सत्ता गठबन्धनको बैठकमा गौर घटनाको चर्चा
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेबीच छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार संसद्को गतिरोध अत्यका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
उनले भने,‘मुलुकको राजनीतिक वुस्तुस्थितिबारे प्रधानमन्त्रीज्यूले गठबन्धनका शीर्ष नेताहरुलाई बिफ्रङ गर्नुभयो । मुख्यत संसद्को अवरोध कसरी हटाउने भन्ने विषयमा छलफल भयो ।’
छलफलमा गौरहत्याकाण्डको विषयले पनि प्रवेश पाएको थियो । बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिबारे यादवले चासो राखेका थिए ।
गठबन्धनका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको संवादमा कांग्रेस सभापति देउवा पनि सहभागी थिए । तीन नेताबीच लामो छलफल भएपनि संसद्को गतिरोध अन्त्यका लागि ओली तयार नभएको मल्लको भनाइ छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।