आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्दछ : अध्यक्ष ओली

बुधबार, २४ साउन २०८०, २३ : १२
बुधबार, २४ साउन २०८०

हुम्ला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति दिवसको अवसरमा बुधवार आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा  सरकार नलागी नहुने बताए ।

“सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ”, उनले भने ।

उनले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षणसमेत गराएका छन् । अध्यक्ष ओलीले  हुम्लाको दुर्गमता र अप्ठेरो जिन्दगी आफूले देखेको भन्दै भने, “त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।”

उनले हुम्ला जिल्लाको साथमा आफू रहेको भन्दै आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकामा केही गर्न सकिन्छ भनेर सोचिरहेको उनले भनाइ राखे ।

“त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीलाई न्यानो कपडा विवतरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु”, उनले भने । आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले कुन कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्नेसमेत बताए । उनले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पालगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौँमा ल्याएर पढाउने भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताए । ती बालबालिकाको नेतृत्वका विकासका लागि शिक्षा दिन आवश्यक रहेको उनको धारणा थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप