

२ वर्षको एउटा मुद्दा छैन

रजिष्ट्रार भट्टका अनुसार १८ महिना नाघेको तर २ वर्ष ननाघेको १ वटा मुद्दा मात्र रहेको छ । इजलासमा २ वर्ष नाघेको मुद्दा नरहेको उनले बताए ।

इजलासमा ६ महिना भित्रको मुद्दा ३१९ वटा, १ वर्ष भित्रका मुद्दा ८० वटा, १८ महिना सम्मका मुद्दा २९ वटा रहेको छ । इजलासमा सबैभन्दा पुरानो मुद्दा २०७८ मङ्सिर २१ दर्ता भएको मोटरसाइकल चोरीसम्बन्धी रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा ७ वटा मुद्दाको मेलमिलाप भएको तथ्याङ्क रहेको छ भने २ वटा मेलमिलापको प्रक्रियामा रहेको छ । ५८ वटा मुद्दामा भने मेलमिलाप हुन नसकेको तथ्याङ्कमा उल्लेख छ । सो आर्थिक वर्षमा ६१ वटा मुद्दा मेलमिलापमा पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप