आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गौर हत्याकाण्ड

गौर घटनामा जसपा ‘वेट एण्ड सी’को अवस्थामा

प्रचण्डले उपेन्द्रलाई भने– नआत्तिनुस्, ममाथि पनि दुई तीन वटा मुद्दा छन्
बिहीबार, २५ साउन २०८०, १५ : ३९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले ‘गौर घटना’बारे सरकार र पीडित पक्षबीच भएको सहमतिप्रति ‘वेट एन्ड सी’ (पर्ख र हेर) रणनीति अपनाउने भएको छ ।

१७ वर्षपछि गौर घटनाका पीडितसँग सरकारले गरेको सम्झौतालाई जसपाले गम्भीर रूपमा लिए पनि त्यसप्रति देखिने गरी पार्टीलाई ‘इङ्गेज’ नगराउने रणनीति लिएको छ ।

जसपाका नेताहरुको एक अनौपचारिक छलफलमा अध्यक्ष उपेन्द्र यादवले यो घटना राज्यको तर्फबाट सुनियोजित रूपमा उठाइएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने तर प्रत्यक्ष देखिने गरी पार्टीलाई कहीँ मुछिन दिन नहुने बताएका थिए ।

स्रोतका अनुसार उनले छलफलमा भनेका थिए, ‘यो सम्झौता मामुली होइन, यो धेरै ठूलो षड्यन्त्र हुनसक्छ, त्यसैले सतर्क रहनु पनि आवश्यक छ ।’

बिहीबार बिहान पनि उनले प्रधानमन्त्री प्रचण्डसँग यस विषयमा छलफल गरेका छन् । स्रोतका अनुसार पछिल्लो भेटमा पनि प्रधानमन्त्री प्रचण्डले यादवलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

जसपा अध्यक्ष यादवले यो विषयलाई लिएर उच्चस्तरीय भेटघाटलाई तीब्रता दिएका छन् । सरकार र गौर घटना पीडितसँग भएको सम्झौता भएकै दिन अध्यक्ष यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि सम्पर्क गरेका थिए ।

नेताहरूसँगको भेटमा उनले सरकार र गौर घटना पीडित पक्षबीच भएको सम्झौताको बारेमा चासो लिएका थिए । सम्झौता गलत भएको र षड्यन्त्रपूर्वक भएको कुरा अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासमक्ष राखेका थिए ।

त्यसको भोलिपल्ट अध्यक्ष यादवले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न बालुवाटार पुगेका थिए । तीनै जनाले प्रधानमन्त्री प्रचण्डसँग एउटै प्रश्न गरेका थिए– यो के गर्नुभएको हो ? सबैतिर एकै पटक हान्न थाल्नुभयो, यसले गठबन्धनमा के सन्देश जान्छ ?’

जवाफमा प्रचण्डले भनेका थिए, ‘साँच्चै भन्ने हो भने मलाई पनि यस विषयमा थाहा छैन, रौतहटमा कसरी आन्दोलन सुरु भयो, छलफल र सम्झौता कसरी भयो, त्यसको बारेमा मलाई पनि खासै डिटेल थाहा छैन ।’

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष यादवलाई आश्वस्त पार्दै भनेका थिए, ‘नआत्तिनु, केही हुँदैन, ममाथि पनि दुई तीन वटा मुद्दा छ ।’

यति भन्दा पनि अध्यक्ष यादव आश्वस्त हुन सकेका छैनन् । उनले यसबारे पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गरे । बिहीबार बिहान पनि उनले प्रधानमन्त्री प्रचण्डसँग यस विषयमा छलफल गरेका छन् । स्रोतका अनुसार पछिल्लो भेटमा पनि प्रधानमन्त्री प्रचण्डले यादवलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री प्रचण्डसँग भेटको बारेमा आफूलाई जानकारी नरहेको बताए । उनले भने, ‘हाम्रो अध्यक्षज्यूले प्रधानमन्त्री प्रचण्डसँग भेट्नु भयो कि भएन, मलाई थाहा छैन ।’

आफ्नो पार्टीले गौर घटनाका पीडितसँग सरकारले गरेको सम्झौतालाई भने गम्भीर रूपमा लिएको उनले बताए । उनले भने, ‘यो सामान्य कुरा होइन, १७ वर्षअघि भएको राजनीतिक घटनालाई अहिले बिउँताएर पार्टीमाथि षड्यन्त्र भइरहेको छ, त्यो घटनाको बारेमा थप अनुसन्धान हुनुपर्छ ।’

आफूहरूले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग गरेको पनि प्रवक्ता सुमनले बताए । विगतमा पनि थुप्रै छानबिन भएका छन् । त्यसका फरक फरक प्रतिवेदन आएकाले झन् अन्योल बनाएको बताउँदै उनले उच्चस्तरीय संसदीय समिति बनाएर थप छानबिन हुनुपर्नेमा जोड दिए ।

गौर घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटमा सात वटा उजुरी परेका छन् । जसमा आरोपितको सूचीमा तीन सयभन्दा बढीको नाम छ । आरोपित व्यक्तिहरू कहाँ कहाँ पुगिसके भन्दै प्रवक्ता सुमनले उजुरीकर्ताहरूले जिल्लाका मतदाता नामावली हेरेर उजुरी हालेको टिप्पणी गरे । आफ्नो पार्टीले हालै भएको सम्झौताको बारेमा सूक्ष्म अध्ययन गरिरहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप