आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी पदाधिकारी बैठक

वर्षमानको दृष्टान्त दिँदै प्रचण्डले भने–कसैमाथि प्रश्न उठे प्रस्ट पार्नुपर्छ, कल डिटेल्स नयाँ कुरा भयो

आइतबार, २८ साउन २०८०, २१ : ४१
आइतबार, २८ साउन २०८०

काठमाडौँ । आइतबार साँझ केही मन्त्रीसहित बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पार्टी नेताहरुसमेत जोडिएको विषयमा छलफल भएको छ । 

बैठकमा छलफलको प्रमुख एजेण्डा मन्त्रिमण्डल हेरफेरको भएपनि त्यो बाहेक सुन तस्करी प्रकरणमा पार्टीकै नेताहरु समेत मुछिएका खबरहरू सार्वजनिक भएको भन्दै केही नेताहरुले जिज्ञासा राखेका थिए । 

त्यसक्रममा नेताहरुले उपाध्यक्ष कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकबीचको टेलिफोन संवादबारे सार्वजनिक कल डिटेल्सबारे पार्टीको धारणा प्रस्ट हुनुपर्नेमा जोड दिएका थिए । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टी नेता वा जोसुकैमाथि पनि प्रश्न उठेपछि प्रस्ट पारेर अनुसन्धानमा सहजीकरण गर्नुपर्ने बताएका थिए । 

‘कल डिटेल्सले ल्याएको स्थिति हाम्रा लागि पनि नयाँ कुरा भयो । कसैको बारेमा पनि इस्यु वा प्रश्न उठेको छ भने पहिला सम्बन्धित व्यक्तिले नै प्रस्ट पार्नुपर्छ । अहिले भ्रष्टाचार र तस्करीविरुद्ध सरकारले जो अभियान चलाएको छ त्यो ठिक छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक पदाधिकारील भने, ‘जसरी वर्षमान पुन अनन्तजीमाथि प्रश्न उठ्यो उहाँले आफै प्रस्ट गर्दिनुभयो । उहाँले आफूमाथि पनि अनुसन्धान गरियोस् भनेर भन्नुभयो यसले सजिलो भएको छ ।’ 

छलफलका क्रममा प्रचण्डले नेता वर्षमान पुनको दृष्टान्त दिँदै भनेका थिए, ‘पछिल्लो समयसम्म आइपुग्दा जजसको बारेमा प्रश्न उठेको छ उसले पहिला प्रस्ट पार्ने होकि ? अनुसन्धान गर्न भन्ने हो कि ? या गल्ती भएको छ भने स्वीकार गर्ने हो ? यो हुनुपर्छ ।’ 

प्रचण्डले पार्टी नेताहरुका बारेमा प्रश्न उठ्दैमा अनुसन्धान प्रक्रिया नरोकिने भन्दै बरु प्रश्न उठेकाहरुले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए । ‘यो अभियान रोक्ने कुरा हुँदैन, गठबन्धनलाई सुदृढ गर्दै अभियानलाई पनि अघि बढाउने नै हो’, प्रचण्डको भनाई थियो । 

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदै आएको छ । यो प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा भने आइतबारको बैठकमा सहभागी थिएनन् । 

बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायाणकाजी श्रेष्ठले साउन २ गते सिनामंगलबाट बरामद तस्करीको सुन र त्यसमा संलग्नहरुबारे जरैसम्म पुगेर अनुसन्धान भइरहेको ब्रिफिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप