आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला क्षेत्रसँग अर्थमन्त्रीको छलफल

सोमबार, २९ साउन २०८०, १२ : २९
सोमबार, २९ साउन २०८०

काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत विभिन्न सरोकारवाला क्षेत्रहरूसँगको छलफल गरिरहेका छन् । पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरेका हुन् । 

राजश्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन मन्त्री डा. महतले प्रयास गरिरहेका छन् ।

देशदाैडाहामा निस्किएर राजश्व र भन्सार कार्यालयहरू निरीक्षण अनुगमन गर्दा राजश्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन दिइराखेको उनको सचिवालयले जनाएको छ ।

आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री डा. महत जुटेका थिए । मन्त्री डा. महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूलाई अर्थ मन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा राखेका थिए ।

आइतबार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताएका थिए । जिम्मेवारीमा सम्झौता नगरी काममा व्यावसायिकता, सम्मान र समर्पण हुनुपर्ने बताए ।

गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गरेका थिए । अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरूसँग मन्त्री डा. महत निरन्तर छलफलमा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप