आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गौर हत्याकाण्ड

गौर घटनामा मुछिएकाहरू डेलिगेसन लिएर नेताको घरघरमा

शनिबार, २७ साउन २०८०, २१ : ४५
शनिबार, २७ साउन २०८०

काठमाडौँ । १७ वर्षअघि भएको गौर घटनामा मुछिएका नेताहरू डेलिगेसन लिएर काठमाडौँ आइपुगेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाहेकका नेताहरू काठमाडौँमा विभिन्न दलका नेताहरूलाई भेटेर गौर घटनाको बारेमा जानकारी गराउँदै त्यसको बारेमा आ–आफ्नो पार्टीदेखि लिएर संसद्‍मा समेत कुरा उठाइदिन आग्रह गरेका छन् । 

गौर घटनालाई लिएर रामकिशोर यादवको नेतृत्वमा मधेस आन्दोलन सर्वदलीय, सर्वपक्षीय संघर्ष समिति गठन गरेको छ । सो समितिमार्फत उनीहरूले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् । समितिका नेताहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवदेखि लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसम्म, एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराईदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसम्मलाई भेटिसकेका छन् । 

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी पनि गरेका छन् । गौर घटना कसरी भयो, त्यसको यथार्थ के हो, यसलाई कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा छलफल गरिएको समितिका सदस्य अमर यादवले बताए । 

गौर घटनाका दिन तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट आयोजना गरेको कार्यक्रमका संयोजक समेत रहेका अमर यादवविरुद्ध मुद्दा रहेको छ । तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग भएर आफ्नै नेतृत्वमा पार्टी सञ्चालन गर्दै आएका यादवले गृह मन्त्रालयले गौर घटनाका पीडितसँग गरेको वार्ता नै गलत भएको बताउँछन् । 

मन्त्रिपरिषद्बाट निर्णय गरेर वार्ता समिति गठन गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको निर्देशनमा समिति बनाएर हतार हतार गृह मन्त्रालयले वार्ता गर्नु नै शङ्कास्पद काम भएको उनले बताए । सहमति पत्रमा गृह मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्नु पनि त्रुटिपूर्ण रहेको बताए । 

राजनीतिक घटनालाई आपराधिक घटना जस्तो देखाएर राजनीतिक द्वन्द्व निम्त्याउने प्रयास भइरहेको नेता यादवले बताए । उनले आफूहरूले हरेक नेतालाई भेटेर यसको निकास चाँडै निकाल आग्रह गरेको बताए । 

उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत आफूले सत्ताधारी दल भएको कारणले यसको समाधानमा भूमिका खेल्न आग्रह गरेको बताए । गौर घटनालगायत विभिन्न चरणमा भएको मधेस आन्दोलनका आडमा पटक–पटक सत्तामा गएको तर यी मुद्दाहरूको समाधान नगरेको कुरा आफूले राखेको बताए । 

अहिले पनि जसपा अध्यक्ष यादव यो घटनामा आफू मात्र चोखिन खोजेको आरोप अमर यादवले लगाए । ‘गौर घटनाका कारण धेरै जनामाथि मुद्दा छ । ती सबैलाई जोगाउने, बचाउने काम उपेन्द्र यादवको हो । तर उनले आफूबाहेक अरूको बारेमा कुरा गरेका छैनन्,’ यादव आरोपले लगाए । 

हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उपेन्द्र यादव र जसपा नेपालको कुरा मात्र उठेको, विज्ञप्तिमा पनि जसपा र उपेन्द्रको कुरा मात्र देखिएको यादवले बताए । उपेन्द्र यादवले आफूले भन्दा पनि त्यसमा मुछिएका हरेकलाई संरक्षण गर्ने गरी कुरा गर्नुपर्ने उनको जिकिर छ । मधेसी जनअधिकार फोरमले गरेको कार्यक्रममा फलानो गएका थिए, फलानो गएका थिएनन् भन्नु हुँदैन, फोरमको कार्यक्रम भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी त्यसका अध्यक्ष उपेन्द्र यादवले लिनुपर्ने बताउँदै उनले त्यसलाई राजनीतिक रूपमै समाधान गर्नुपर्ने बताए । 

डेलिगेसनमा अमर यादव, बबन सिंह, बाबुलाल साह, बृजकिशोर यादव, राम निवास यादव, रामेश्वर राय यादव (रौतहट), रामकिशोर यादवलगायतका आएका छन् । रौतहटमा भएको सो घटनामा मुछिएका सबै त्यतिबेला उपेन्द्र यादव नेतृत्वको फोरममा थिए । अहिले थुप्रै नेताहरू पार्टी छाडेर अन्य अन्य पार्टीमा गइसकेका छन् । गौर घटनामा मुछिएका तर अहिले जसपामा नरहेका नेताहरू भन्छन्, ‘हाम्रो बारेमा पनि उपेन्द्र यादवले बोल्दिनु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप