आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप क्रिकेट : भारतको जर्सीमा पाकिस्तानको नाम

बिहीबार, २५ साउन २०८०, १४ : ०५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । विश्व क्रिकेटमा भारत र पाकिस्तानलाई एकअर्काको चिरप्रतिद्वन्द्वी मानिन्छ । समर्थकहरु यी दुई राष्ट्रबीचको खेलको अधैर्यतापूर्वक प्रतिक्षा गर्छन् । भारत र पाकिस्तानका समर्थक मात्र होइन, विश्वभरका क्रिकेटप्रेमी यी दुई राष्ट्रबीचको खेल हेर्न आतुर हुन्छन् । 

क्रिकेट मैदानमा यी दुई राष्ट्रबीचको खेल केवल खेलका रुपमा मात्र सिमित रहँदैन । यी दुई राष्ट्रबीच वर्षौदेखि देखिँदै आएको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेट मैदानमा पनि छताछुल्ल हुनपुग्छ । समर्थकहरुले हार—जितमा टेलिभिजन सेटमात्र फोड्दैनन्, भारत र पाकिस्तानबीचको खेलले आयोजकलाई पैसा बटुल्ने एउटा गतिलो अवसर पनि प्रदान गर्छ । 

निकट भविष्यमा भारत र पाकिस्तानले विश्व क्रिकेटका दुई ठूलो प्रतियोगिता खेल्दैछन् । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आयोजना हुँदैछ । पाकिस्तान र श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । नेपाल पनि सोही समूह छ ।

यसैगरी आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखम्म भारतमा आईसीसी एकदिवसीय विश्वकप आयोजना हुँदैछ । एकदिवसीय विश्वकपमा पनि भारत र पाकिस्तानको खेल परेको छ । उक्त खेल अक्टोबर १४ तारिखमा अहमादाबादमा खेलिने छ । 

त्यसअघि भारत र पाकिस्तान एसिया कपमा भिड्ने छन् । एसिया कप आयोजनाको विषयलाई लिएर नै यी दुई राष्ट्रका क्रिकेट बोर्डबीच ठूलै चर्काचर्की परेको थियो । विवाद कतिसम्म गम्भीर मोडमा पुगेको थियो भने कुनै समय एसिया कप नै रद्द हुने हो कि भन्ने अवस्था पनि सृजना भएको थियो । 

भारतले पाकिस्तानमा एसिया कप खेल्न नमानेपछि भारतको खेल श्रीलंकामा सारिएको छ । तर, अहिले आएर एसिया कपसँग जोडिएको एउटा रमाइलो प्रसंग सार्वजनिक भएको छ । एसिया कपका लागि तयार पारिएको भारतको जर्सीमा पाकिस्तानको नाम पनि लेखिएको छ । 

एसिया कप खेल्दा भारतले लगाउने जर्सीको अघिल्लो भागमा ठूलो अक्षरले अँग्रेजीमा ‘इन्डिया’ लेखिएको छ । त्योभन्दा ठिकमाथि दायाँतर्फ ठूलो रातो घेराभित्र ‘एसिया कप पाकिस्तान २०२३’ लेखिएको छ । त्यही जर्सी लगाएर भारतले एसिया कप खेल्ने समाचारमा जनाइएको छ । इतिहासमै पहिलो पटक भारतले पाकिस्तान उल्लेखित जर्सी लगाउन लागेको बताइएको छ ।

एसिया कपको मूल आयोजक राष्ट्र पाकिस्तान भएकाले प्रतियोगिताको नियमअनुसार, यस्तो जर्सी तयार पारिएको हो । आयोजक राष्ट्रप्रति सम्मान दर्शाउन र कुन वर्ष प्रतियोगिता आयोजना भएको हो भन्ने दर्शाउन आयोजक राष्ट्र र आयोजना भएको वर्ष जर्सीमा राख्ने प्रचलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप