आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पहिरो

मकवानपुर पहिरो अपडेट : बेपत्ताको खोजी कार्य रातभरका लागि स्थगित

मङ्गलबार, २३ साउन २०८०, २० : ०२
मङ्गलबार, २३ साउन २०८०

मकवानपुर । सिक्रे दोभान पहिरोमा हराएकाहरूको उद्धार कार्य मंगलबार रातभरका लागि स्थगित गरिने भएको छ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा मंगलबार बिहान ४ बजेको समयमा खसेको पहिरोमा हराएकाहरूको खोजी कार्य बुधबार बिहानबाट गर्ने गरि स्थगित गर्ने तयारी भएको हो ।

पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजी कार्य आजका लागि स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग असहज रहेको र आजका लागि रात परेकाले उद्धार कार्य रोक्नुपरेको प्रवक्ता कार्कीले बताए । रातको समयमा खोजी कार्यका लागी प्रहरीसँग पर्याप्त सामाग्री नभएको र प्रहरी पनि सीमित र असुरक्षित हुने भएकाले खोजी कार्य स्थगित गरिएको उनको भनाई छ । 

उनका अनुसार खोजी कार्यमा जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक विक्रम मगरको कमान्डमा, इलाका प्रहरी कार्यालय झुरझुरे, प्रहरी चौकी भोर्लेनी लगायतका इकाईबाट करिब ३५ जना जनशक्ति परिचालन भएका थिए । 

उद्धारमा खटिएका प्रहरीसँग लाइफ ज्याकेट, गाडीको ट्युब, स्ट्रेचर लगायतका उद्धार सामाग्री मात्रै रहेको प्रवक्ता कार्कीले जानकारी दिए । उद्धार टोलीसँग जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् बुधबार बिहानबाट उद्धार तथा खोज कार्य सुरु गर्ने उनले बताए ।

मकवानपुर र काभ्रेको सिमानामा रहेको सिक्रे दोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्ति १९ वर्षीय पासाङ घिसिङ रहेको उनले बताए । सिन्धुली हरिहरपुर–१ कोकटी घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भलसहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने  ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीय शिला पहरी, ज्वाइँ  २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी अझै हराइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप