आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएमा ९६ हजार ८ सय ५० पञ्जीकृत सदस्य, चुनावको मिति घोषणा

बिहीबार, २५ साउन २०८०, १७ : ४९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा ९६ हजार ८ सय ५० पञ्जीकृत सदस्य रहेको पाइएको छ । यस्तै ८७ मुलुक संघको राष्ट्रिय समन्वय परिषद् विस्तार भएको प्रवक्ता सोम सापकोटाले जानकारी दिए । 

एनआरएनए स्थापनाको दुई दशकको यस अवधिसम्म आइपुग्दा ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नुलाई एनआरएनएले महत्त्वपूर्ण उपलब्धि ठानेको उनको भनाइ छ । 

‘विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु,  विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौँ’, संघद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकको यस गौरवमय यात्राका जोडिएका अप्ठ्याराहरु क्रमशः मत्थर भएका छन् । १० औँ महाधिवेशनको क्रममा  देखिएका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको छ ।’

स्थापनाकालदेखि आफूहरूले नेपाल सरकारसँग  उठाउँदै आएको  नेपाली नागरिकताको निरन्तरताको विषय केही हदसम्म सम्बोधन भएको अर्का प्रवक्ता शिवकुमार वरुवालले जानकारी दिए । 

यसैबीच संघको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गते (१७ अक्टोबर –२० अक्टोबर, २०२३) सम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।   सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने संघले जनाएको छ । 

महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व समेत चयन हुने विज्ञप्तिमा उल्लेख छ । सम्मेलनको तयारीको लागि जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु  सम्पन्न भएको जनाइएको छ । 

संघको एप मार्फत अगष्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न  सम्पूर्ण पञ्जीकृत सदस्यहरुलाई आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिने जनाइएको छ । संघले सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्य प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन पनि अनुरोध गरेको छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु,  विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी  विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहने जनाइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप