आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन्, डराउनुपर्दैन : मन्त्री महत

शनिबार, २७ साउन २०८०, १७ : ३०
शनिबार, २७ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताएका हुन् ।

उहाँले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठुलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए । उहाँले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठुलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहेका छन् । आईटी क्षेत्र कोभिडपछि नेपालमा युवाहरूले अरू बाहिर जाने अवस्था नभएकाले उनीहरूको दिमाग कम्प्युटरमा गयो । आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ । नेपाली युवाहरू सफ्टवेयर निर्यात गरिरहेका छन् विदेशमा । नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन् । आइटी क्षेत्रका लागि धेरै ठुलो लगानी गर्न पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु ।’

मन्त्री महतले नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप