आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कपका लागि टोलीमा नपरेपछि पीसीबी र पत्रकारमाथि खनिए दहानी

शुक्रबार, २६ साउन २०८०, १३ : १३
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताका लागि घोषित पाकिस्तानी टोलीमा आफ्नो नाम नपरेपछि एक क्रिकेटरले छनोट समिति र पत्रकारको आलोचना गरेका छन् । एसिया कपका लागि घोषित पाकिस्तानी टोलीमा तिब्रगतिका बलर साहनवाज दहानीलाई समावेश गरिएको थिएन । 

टोलीमा आफ्नो नाम नपरेपछि दहानीले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)द्वारा गठिक छनोट समिति र पत्रकारहरुको आलोचना गरेका हुन् । २५ वर्षीय दहानीले सामाजिक सञ्जालमार्फत पीसीबी र पत्रकारको आलोचना गरे ।

सोही विषयलाई लिएर अहिले पीसीबीले दहानीमाथि कारवाही गर्ने तयारी थालेको छ । पूर्वखेलाडी इन्जमाम उल हक नेतृत्वको छनोट समितिले आगामी एसिया कपका लागि घोषणा गरेको टोलीमा बलरका रुपमा साहिन अफ्रिदी, नसिम शाह, ह्यारिस रउफ र मोहम्मद वसिम जुनियरलाई समावेश गरिएको छ ।

आफू टोलीमा नपरेपछि आक्रोसित बनेका दहानीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘छनोट समितिलाई लाग्यो होला दहानी त पाकिस्तानी क्रिकेटर नै होइन १’ दहानीको ट्वीटपछि थुपै्र पूर्व र वर्तमान क्रिकेटरले त्यसमा प्रतिक्रिया दिएका छन् । 

उनले आफूलाई टोलीमा नपारेको विषयमा समाचार नलेखेको भन्दै खेल पत्रकारहरुको पनि आलोचना गरेका छन् ।  ‘मलाई टोलीमा समावेश नगरिएको विषयमा कुनै पनि पत्रकार वा क्रिकेट विश्लेषकले छनोट समितिविरुद्घ प्रश्न उठाउने हिम्मत गर्न सकेनन्,’ उनले भनेका छन्, ‘खेल पत्रकारिताको आत्माले शान्ति पाओस ।’

दहानी हाल श्रीलंकामा ‘लंका प्रिमियर लिग’ खेलिरहेका छन् । लंका प्रिमियर लिगमा उनले तीन खेल खेल्दै तीन विकेट लिएका छन् । दहानीले हालसम्म पाकिस्तानका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय र ११ वटा टीट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 
 
यसअघिको एसिया कपमा भने दहानी पाकिस्तानी टोलीमा परेका थिए । तर् एसिया कपको त्यो संस्करण टीट्वान्टी ढाँचामा खेलाइएको थियो । आगामी एसिया कपअघि पाकिस्तानले अफगानिस्तानसँग एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । 

आगामी एसियाकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), अब्दुल्लाह सफिक, फाहिम असरफ, ह्यारिस रउफ, ईफ्तिखार अहमद, ईमाम उल हक, होम्मद ह्यारिस, मोहम्मद वसिम जुनियर, साउद सकिल (अफगानिस्तानविरुद्घको शृंखलाका लागि मात्र), नसिम शाह, सलमान अली आघा, साहिन अफ्रिदी, तैयब ताहिर र उसमा मिर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप