आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशमा रिफ्रेस सेन्टर निर्माणको गति सुस्त

४ वर्ष पुरा हुँदा अझैसम्म एउटा पनि बनेन
सोमबार, २९ साउन २०८०, ०६ : १७
सोमबार, २९ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लामा ५ वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण थालेको ४ वर्ष पुरा हुँदा अझैसम्म एउटा पनि सम्पन्न गरेको छैन ।

२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व पश्चिम राजमार्गमा लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वास्थ्यकर खाना, नास्ता र केही समय आराम गर्ने उपयुक्त  ५ स्थानमा रिफ्रेस सेन्टर निर्माणको सुरुवात गरेका थिए ।

खानेपानी, ग्रामीण सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेलले ५ योजनामध्ये रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा पहिलो चरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले दाङदेउखुरीको लमहीमा ठेक्का भएपछि जग्गा विवादले रोकिएको तथा बर्दियामा जग्गा व्यवस्थापन नभएकाले सुरु नै नभएको खुलाए । 

रुपन्देहीको सैनामैनामा निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा रहेको छ ।  भिमेश्वर मामा जेबीले पहिलो चरणमा २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैनाको पिपल डाँडामा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का लिएको थियो । 

refresh centre (2)

एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सेन्टरको पहिलो चरणको भौतिक काम सकिए पनि दोस्रो चरणको काम नहुँदासम्म सञ्चालन गर्न नसकिने उक्त परियोजना हेर्ने खानेपानी कार्यालय योगीकुटी रुपन्देहीका ई.आदित्य धितालले रातोपाटीलाई बताए । 

उनले भने, ‘पहिलो चरणका काम ठेकेदारले सम्झौताअनुसार सम्पन्न गरेका छन् । अव छिटै बुझाउलान् तर विद्युत् र फोहर व्यवस्थापनको सम्झौता नभएकाले सञ्चालन गर्न मिल्दैन ।’

पहिलो चरणको ठेक्काको काम सकिएको उक्त ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी छ । दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेसन बनाउने योजना छ । त्यसको लागि बजेट हुनसाथ टेन्डरमा जाने योजनामा कार्यालय रहेको छ ।  

refresh centre (3)

यस्तै, नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन हाताभित्र रिफ्रेस सेन्टर निर्माण काम जारी छ । 

पहिलो चरणको कामको लागि २०७७ चैत ११ गते सम्झौता भई कोजु इन्जिनियरिङ सञ्जय जेभी काठमाडौँले ३ करोड १८ लाख २६ हजार ६१९ रुपैयाँमा उक्त सेन्टर निर्माणको ठेक्का लिएको थियो । 

सम्झौताअनुसार २०७९ असोज ११ मा पहिलो फेजको निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेको छैन । यहाँ पनि पहिलो चरणमा सम्पन्न भएर मात्रै सञ्चालन गर्न सक्ने अवस्था हुँदैन । 

refresh centre (7)

उता, कपिलवस्तुको चन्द्रौटास्थित रिफ्रेस सेन्टर पनि पूर्ण भएको छैन । आयोजनाका अनुसार पहिलो चरणको ठेक्काअनुसार निर्माणका धेरै काम सकिए पनि लाइट फिटिङ लगायतका केही काम बाँकी छ । तर, दोस्रो चरणका लागि यहाँ पनि बजेट आएको छैन । पहिलो चरणको ४ करोड २ लाख ६७ हजार ६६१ रुपैयाँको ठेक्कामा ३ करोड ५५ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । 

दाङको लमहीमा भने ठेक्का लागे पनि स्थानीयको अवरोधले काम रोकिएको छ । पहिले स्थानीय अजम्बरी सामुदायिक बन क्षेत्रमा बनाउने सहमति भए पनि पछि विवादका कारण रोकिएको मन्त्रालयका प्रवक्ता पोखरेलले बताए । 

यस्तै, बर्दियामा जग्गा व्यवस्थापनको कामलाई स्थानीय तहले चासो नै देखाएका छैनन् । 

refresh centre (1)

कस्तो हुनेछ  रिफ्रेस सेन्टर ? 

अहिले पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा  जगंलमा  दिशा पिसाब  गर्नुपर्ने बाध्यता छ । यस्तै, चालकलाई केही समय आराम गर्ने ठाउँको अभाव छ । पाकिङको पनि उस्तै समस्या छ । 

राजमार्ग बन्ने ती रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुम लगायतका संरचना रहने योजना छ ।

यसबाट चालक र यात्रु दुवैले लाभ लिन सक्ने अपेक्षाले रिफ्रेस सेन्टरको अवधारण लिएर बजेट छुट्याएको तात्कालीन  भौतिक पूर्वधार मन्त्री बैजनाथ चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप