आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मकवानपुरमा पहिरो

मकवानपुरमा पहिरो : खहरेको हुन्न भर !

उद्धार कार्यमा ४ प्रहरी, ६ जना अझै बेपत्ता
मङ्गलबार, २३ साउन २०८०, १३ : २३
मङ्गलबार, २३ साउन २०८०

मकवानपुर । बागमती खोलाले  मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुलीको सिमाना छुट्याउँछ । काठमाडौँदेखि बगेको बागमती ललितपुर हुँदै मकवानपुर, काभ्रे र सिन्धुलीबाट तराई पस्छ ।

बागमतीमा ललितपुरबाट स्थानीय खहरे र खोल्सीहरू जोडिने गर्छन् । सामान्य वेगको बागमती ललितपुर र मकवानपुरको सिमाना काट्दासम्म गति बढ्न थाल्छ । मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सिमानामा रहेको बुगवाबाट हेर्दा बागमतीको वेग निकै बढी देखिन्छ । बगुवाबाट पूर्व दक्षिण बगेको उक्त खोलाले काभ्रेको सिमाना भेट्दासम्म साही दिशामा बग्ने गर्छ ।

काभ्रेको खानीखोला गाउँपालिकाको सिमानामा पर्छ मकवानपुरको बागमती गाउँपालिका । दुवै गाउँलाई त्यही बागमतीले दक्षिण तर्फ बगेर छुट्याउँछ । खानीखोला वडा नम्बर–५ को सिक्रे दोभानमा केही बस्ती छ । जुन बागमतीको कटानको जोखिममा छन् ।

त्यसैको विपरीत दिशामा पर्छ बागमती गाउँपालिका वडा नम्बर–५ सिक्रे दोभान । प्रहरी चौकी भोर्लेनीबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ सिक्रे दोभान गाउँ । कच्ची सडकको पहुँच पुगेको सो गाउँमा वर्षायाममा आवतजावत गर्न समेत समस्या हुने गरेको छ । 

बागमती खोलाको कटानको जोखिम न्यून रहेको उक्त बस्तीबाटै बग्छ सिक्रे खोल्सी । खहरेको भर हुन्न भन्ने बुढापाकाको भनाई मंगलबार सत्य साबित बन्यो । सामान्य खोल्सीमा बाढीसँगै आएको पहिरोले एक घर बगाउँदा एकको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । 

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान, निजको छोरी वर्ष २२ की शिला पहरी, ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली हरिहरपुर–१ कोकटी बस्ने वर्ष १७ का पासाङ घिसिङ रहेको उनले बताए । पासाङ सो घरमा पाहुना लाग्न आएका थिए ।

बागमती खोलाको १०० मिटर जति माथिबाट पहिरो खसेको बागमती गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले बताए । घरको छेउबाट बसेको सिक्रे खोल्सीले ढुङ्गा माटोसँगै एक घर नै बगाएर बागमतीमा मिसाइदिएको उनले बताए । पहिरोले बगाएको घरको एक साइडबाटै बग्ने गरेको सिक्रे खोल्सीले ल्याएको पहिरोले घर र मानिसहरू १०० मिटर तल बागमती खोला मिसाएको उनले बताए । उत्तरमा काभ्रेको खानीखोला, पूर्वमा सिन्धुली र दक्षिण तर्फ मकवानपुर रहेको उक्त स्थानको बिचबाट बगेको बागमतीको किनारमा रहेको सो गाउँमा करिब १५ घरहरू रहेको उनको भनाई छ ।

‘बागमतीको १०० मिटर जति माथि केही बस्तीहरू छन् । करिब १५ घरहरू सो स्थानमा रहेको छ । बस्तीहरूको छेउबाटै सिक्रे खोल्सी बग्छ । बस्तीसँगै माथि भित्ताबाट बगेको सिक्रे खोल्सी बागमतीमा गएर मिसिन्छ । गत रातिको वर्षले खोल्सीले थुप्रै ढुङ्गा र माटो सहित घर नै बगाएर बागमतीमा मिसाइदियो ।’ उनले भने, ‘अहिले त्यहाँ पनि घर थियो र ? भन्ने मात्र हो । घरको कुन अंश नै देखिँदैन । पहिरोले घरको नाम नक्सा नै नराखी बागमतीमा मिसाइदिएको छ ।’

सिक्रे खोल्सीले सामान्य घरभन्दा ठुला ढुङ्गाहरू बगाएर बागमतीमा मिसाएको उनको भनाई छ । सडकमा खसेको पहिरोका कारण कुनै नि यातायातका साधनहरू घटनास्थलसम्म पुग्ने अवस्था नरहेको उनले बताए ।

‘प्रहरी चौकी भोर्लेनी भन्दा ३ किलोमिटर उत्तर तर्फ रहेको पहिरो खसेको स्थानसम्म कच्ची बाटो पुगेको छ । तर, वर्ष याममा त्यहाँसम्म पुग्ने अवस्था छैन । ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिरो गएको ठाउँ सिक्रे खोल्सीसम्म आउन सक्ने अवस्था छैन । पहिरो खसेको ठाउँसम्म प्रहरी पैदल पुगेको छ ।’ उनले भने ।

उद्धार कार्यमा ४ प्रहरी, उद्धार टोली जाँदै

घटनास्थलमा प्रहरी चौकी भोर्लेनीबाट ४ जना प्रहरी पुगेका छन् । प्रहरी र स्थानीयहरूले पहिरोमा परि कोही पुरिएको हो की भनेर हेरिरहेका एक स्थानीले बताए । उद्धारका लागि जेसीवी लगायतका साधनहरू ल्याउन सक्ने अवस्था समेत नरहेको उनको भनाई छ ।

‘घटनास्थलमा भोलीर्नी चौकीका प्रहरी पुगेका छन् । स्थानीयहरू र प्रहरीले उद्धार कार्य गरिरहेका छन् । जेसीवी लगायतका साधनहरू ल्याउने अवस्था समेत छैन । हामीले माथिबाट हेर्ने मात्र हो,’ उनले भने । पहिरोले बागमतीमा पुर्‍याउका सबैलाई बगाइसकेको भन्ने अनुमान रहेको उनले बताए ।

‘एक जना महिलालाई उद्धार गरिएको थियो । तर, बचाउन सकिएन । स्थानीय मेडिकलमा नै उहाँको मृत्यु भयो । उद्धार गरिएको महिलालाई पनि बगाएर तल पुर्‍याएको अवस्थामा भेटिएको हो । घाइते महिलालाई पहिरो गएको स्थानभन्दा करिब २०० मिटर तल फेला पारिएको थियो,’ उनले भने ।  

घटनास्थलमा पुगेका प्रहरीसँग कुनै पनि उद्धारका सामग्री नरहेको ती स्थानीयले बताए । भोर्लेनी चौकीका ४ जना प्रहरी घटनास्थलमा पुगेको र सोही अनुसार थप सहयोग आउने तयारी भएको जानकारी दिएको उनले बताए । प्रहरीसँग कुनै पन उद्धार सामग्री नरहेको उनको भनाई छ ।

‘प्रहरीसँग पनि उद्धारका लागि कुनै सामग्री छैन । भोर्लेनी चौकीबाट ४ जना प्रहरी आउनु भएको छ । उहाँहरू मध्ये एक जना उद्धार गरिएको व्यक्तिसँग मेडिकलमा रहेका छन् । अन्य ३ जना पहिरो गएको स्थानमा उद्धारका लागि बसिरहेका छन् । जिल्लामा थप सहयोगका माग भएको जानकारी छ । प्रहरीले वर्षादी ओढेर घटनास्थलमा खोजतलास गरिरहेका छन् । कतै केही देखियो भने निकाल्ने बाहेक अरू गर्ने सक्ने अवस्था नै केही छैन । उद्धारका स्ट्रेचर, प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री पनि छैन ।’ ती स्थानीयले भने ।

उपाध्यक्ष तिमल्सिनाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी आउने क्रममा रहेका छन् । बाटो सहज नभएकाले उद्धारका लागि के के सामग्री छ भन्ने पनि जानकारी नभएको उनले बताए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत हिँडेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप