आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुलारुपमा बेचिने खानेकुरामा रोक लगाउने काठमाडौँ महानगरको तयारी

आइतबार, २८ साउन २०८०, १६ : ४४
आइतबार, २८ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खाभरिमा खुला रूपमा बेचिने खानेकुरामा रोक लगाउने तयारी गरेको छ । बजार अनुगमनलाई प्राथमिकतामा राखेर काठमाडौँ महानगरले यस्ता खानेकुरामाथि रोक लगाउने तयारी गरेको हो । 

काठमाडौँ महानगर बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खाभरि खुल्ला रूपमा बेचिने खानेकुराहरूमा रोक लगाउने कुरा उठेको हो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने हुन सक्ने बताएका हुन् । यस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने र यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले रोक लगाउनुपर्ने बताएका हुन् । 

खुल्ला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएकाले यसलाई समेत रोक लगाउनुपर्ने बताए । 

बैठकमा उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनुपर्ने बताइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिइन् । 

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्,’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

तरकारी बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग बिग्रिएको हुन्छ । यो उपभोगका दृष्टिले पूर्ण अस्वास्थ्यकर हो । यस्तो तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण छ । बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले, फाल्नुपर्ने तरकारी र फलफूल बेचबिखनमा तत्काल रोक लगाउनुपर्ने बताए । 

बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपक्षी विभागका प्रमुख डा। अवधेश झाले पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था नरहेको बताए ।

‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ । यसविपरीतका जार जफत र नष्ट गरिएको हो,’ झाले भने । 

काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । 

व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप