आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुगल दर्ताको अर्थराजनीति : नेपाललाई कति फाइदा, कति बेफाइदा ?

बुधबार, २४ साउन २०८०, १५ : ३४
बुधबार, २४ साउन २०८०

गुगलबारे अधिकांशले सुने पनि धेरैलाई गुगलले कसरी काम गर्छ, थाहा नहुन सक्छ । गुगलजस्तो बहुराष्ट्रिय कम्पनीले उपलब्ध गराउने सेवाहरूले हाम्रो जीवन जिउने तरिकामा आमूल परिवर्तन गरेको छ । खोज इन्जिन होस् वा इमेल, क्लाउड सेवा होस् वा क्वान्टम — कम्प्युटिङ गुगलले डिजिटल परिदृश्यमा छोटो समयमै क्रान्तिकारी परिवर्तन ल्याएको छ । गुगलका उच्च पदस्थ अधिकारीका अनुसार गुगलले प्रविधिमा ल्याएको यस किसिमको परिवर्तनलाई मानव समाजले पनि अनपेक्षित रूपमा स्विकारेको छ । 

नेपालजस्तो विकासशील देशमा विश्वको यस्तो शक्तिशाली गुगल कम्पनी व्यापारिक फाइदाका लागि कर प्रणालीमा दर्ता भयो । त्यसपछि नेपालभित्र यस विषयमा चर्चा र बहस हुनु स्वाभाविक हो । गुगलले नेपालमा दर्ता गरेपछि धेरैले स्वागत गरेका छन् । यस्तै, नेपालको अर्थतन्त्र र विदेशी लगानीको सम्भावनाका लागि सकारात्मक सङ्केतका रूपमा धेरैले हेरेका छन् । केहीले भने नेपालको स्वदेशी विद्युतीय कारोबार तथा इन्टरनेटमा आधारित प्रविधिसम्बन्धी व्यवसायमा गुगलको उपस्थितिले निम्त्याउने जोखिमका बारेमा चासो व्यक्त गरेका छन् । 

गुगल एक व्यापारिक कम्पनी हो । आफ्नो व्यवसाय वृद्धि गर्न नेपाल आएको छ । यसले आफ्नो व्यवसायमार्फत नेपालको पुँजी आफूतर्फ तान्ने प्रबल सम्भावना छ । यस कारण पुँजीको स्थानान्तरणसँग प्रविधिको क्षेत्रमा समेत नेपाल बहुराष्ट्रिय निगमको शक्ति र प्रभावमा पर्नेछ ।

अन्य राष्ट्रहरूको तुलनामा नेपाल कमजोर अर्थतन्त्र भएको विकासशील देश हो । यसको कुल गार्हस्थ्य उत्पादन विश्वमै कममध्ये पर्छ । जबकि गुगल संयुक्त राज्य अमेरिकामा स्थापित सूचना प्रविधिमा कार्यरत एक बहुराष्ट्रिय कम्पनी हो । जसको प्रभाव विश्वव्यापी छ । कमजोर अर्थतन्त्र, अस्थिर राजनीति र स्थिर व्यापारिक वातावरणको अभाव आदिजस्ता कारण नेपालले उल्लेख्य मात्रामा विदेशी लगानी आकर्षण गर्न सकेको छैन । यी विषयमा तुलनात्मक सुधार नहुँदा नै गुगलको नेपालमा आगमन असहज रूपमा पनि हेरिएको छ । गुगलविरुद्धका समसामयिक घटना क्रमले पनि यस असहजतालाई थप मजबुत बनाएको छ । भारतको प्रतिस्पर्धा नियामकले गुगललाई प्रतिस्पर्धाविरोधी अभ्यासका लागि २०२२ अक्टोबरमा ९ अर्ब भारतीय रुपैयाँ जरिवाना सुनाएको थियो । यस निर्णयको एक हप्ताअघि मात्र पनि भारतले गुगललाई १३ अर्ब भारतीय रुपैयाँ जरिवाना गरेको थियो । यति मात्र होइन, उही प्रकृतिको मुद्दामा गुगललाई युरोपियन युनियनले पनि सन् २०१८ मा लगभग ५ बिलियन अमेरिकन डलर तिराएको थियो ।

नेपालमा बहुराष्ट्रिय कम्पनीको सूचना प्रविधि, विद्युतीय कारोबार तथा इन्टरनेटसम्बन्धी व्यवसायलाई नियमन गर्ने ऐन तथा नियमको कमी छ । यस्तो अभाव गुगलका लागि अवसर हो भने नेपालका लागि ठूलो चुनौती ।

गुगलको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा कम्पनीको आम्दानी करिब ६९ बिलियन अमेरिकी डलर छ । यसलाई नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गरेर हेरौँ । नेपालको आर्थिक वर्ष २०७८ र ७९ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब रुपैयाँ थियो । यस्तो अपार आर्थिक शक्ति र प्रभाव भएको गुगलले नेपालको कमजोर पक्षहरूमा शक्ति प्रयोग गरी आफ्नो हितका लागि अवस्थामा परिवर्तन ल्याउन कोसिस गर्न सक्ने प्रबल सम्भावना रहन्छ । त्यसैले नेपालमा गुगलको दर्तालाई देश र जनताको हितमा हुने गरी अर्थराजनीतिक विश्लेषण गर्दै भविष्यको योजना बनाउन आवश्यक छ । 

नेपालमा बहुराष्ट्रिय कम्पनीको सूचना प्रविधि, विद्युतीय कारोबार तथा इन्टरनेटसम्बन्धी व्यवसायलाई नियमन गर्ने ऐन तथा नियमको कमी छ । यस्तो अभाव गुगलका लागि अवसर हो भने नेपालका लागि ठूलो चुनौती ।

हो, एकथरीले औँल्याएजस्तै नेपालमा गुगल दर्ता भएको प्रसंगलाई विदेशी लगानीको थप सम्भावनाको सङ्केत मान्न सकिन्छ । यसले डिजिटल पूर्वाधारको विकास, रोजगारी सिर्जनालगायत क्षेत्रमा आवश्यक विदेशी लगानी भित्र्याउन योगदान पुर्‍याउन सक्छ । नेपालको प्राविधिक क्षेत्रमा थप लगानी ल्याउन र सम्भावित आर्थिक वृद्धि उक्सान सक्छ ।

नेपालमा गुगलको उपस्थितिसँगै नेपाली प्रयोगकर्ताले गुगल खोज, गुगल नक्सा, गुगल ड्राइभ, गुगल क्लास रुम लगायत गुगलका थप सेवामा अझ राम्रो पहुँच पाउन सक्छन् । साथै अहिलेसम्म प्रयोग गर्न नपाएका कतिपय सुविधा उपभोग गर्न पाउने छन् । जस्तै ः गुगल पे । गुगलका सेवाहरूमा साना व्यवसायलाई फराकिलो तथा विश्व बजारका ग्राहकसम्म पुग्न मद्दत गर्ने क्षमता छ । यो नेपाली व्यवसायका लागि विशेष रूपमा लाभदायक हुन सक्छ । साना व्यवसायीका लागि आफ्नो पहुँच विस्तार गर्न र आफ्नो व्यवसाय सञ्चालनमा सुधार ल्याउन गुगलका सेवाहरू सहायक हुन सक्छन् । 

गुगलले आगामी दिनमा नेपाली प्रयोगकर्तालाई अझ राम्रो सेवा दिन आफ्ना उत्पादन र सेवालाई स्थानीयकरण गर्न सक्छ । आफ्ना उत्पादनलाई नेपालीमा अनुवाद गर्ने, स्थानीयकृत सामग्री उपलब्ध गराउने र नेपाली प्रयोगकर्ताको आवश्यकताअनुसार आफ्ना सेवा मिलाउने काम हुन सक्छन् । समग्रमा नेपालीको जीवन अझै प्रविधिमैत्री वा प्रविधिमा निर्भर हुने सहजै अनुमान गर्न सकिन्छ । यसले अन्तर्राष्ट्रिय बजारसँग नेपालको अर्थतन्त्रलाई जोड्ने सम्भावना पनि बढाउँछ । 

यस्ता सकारात्मक पक्षबाट उत्साहित भइरहँदा सचेत हुनुपर्ने पाटा पनि छन् । गुगल एक व्यापारिक कम्पनी हो । आफ्नो व्यवसाय वृद्धि गर्न नेपाल आएको छ । यसले आफ्नो व्यवसायमार्फत नेपालको पुँजी आफूतर्फ तान्ने प्रबल सम्भावना छ । यस कारण पुँजीको स्थानान्तरणसँग प्रविधिको क्षेत्रमा समेत नेपाल बहुराष्ट्रिय निगमको शक्ति र प्रभावमा पर्नेछ । नेपाललाई सदैव विकसित राज्यहरूको घेराभन्दा बाहिर राखी शोषण गर्न सक्छ । यस्तो अपार शक्ति र प्रभाव भएको गुगलले देशको कमजोर नियामक वातावरण र श्रम कानुनको फाइदा उठाउन सक्छ । विशेष परिस्थितिमा नेपालको आर्थिक तथा राजनीतिक स्थितिलाई निश्चित गति दिन आफ्नो शक्तिलाई प्रभावशाली बनाउन सक्छ । 

नेपालको डिजिटल सार्वभौमसत्तामा गुगलको प्रभावशाली उपस्थिति हुनेछ । विश्वव्यापी रूपमै प्रभाव कायम गरेको गुगल यहाँको स्थानीय कम्पनीहरू जस्तै नेपालको ऐन–नियम र निरीक्षणको अधीनमा नबस्न सक्छ । गुगलले आफ्नो फाइदाका लागि नेपालको डिजिटल परिदृश्यमै प्रभुत्व जमाउने आकलन गर्न गाह्रो छैन । 

गुगलका कतिपय सेवा–सुविधा केही हदसम्म निःशुल्क छन् । नेपालका स्थानीय व्यवसायलाई यसले ठूलै चुनौती दिन सक्छ । स्थानीय व्यवसाय गुगलले सिर्जना गर्ने चुनौती सामना गर्न नसकेर बन्द हुन सक्छन् । यसै पनि साना व्यवसायसँग विज्ञापन र मार्केटिङ सेवाका लागि सीमित स्रोत हुन्छन् । विश्वकै चौथो ठूलो कम्पनी गुगलसँग प्रतिस्पर्धा गर्न नै सक्दैनन् । नेपालमा लामो समयदेखि संघर्ष गरेर स्थापित भइरहेका सूचना प्रविधिसँग सम्बन्धित अनेकौँ कम्पनीको अस्तित्व नै संकटमा पर्न सक्छ ।

आगामी मार्गदर्शन सहज छैन । सूचना प्रविधिको यस युगमा नेपाल सरकारले डिजिटल पूर्वाधारको विकासमा लगानी गर्नु जरुरी छ । सबै नेपाली नागरिकको इन्टरनेटमा पहुँच सुनिश्चित गर्न ब्रोडब्यान्ड र अन्य डिजिटल पूर्वाधारमा लगानी अत्यावश्यक छ । यी सरोकारलाई सम्बोधन गर्न नियम–कानुनको क्षेत्रमा समेत गुगलले काम गर्ने निश्चित छ । त्यसैले नेपाल सरकारले बलियो नियामक संयन्त्र बनाउन जरुरी छ । साथै नेपालका स्थानीय व्यवसायलाई सुरक्षित राख्ने उपाय समावेश गर्न उत्तिकै महत्त्वपूर्ण छ । साना व्यवसायी गुगलले लिन सक्ने अनुचित फाइदाबाट बेफाइदामा नपर्ने वातावरण सुनिश्चित बनाइनुपर्छ । 

यस परिप्रेक्ष्यमा वर्तमान अर्थतन्त्र, सूचना प्रविधि, विद्युतीय कारोबार तथा इन्टरनेटसम्बन्धी व्यवसायलाई नियमन गर्ने ऐन–नियम आफैँमा महत्त्वपूर्ण क्षेत्र हुनेछ । विद्युतीय प्रविधिसम्बन्धी कानुनको अध्ययन तथा विश्लेषणले आवश्यकता बढ्नेछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवालाहरू र सार्वजनिक वृत्तमा घनीभूत छलफल चाहिन्छ । सामूहिक हितमा निर्णय गर्न यस्तो अभ्यास टड्कारो छ । अहिले यी पक्षबारे व्यापक संवाद भइरहेको पाइँदैन ।

अन्तमा, नेपालमा गुगलको दर्ताले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण फाइदा पुर्‍याउने सम्भावना भए पनि चुनौती मनग्गे छन् । देशको ऐन–कानुनको प्रश्न होस् वा स्थानीय व्यवसायलाई असर पर्ने मुद्दा सरकार सामु ठूलै नीतिगत सवालहरू आइपरेका छन् । नेपालले आफ्नो अर्थतन्त्र र डिजिटल सार्वभौमसत्ताको रक्षा गर्दै गुगलको उपस्थितिबाट फाइदा लिन समेत यी पक्षलाई ध्यान दिनैपर्छ ।

(लेखक समाजशास्त्र विषयमा एमफिल गर्दै छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण शर्मा
कृष्ण शर्मा
लेखकबाट थप