आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन : केपी ओली

बिहीबार, २५ साउन २०८०, १५ : २९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि राज्य धर्म र जात विशेष नहुने बताएका छन् । 

बिहीबार २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताए । 

‘जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ’, ओलीले भने, ‘त्यसबेला कसैले यो देश जोगाएर जोगिँदैन ।’

ओलीले पहिचानको मुद्दा घृणा र विद्वेष फैलाउन नभई मित्रता कायम गर्नका लागि हुनुपर्ने बताए । ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता चाहिन्छ । त्यो राष्ट्रिय एकताले मात्र देशको रक्षा र विकास हुन्छ’, ओलीको भनाइ छ । 

उनले विविधतामा समानता आवश्यक रहेको भन्दै एउटै देशका जनतामा कोही धनी हुने कोही खान लाउननै नपुग्ने स्थिति हुन नहुने पनि बताए । 

‘सबैले उत्तिकै अधिकार र अवसर पाउनुपर्छ यसका लागि कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको छ । सामाजिक न्याय र समानता आदिवासी जनता जातीको मात्र सरोकारको विषय होइन’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप