आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनील शर्माको प्रष्टीकरण : गृहमन्त्री र अर्थमन्त्रीले सुन तस्करी गर्नुभयो भनेको होइन

आइतबार, २८ साउन २०८०, १७ : ४९
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको विषय नीतिगत भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले अर्थमन्त्री डा.प्रकाशशरण महतसँग आफ्नो लिनुदिनु केही नरहेको बताए ।

‘प्रकाशशरण दाइसँग केही छैन लिनुदिनु । भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने,’ उनले भने, ‘भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने कुरा नेपाली जनताले पत्याउँछन् त ?’  शर्माको प्रश्न छ ।

गृहमन्त्री र अर्थमन्त्रीले तस्करी गरे भनेर नभनेको उनको भनाइ छ । ‘मैले नीतिगत कुरा गरेको हो । प्रकाशशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन । गृहमन्त्रीले पनि तस्कारी गर्नुभयो भनेको होइन,’ उनले भने ।

यस्तै आफूलाई प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको उनले बताए । उनले अहिलेको सरकारमा कांग्रेस छ कि छैन भन्ने प्रश्‍न गरे ।  ‘मैले मान्छे मारेको छैन, सुन तस्करी गरेको छैन। तैपनि मलाई पक्राउ गरियो, हातपात गरियो,’ उनले गुनासो गरे, ‘अहिलेको सरकार आतंककारीहरूको सरकार हो।’

आफूले सभापति शेरबहादुर देउवालाई पितासमान सम्मान गरेको उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकोबारे पनि स्पष्टीकरण दिएका थिए। आफूलाई सहयोग गरेकोले भेटेको उनको भनाइ थियो।

यस्तै उनले आफूलाई प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिइएको गुनासो गरे । संसदमा बोल्न समय नपाएपछि सञ्चारमाध्यमहरूमा बोल्नुपरेको उनको भनाइ छ ।

‘मलाई संसद बैठकमा बोल्न समय दिइएको छैन,’ उनले भने, ‘बोल्न दिइएन भने म विद्रोह गर्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप