आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाले तोक्यो डेंगु रोगको परीक्षण शुल्क

बिहीबार, २५ साउन २०८०, ०९ : ०८
बिहीबार, २५ साउन २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिकाले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । महानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै डेंगु परीक्षणका लागि शुल्क तोकेको हो ।

भरतपुर महानगरपालिकाले डेंगु रोग परीक्षणका लागि अधिकतम ६०० रुपैयाँसम्म लिन पाउने गरी  शुल्क तोकेको हो । महानगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा परीक्षणमा जथाभाबी रूपमा शुल्क लिने गरिएकाले शुल्क निर्धारण गरिएको हो ।

परीक्षण शुल्कमा एक रुपता कायम गरी नागरिकहरूको सहजताका लागि शुल्क तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका भित्र सञ्चालनमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्था तथा परीक्षण ल्याबहरूले आफू अनुकूल डेंगु परीक्षणको शुल्क लिने गरेको थियो । देश भरी डेंगु रोग सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र महानगरपालिकासमेत उच्च जोखिममा रहेको अवस्थामा परीक्षणमा नागरिकहरू ठगिनबाट जोगाउने उद्देश्य अनुसार शुल्क निर्धारण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले बताए । 

उनका अनुसार डेंगु रोग निदानका लागि गरिने परीक्षणमा एकरूपता नभएको गुनासो बढेसँगै सरोकारवालाहरूसँगको बैठकको निर्णय अनुसार अधिकतम शुल्क ६०० रुपैयाँ कायम गरिएको हो ।  महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका ल्याबहरूले डेंगु परीक्षण बापत एक हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप