आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए र परराष्ट्रमन्त्रीबीच भेट, इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह

बुधबार, २४ साउन २०८०, २१ : २६
बुधबार, २४ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । 

इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएको उपाध्यक्ष शर्माले जानकारी दिए ।  यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रम स्वीकृति दिन दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ । 

‘यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’, शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’

यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ । 

अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन् ।  सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रम स्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरेर निर्णय गर्न सकिने जवाफ दिएको थियो ।सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए । 

यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरुलाई सहज हुने गरी दूतावासहरुमार्फत सेवा प्रवाह गर्न पनि ध्यानाकर्षण गराइएको थियो । 

भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो । 

यसैबीच टोलीले बुधबार नै श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप