साकाको उत्कृष्ट गोलमा आर्सनलको विजयी सुरुवात
शनिबार, २७ साउन २०८०, २१ : ४४
लण्डन । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा आर्सनल २–१ गोलले विजयी भएको हो ।
एडी एनकिटेयाले खेलको २६ औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । बुकायो सकाले ३२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । गत सिजन यता साकाले आर्सनलको घरेलु मैदानमा २४ खेलमा १८ गोलमा संलग्न भएका छन् । यसमा ११ गोल र ७ एसिस्ट छन् ।
दोस्रो हाफको ८३ औँ मिनेटमा टाइवो अवोनियीले फरेस्टका लागि एक गोल फर्काएपछि गत सिजनको उपविजेतालाई अन्तिम केही मिनेट सकस परको थियो ।