आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद्

एमालेलाई विश्वप्रकाशको प्रश्न : ३३ किलो सुन प्रकरणमा खै छानबिन आयोग ?

‘आयोग बनाएपछि प्रहरी चाहिँ टुलुटुलु हेरेर बस्ने ?’
मङ्गलबार, २३ साउन २०८०, १६ : ५९
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पालामा ३३ किलो सुन प्रकरणमा सुन समेत नभेटी फाइल बन्द गर्ने नेकपा एमालेले १ सय किलो सुन प्रकरणमा छानबिन आयोगको माग राखेकोमा आश्चर्य प्रकट गरेका छन् । शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफैले बनाएका संयन्त्रहरूप्रति अविश्वास गरेर अपराधको छानबिनमा असहयोग गरिरहेको आरोपसमेत लगाएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन प्रवेश गर्ने कुरा गम्भीर छ । एयरपोर्टबाट छिर्दै गर्दा कसको गल्ती हो ? कसको कमजोरी हो ? बेझिझक भन्नुपर्छ सरकारको कमजोरी हो । तर एयरपोर्टबाट आएर सिनामंगलको चोकमा पक्रँदै गर्दा कसले पक्रियो ? सरकारको एउटा हातले एयरपोर्टमा कमजोरी गर्दा सरकारको अर्को हातले फेरि पक्रियो ।’

‘छानबिन आयोगबारे प्रतिपक्षले उठाएको विषय संवादमा नै छौँ हामी, एउटा निष्कर्षमा पुगौँला । यहाँ १ सय किलो सुन त भेटियो । म सम्झन चाहन्छु, ३३ किलो सुनको प्रकरण । त्यहाँ छानबिन आयोग त छाड्नुहोस् । सुनको एउटा तोलासमेत नभेटीकन ३३ किलो सुनको फाइल बन्द भयो,’ उनले थपे ।

शर्माले प्रजातन्त्रपछि आफैँ बनाएको संस्थाप्रति आफैँले अविश्वास गरिरहेकोमा आश्चर्य प्रकट गरे । उनले भने, ‘हामीलाई को प्रति अविश्वास हो ? हामीले बनाएका संस्थाप्रति हामी आफै अविश्वास गरेर हामी आफैलाई प्रश्न ग गरिरहेका छौँ । संविधानले भन्छ जघन्य र संगठित अपराधहरूको गहिराइमा गएर अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । हामीले बनाएको संस्थाप्रति हामी किन विश्वास गर्न सकिरहेका छैनौँ, छानबिन यसमा गरौँ ।’

नेपाल प्रहरीले अनुसन्धानको विषयमा दक्षिण एसियामा नै चर्चा कमाएको पनि शर्माले स्मरण गराए । छानबिनको विषयमा प्रवेश गर्ने बित्तिकै राजनीतिक सहमति गरेर आयोग बनाउने अनि संविधानले बनाएको संयन्त्र टुलुटुलु हेरेर बस्ने काम सही नहुने उनले जिकिर गरे ।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवासको फाइल खोलेको बताउँदै यसमा सहयोग गर्ने कुरा भन्दा पनि आशङ्का बढी भएको उनको भनाई थियो । उनले आवेगभन्दा माथि उठ्न सबैलाई आग्रह गरे । उनले आयोग नै बनाउने हो भने हालसम्म हल हुन नसकेका मदन भण्डारी, निर्मला पन्तको विषयमा बनाउनुपर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप