आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रकृतिको चोट

मकवानपुर पहिरो : बागमतीको छालले बचायो घिसिङको ज्यान

बुधबार, २४ साउन २०८०, ०९ : ४४
बुधबार, २४ साउन २०८०

मकवानपुर । बागमतीको सिक्रे दोभानमा पहिरोमा परेर हराएका ६ जनामध्ये एक जनालाई मंगलबार साँझ जीवितै उद्धार गरिएको छ । सोमबार राति परेको वर्षाका कारण खसेको पहिरोले काभ्रे र मकवानपुरको सीमानामा रहेको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा ७ जना बेपत्ता भएका थिए ।

मंगलबार बिहान ६ः३० बजेको समयमा स्याङ्तानकी श्रीमती सन्तमायालाई उद्धार गरिएको थियो । तर, स्थानीय मेडिकलमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । दिनभर खोजी गर्दा पनि अन्य ६ जनाको अवस्था पत्ता लाग्न सकेको थिएन ।

पहिरोमा परेर हराइरहेकामध्ये १९ वर्षीय पासाङ घिसिङलाई १४ घण्टापछि जीवितै उद्धार गरिएको हो । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ । सिन्धुली, हरिहरपुर–१ कोकटीबाट घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।

एकै घरमा सुतिरहेका ७ जनालाई घरै छेउबाट बगेको सिक्रे खोल्सीले ल्याएको पहिरोले बागमती नदीमा पु¥याएको थियो । सुतिरेका उनीहरुलाई मंगलबार बिहान ४ बजेको समयमा सिक्रे खोलामा आएको ढुंगा माटो मिसिएको भेलसहितको पहिरोले बागमती नदीमा मिसाएको हो ।

खोलाबीचको बगरमा भेटिएका थिए घिसिङ

पहिरोमा हराएका घिसिङलाई १४ घण्टापछि प्रहरीले बागमती खोलाको बगरमा फेला पारेको थियो । घटनास्थलबाट करिब ७ किलोमिटर तल (पूर्व दक्षिणमा) घिसिङ भेटिएका थिए । उनलाई बोकेर बागमती पुलसम्म ल्याइ एम्बुलेन्स मार्फत् उपचारका लागि हेटौंडा पठाइएको एक प्रहरी कर्मचारीले बताए । प्रहरीले साँझ ७ बजेको समयमा उनको उद्धार गरेको ती प्रहरीको भनाइ छ ।

‘खोलाको बीचबाट एक जनाको उद्धार गर्न सफल भएका छाैँ । बागमती गाउँपालिकाको बगरे भन्ने स्थानमा बागमती खोलाको छालले फालेको पाखामा उनलाई भेटिएको थियो । घटनास्थलबाट उद्धार गरिएको स्थान करिब ७ किलोमिटर पूर्वदक्षिण तर्फ पर्दछ,’ उनले भने, ‘पहिरोमा हराएका ती युवकलाई खोलाले बगाएर त्यहाँसम्म पु¥याएको र खोलाको बीच भागमा रहेको बगरको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरिएको हो ।’

खोलाको बगरमा अड्किएको अवस्थामा स्थानीयले घिसिङलाई देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी पुगेर स्थानीयको सहयोगमा घिसिङको उद्धार गरिएको उनले बताए । ‘सो खोलामा नियमित आवतजावत गर्ने भनेको स्थानीय नै हुन्, उनीहरुको सहयोग बिना उद्धार कार्य सम्भव थिएन,’ उनले भने 

मकवानपुर र सिन्धुलीको सीमानामा रहेको बागमती पुलबाट घटनास्थल १३ किलोमिटर उत्तरतर्फ अवस्थित छ भने बागमती गाउँपालिकाको केन्द्र झुरझुरेबाट बागमती पुलसम्मको दुरी करिव ५ किलोमिटर छ । उद्धारका लागि खटाइएका प्रहरी झुरझुरेमा सवारीसाधन राखेर घटनास्थलसम्म पुगेका थिए । उद्धार समाग्रीसहित प्रहरीहरु घटनास्थलसम्म पैदल पुगेका थिए ।

बिहान १०ः३० बजे हेटौंडाबाट हिँडेको उद्धार टोली साँझ ६ बजेमात्र घटनास्थल पुगेको थियो । ‘सडकमा निकै पहिरो खसेको छ । पैदल हिँड्नसमेत कठिन हुने अवस्था छ । अत्यन्त संघर्षपूर्ण तवरले प्रहरी घटनास्थलसम्म पुगेको थियो,’ ती प्रहरी कर्मचारीले भने ।

ट्युब र लाइफ ज्याकेटको भरमा उद्धार

वर्षाका कारण बागमती नदीको बेग तीब्र बनेको छ । नदीमा बाढी आउँदा वारपार गर्न सक्ने अवस्था छैन । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी निरीक्षक विक्रम मगरको कमाण्डमा करिब ३५ जना प्रहरी परिचालन गरेको थियो ।

ट्युब र लाइफ ज्याकेटको भरमा प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

‘प्रहरीले घटनास्थलमा उद्धार कार्य गर्ने अवस्था नै भएन । खोलाले घर र त्यहाँको जग्गा नै बागमतीमा मिलाइदिएको छ । त्यहाँ खोजीकार्य गर्ने कुरै भएन । माटो, ढुङ्गा थुप्रिएको ठाउँमा पुरिएको हो कि भनेर हेरियो । तर, खोल्सा र नदीको दोभानमा भएको कारणले केही पत्ता नै लागेन । खोला तरेर पारी जान सक्ने अवस्था नै छैन,’ ती प्रहरीले भने ।

पहिरोमा परी अझै ५ जना बेपत्ता छन् । पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने  ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीय शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी अझै हराइरहेका छन् ।

उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मगरको कमान्डमा, इलाका प्रहरी कार्यालय झुरझुरे, प्रहरी चौकी भोर्लेनी लगायतका इकाईबाट प्रहरी जनशक्ति परिचालन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप