आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मंगलग्रहमा पानी रहेको खुलासा, पृथ्वीमा जस्तै मौसम रहेको हुनसक्ने

बिहीबार, २५ साउन २०८०, १५ : ५८
बिहीबार, २५ साउन २०८०

यतिखेर देशैभर मौसमी वर्षा नभएको भए तराईका हरियाली फाँटमा धाँजा फाटेका खबरले सोसल मिडिया रंगिएका हुन्थे । किसानहरू आफ्नो पुर्पुरोमा हात राखेर आकाशबाट पानी कहिले पर्छ र धर्तीको आँत भिज्छ भन्ने पर्खाइमा हुन्थे । सुन्दा अचम्म लाग्न सक्छ, अहिले यही धाँजा फाटेको तस्बिरले अन्तर्राष्ट्रिय जगत्मा अझ भनौँ नासाका वैज्ञानिकमा उत्साह थपिदिएको छ ।

नासाको ‘क्युरियोसिटी रोभर’ले हालै मंगलग्रहमा खिचेका नयाँ तस्बिरमा त्यहाँको जमिन धाँजा फाटेर चिरा परेको देखिएको छ । यसरी जमिनको सतह चिरा परेर फाट्नुले त्यहाँको जमिन धेरैपटक भिज्दै र सुक्दै गरेको संकेत गर्छ । मंगलग्रहमा पानी तथा जीवन भए वा नभएको बारे सारा विश्वको चासो रहेका बेला ‘नेचर’ नामक विज्ञान पत्रिकामा प्रकाशित ती तस्बिरहरूले मंगलग्रहमा मौसम परिवर्तन भएको वा अचानक बाढी आएको हुन सक्ने संकेत गर्छ ।

क्युरिसिटी रोभरमा रहेको केमक्याम उपकरणकी प्रमुख, वैज्ञानिक निना लान्जाको भनाइ छ, ‘मंगल ग्रहको सतहमा पाइएका यस्ता विकसित दरारहरूले त्यहाँ पानी भए वा नभएको जिज्ञासालाई उजागर गर्न मद्दत गर्छ । मंगलग्रह पहिले न्यानो र आद्र थियो, पछि कसरी चिसो र सुक्खा हुन गयो र अहिलेको अवस्था आइपुग्यो भन्ने जवाफ हामीसँग छ । यी परिपक्व दरारले हामीलाई मंगलग्रहको त्यो संक्रमणकालीन समयको अवस्थालाई जनाउँछ, जहाँ मंगलग्रहमा तरल पानी थियो, जुन थोरै मात्रामा थियो, तर सक्रिय थियो ।’ 

यसअघि पनि मंगलग्रहको सतहमा भिजेका तथा ओसिला ठाउँहरू भएको प्रमाण भेटिएको थियो, तर छोटो अवधिमा हुने यस्ता घटना भेटिएको यो पहिलोपटक हो ।

pic1

मंगलग्रहमा रहेको नाशाको क्युरियोसिटी रोभर (स्रोत : नासाको आधिकारिक साइटबाट)

क्युरियोसिटी रोभरले विगत केही समयदेखि मंगलग्रहको सतहको खोज–अन्वेषण गरिरहेको थियो । सुरुवाती दिनमा यसले सिलेकेट (बालुवाका कण)ले बनेको भूभागमा खोजी कार्य गरेको थियो, त्यसपछि यसलाई सल्फेट (एक प्रकारको नुन)ले भरिएको स्थानमा सारिएको थियो । उक्त सतहमा माटामा फरक तरिकाका दरार बनेको पाइयो । यसले मंगलग्रहको सतहमा पानी अझै पनि अम्लिए रूपमा रहेको र यहाँ बारम्बार पानी पर्ने र सुक्ने क्रम निरन्तर भइरहेको जनाउँछ । 

पृथ्वीको सतहमा पनि यस्ता चिरा नियमित रूपमा पर्ने गर्छ । भर्खरै खेत रोपेर छाडेको ठाउँमा वा भर्खरै तालको पानी सुकेको ठाउँमा एक–दुई दिन मजाले घाम चर्किने हो भने माथिल्लो सतहमा चिरा पर्न थाल्छ । पहिलोपटक बन्ने यस्ता चिरा अङ्ग्रेजी अक्षर ‘टी’ आकारका हुन्छन्, तर यसैमा नियमित रूपमा पानीले भिजाउने र फेरि घामले सुक्खा बनाउने हो भने यो ‘वाई’ आकारको बन्छ । यसको गहिराइले पनि कति लामो समयसम्म उक्त दरार सुक्खा थियो भन्ने निर्धारण गर्छ । मंगलग्रहबाट क्युरियोसिटी रोभेरले पठाएका तस्बिरमा यस्ता चिराहरू ‘वाई’ आकारको रहेको र ती केही सेन्टिमिटर मात्र रहेको देखाउँछ । यसबाट के पुष्टि हुन्छ भन्दा निकैपटक मंगलग्रहको सतह पानीले भिज्ने र सुक्ने प्रकिया चलिरहेको थियो । यसको गहिराइ पनि कम हुनुले यो निकै छिटोछिटो भइरहेको थियो भन्ने जनाउँछ ।

यस खोजले यो संकेत गर्छ कि कुनै समयमा मंगलग्रहमा पनि हाम्रो पृथ्वीमा जस्तै मौसमी हावापानीबाट छोटो अवधिको वर्षा हुने गरेको थियो । उक्त ओसिलो वातावरणले जीवनलाई आवश्यक पर्ने प्रोटिन जम्मा गर्न, तिनीहरूको निर्माण र तथा प्रोटिनका पोलिमरहरू बनाउन उपयुक्त वातावरण निर्माण गरेको हुन सक्छ । उक्त समय त्यहाँ सही किसिमका जैविक तत्त्व विद्यमान थिए भने त्यहाँ जीवको विकास हुने सर्वसम्मत नियमलाई नकार्न सकिँदैन ।

(लेखक देवकाेटा भूगर्भशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप