आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपामा राजेन्द्र लिङ्देनलाई बाइपास गरेर बैठक, पार्टीमा बढ्यो अविश्वास

सोमबार, २९ साउन २०८०, ११ : १०
सोमबार, २९ साउन २०८०

काठमाडौँ । शीर्ष तहकै केही नेताहरूको गतिविधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अविश्वासको अवस्था देखिएको छ । असार २९ र साउन २७ मा लगातार राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दको निवास तथा अन्य स्थानमा पनि छुट्टाछुट्टै बैठक हुन थालेपछि पार्टीभित्र अविश्वासको अवस्था देखिएको हो । 

पार्टी अध्यक्षलाई ‘नोटिस’ नगराई भएको यस्ता छलफलले अविश्वासको वातावरण पैदा हुने संस्थापनको भनाइ छ । यस्तै छुट्टै छलफलमा सहभागी नेताहरू भने राप्रपालाई जनता माझ मजबुत रूपमा स्थापित गराउने सन्दर्भमा भएको बैठकलाई अन्यथा लिन नहुने बताउँछन् । 

पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपामा पछिल्लो समय देखिएको गतिविधिले सो पार्टीभित्र फेरि तरङ्ग ल्याएको छ । असार २९ मा राप्रपाका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरू चन्द निवास लोकन्थलीमा छलफलका लागि पुगेका थिए । 

सो छलफलमा लोहनीसहित राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता समेत सहभागी थिए ।

फेरि साउन २७ मा पार्टी पदाधिकारी तहकै नेताहरूको लोकन्थलीमा लर्को लागेसँगै राप्रपाभित्र तरङ्ग उत्पन्न भएको हो । सो छलफलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको समेत उपस्थिति रहेको थियो । 

यस्तै नेता दीपक बोहरा, धवल शमशेर जबरा, राजेन्द्र गुरुङलगायतका नेताहरूसमेत थपिएको उक्त छलफलमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सञ्चालनका सन्दर्भमा अपनाएका तौरतरिकाबारे आलोचना भएको थियो । केही नेताले अध्यक्ष लिङ्देनले विधि विधानअनुसार पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्टि समेत पोखेका थिए । 

राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पार्टीको बृहत्तर हितका लागि लोकन्थलीमा छलफल भएको बताए । ‘पार्टी र सङ्गठनलाई सशक्त र उत्साहित बनाउनका लागि र हाम्रो विचार तथा सिद्धान्त अन्य पार्टीको भन्दा फरक रहेको सन्दर्भमा त्यसलाई अघि बढाउन चुनौती पनि छ । त्यो चुनौतीलाई सामना गर्दै कसरी आफ्नो मुद्दा स्थापित गराउन सकिन्छ भन्नेबारेमा भएको छलफल हो’, उनले भने । 

शनिबारको लोकन्थली बैठक कसैप्रति लक्षित नरहेको उनले दाबी गरे । ‘तर पार्टीभित्र जो निराश, असन्तुष्ट र आक्रोशित छन्, उनीहरूलाई पनि उत्साहित गराउने, असन्तुष्टिलाई सम्बोधन गर्ने, पुरानाहरूलाई सम्मान गर्ने, नयाँलाई पनि पार्टीमा आकर्षित गराउने भन्नेबारेमा भने छलफल भयो’, उनको भनाइ छ । 

chand niwas

अर्का नेता हरिबहादुर लोकन्थलीमा नेताहरुबीच सामान्य भेटघाट मात्रै भएको दाबी गरे । ‘सामान्य छलफल भएको हो । कसैको विरोध गरेको पनि होइन, पार्टीलाई राम्रै होस् भनेर कुराकानी भएको हो’, उनले संक्षिप्त प्रतिक्रिया दिए । 

सो छलफलमा संस्थापक नेता लोकेन्द्र बहादुर चन्दले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न सुझाव दिएको बताए । ‘सबैले आ–आफ्नो ओपिनियन दिनुभयो । उहाँ (चन्द)ले पनि पार्टीलाई विधिसम्मत ढङ्गले चलाउनुपर्‍यो भन्नुभयो त्यही हो’, बस्नेतले भने । पार्टीलाई विधिसम्मत सञ्चालन गरिए कुनै समस्या नआउने सन्देश बैठकको थियो । 

हाल पार्टीमा आफूलाई अभिभावक भन्न रुचाउने चन्दले विगतमा पार्टी पटक पटक फुटेको दृष्टान्त सुनाउँदै गल्ती नगरी पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न जोड दिएका थिए । 

बैठकका सहभागी अर्का एक नेताका अनुसार पछिल्लो समय पार्टी संस्थागत र व्यवस्थित ढङ्गले नचलेको कुरा उठेको थियो ।  ‘पार्टी विधानअनुसार त चलेन नि’, उनले भने, विधानमा ८ जना उपाध्यक्ष छन् अहिले ९ जना भयो । केन्द्रीय सदस्य दिनहुँ थपिन्छन्  कति पुगेपछि रोकिने भन्ने पनि थाहा छैन ।’

ती नेताका अनुसार विधानमा १९९ जना केन्द्रीय सदस्य रहने भनिए पनि मनपरी ढङ्गले पद बाँडिदा अहिले ३२० भन्दा बढी सदस्य नाघिसकेको छ । उनले कटाक्ष गर्दै भने, ‘दिनमा एक दुई थपिएको छ, कतिमा रोकिने भन्ने नै थाहा भएन । ४०० मा रोकिने  हो कि ५०० मा ?’

अनलाइनमा विज्ञापन गरेर केन्द्रीय सदस्य माग्ने कार्य गलत भएको भन्दै उनले केन्द्री समितिदेखि कार्यसम्पादन समितिको स्प्रिटअनुसार अध्यक्ष राजेन्द्र लिङ्देन अघि बढ्न नसकेको आरोप लगाए । 

राप्रपाका नेता जनकराज पाठकले पार्टी विधान र विधिअनुसार चल्नुपर्छ भन्ने विषय स्वाभाविक भएको बताए । लोहनी निकट निर्वाचित केन्द्रीय सदस्य उनले भने, ‘पार्टीमा विधि पालना गरेर सबै जना अघि बढ्नुपर्‍यो । गएको केन्द्रीय समिति बैठकले विधि, विधि, विधि भन्ने कार्यसूची नै पास गरेको छ।  तर, त्यो कुरालाई कुल्चिएर हिँड्ने छुट कसैलाई छैन । आ–आफूले प्राप्त गरेको अधिकार प्रयोग गरेर काम गरेमा पार्टीभित्र कुनै पनि विवाद छँदापनि छैन हुँदा पनि हुँदैन ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पार्टीको बृहत्तर हितका लागि भेला तथा छलफल हुनसक्ने बताउँछन् । तर, दलीय व्यवस्थामा त्यो अध्यक्षको नोटिसमा हुनुपर्ने उनको धारणा छ । 

‘अध्यक्षलाई नै उपेक्षा गरेर गरिने बैठक र भेलाहरु जायज होइन । दलीय व्यवस्थामा केही कुरा छन् भने कमिटीहरुमा राख्नुपर्छ । अध्यक्षसँग छलफल गरेर निरूपण गर्नुपर्ने विषय छन् भने अध्यक्षसँग बसेर निरूपण हुनुपर्छ’, उनले भने, ‘पार्टीका केही नेताहरू जो संस्थापक पनि हुनुहुन्छ उहाँहरू बस्नुभयो । तर, त्यो पार्टीभित्रै बसेर गरेको भएदेखि कार्यकर्ता, आम शुभेच्छुक, शुभचिन्तकमा भ्रम उत्पन्न हुँदैन थियो ।’

उनले यो छलफल र बैठकको अध्यक्षलाई जानकारी नभएको पनि स्पष्ट गरे । श्रेष्ठले राजेन्द्र लिङ्देन नेपाली राजनीतिमा निरन्तरतामा क्रमभङ्ग गर्ने नेता भएको जिकिर गरे । यदि राजेन्द्र लिङ्देनलाई काम गर्न दिइएन भने कुनै पनि पार्टीमा नयाँ नेतृत्वमाथि अवरोध आउँछ भन्ने सन्देश जाने उनको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप