आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादीको सर्कुलर

यस्तो छ माओवादी नेताहरुको कार्यविभाजन, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

सोमबार, २९ साउन २०८०, १४ : ५७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनसहितको सर्कुलर मातहतका कमिटीलाई पठाएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सोमबार माहतका कमिटीलाई सर्कुलर पठाएको हो । 

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा ३ महिने वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रविन्दु बनाएर नेताहरुको कार्यविभाजन भएको एक नेताले रातोपाटीलाई बताए । माओवादीले आगामी भदौ १६ देखि तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ गर्न लागेको सन्दर्भमा पार्टीले कार्यविभाजन गर्दै संगठनलाई चलायमान बनाउन खोजेको हो ।  

ती नेताका अनुसार एक व्यक्तिलाई एउटै मुख्य जिम्मेवारीमा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । यस्तै फ्र्याक्सन इञ्चार्जहरु आवश्यकता अनुसार परिवर्तन गरिएको छ । जनवर्गीय संगठन  मोर्चाको फ्र्याक्सन इञ्चार्जको जिम्मा स्थायी समिति सदस्यलाई बनाउन प्राथमिकता दिइएको ती नेताको भनाइ छ । 

स्थायी समिति सदस्य नपुगेका मोर्चाहरुमा केही वरिष्ठ केन्द्रीय सदस्यहरुलाई पनि जिम्मेवारी दिन सकिने निर्णय गरिएको छ ।  

विभागहरु पुनर्गठन

माओवादीले विभागहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।  सरकार र व्यवस्थापिकासँग जोडिएका विभागहरुमा विषयगत अनुभवी र विज्ञहरु केन्द्रित गरी सानो आकारको संरचना निर्माण गर्ने व्यवस्था गरिएको छ । तीनै तहको सरकार र व्यवस्थापिका संचालन र परिचालनमा नीतिगत सल्लाह सुझाव दिने कार्यमा विषयगत विभागहरुलाई जोड दिने नीति लिइएको उल्लेख सर्कुलरमा रहेको माओवादीको भनाइ छ ।  

हाल सरकारको जिम्मेवारीमा रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु उपमहासचिव शक्ति बस्नेत, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय सदस्यहरु मन्त्री सुदन किराती र राज्यमन्त्री सुशिला सिर्पाली, प्रधानमन्त्रीका सल्लाहकार उपमहासचिव हरिवोल गजुरेललाई सरकार र सम्बन्धित निकायकै काममा केन्द्रीत हुनेगरी व्यवस्था गरिएको छ । यस्तै राजनीतिक नियुक्तिमा रहेकाहरुलाई पनि सोहीअनुसारको व्यवस्था गरिएको छ । 

व्यवस्थापिकामा रहेका प्रमुख सचेतक सचिव हितराज पाण्डेसहित गोपी अछामी गंगा वेलवासे र रुपा सोसी चौधरी तथा विषयगत समितिका सभापतिहरु, प्रदेश सभाका मन्त्रीहरु, प्रदेश सभाको दल नेता, प्रमुख सचेतक र सचेतकहरु र विषयगत समितिका सभापतिहरु सोही जिम्मेवारीमा केन्द्रित रहने व्यवस्था गरिएको सर्कुलरमा उल्लेख छ । 

यस्तै समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्ण बहादुर महरालाई दिइएको छ । यसैगरी प्रचार–प्रसार, प्रेस सेन्टरको इन्चार्ज र पार्टी प्रवक्ताको जिम्मा उपाध्यक्ष अग्नि सापकोटालाई दिइएको छ । 

यसैगरी जनवर्गीय संगठन (मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग व्यापार, सुकुम्वासी आदि) को संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ ।

बुद्धिजीवी मोर्चाहरु (बुद्धिजीवी, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, मानव अधिकारकर्मी, इन्जिनियर, स्वास्थ्यकर्मी र साहित्य तथा सांस्कृतिकर्मी) को संयोजनको जिम्मेवारी सचिव दिनानाथ शर्मालाई दिइएको छ । 

यस्तै कर्मचारी संगठनको फ्र्याक्सन इञ्चार्जको जिम्मेवारी उपमहासचिव हरिवोल गजुरेललाई दिइएको छ । 

१० प्रदेशको इन्चार्ज को ?

माओवादीले प्रदेशहरु इञ्चार्जको जिम्मेवारी पनि सर्कुलरमा समेटेको छ । जसअनुसार कोशी प्रदेशमा  चक्रपाणि खनाल (बलदेव), मधेस प्रदेशमा लीलामणि पोख्रेल, बागमती प्रदेशमा जनार्दन शर्मा, गण्डकी प्रदेशमा देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशमा हितमान शाक्य, कर्णाली प्रदेशमा मात्रिका यादव, सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य, सम्पर्क समन्वय प्रदेशमा गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेशमा वर्षमान पुन र प्रवास प्रदेशमा सुरेन्द्र कुमार कार्की (राम कार्की) चयन भएका छन् ।

यसैगरी केन्द्रीय कार्यालय संचालन तथा समग्र संगठन र अभियानको अनुगमन गर्ने जिम्मा पार्टी महासचिव देव गुरुङलाई दिइएको छ भने केन्द्रीय कार्यालयको आर्थिक कोष तथा कार्यालयको व्यवस्थापकिय कार्यको जिम्मा कोषाध्यक्ष एवं केन्द्रीय कार्यालय मुख्य सचिव श्रीराम ढकाल र केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्यायलाई दिइएको छ । 

स्थायी समिति सदस्य तथा केन्द्रीय समिति सदस्यहरुको १० वटै प्रदेशहरुमा प्रदेशगत कार्यविभाजन गरिएको पनि बताइएको छ । 

जबस तथा मोर्चा फ््रयाक्सन इञ्चार्जको जिम्मेवारी परिवर्तन सर्कुलरमा केही जनवर्गीय संगठन/मोर्चाहरुको फ््रयाक्सन इञ्चार्जको जिम्मेवारी परिवर्तन गरिएको उल्लेख छ । जसअनुसार अखिल नेपाल ट्रेड युनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को  इञ्चार्जमा सुनिल मानन्धर,  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को इञ्चार्जमा अमृता थापा, योङ कम्युनिष्ट लीग नेपालको इञ्चार्जमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ चयन भएका छन् । 

यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इञ्चार्जमा हिमाल शर्मा, अखिल नेपाल जनसाँस्कृतिक महासंघको  इञ्चार्जमा ईश्वरचन्द्र ज्ञवाली, आदिवासी जनजाति महासंघ नेपालको इञ्चार्जमा ओनसरी घर्ती, मुस्लिम मुक्ति मोर्चाको इञ्चार्जमा महेश्वर जंग गहतराज ‘अथक’ चयन भएका छन् । 

यसैगरी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको इञ्चार्जमा परशुराम रम्तेल/सह इन्चार्जमा तेज बहादुर मिजार चयन हुँदा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको इञ्चार्जमा खिमलाल देवकोटा,  नेपाल राष्ट्रिय कर्मचारी महासंघको इञ्चार्जमा हरिवोल गजुरेल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको इञ्चार्जमा टेक बहादुर बस्नेत, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको इञ्चार्जमा सन्तु दराई, प्रेस सेन्टर नेपालको इञ्चार्जमा अग्नि प्रसाद सापकोटा र सहइन्चार्जमा महेश्वर दाहाल  चयन भएका छन् । 

यसैगरी मानव अधिकार तथा समाजिक अभियान नेपालको इञ्चार्जमा शशी श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघको इञ्चार्जमा गणेशमान पुन र सह इन्चार्जमा किरण राई, गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संघको इञ्चार्जमा दिनानाथ शर्मा, अखिल नेपाल सुकुम्वासी महसंघको इञ्चार्जमा सन्त कुमार थारु अपाङ्गता संगठन नेपालको इञ्चार्जमा जीवन बुढा, नेपाल राष्ट्रिय इन्जिनियरिङ्ग संगठनको इञ्चार्जमा गणेश शाह, एकीकृत अखिल नेपाल शिक्षक संगठनको इञ्चार्जमा यशोदा सुवेदी र सह इन्चार्जमा भोला सापकोटा  चयन भएका छन् । 

यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको इञ्चार्जमा नारायण दाहाल, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघको इञ्चार्जमा कल्पना धमला, विपद व्यवस्थापन संगठनको इञ्चार्जमा सूर्य प्रकाश सुवेदी ‘पथिक’, वैदेशिक रोजगार संगठनको इञ्चार्ज रामेश्वर राय यादव, सहकारी संगठन – इञ्चार्जमा लीलामणि पोख्रेल, उपभोक्ता हित सम्बद्ध संगठन इञ्चार्जमा कृष्णबहादुर के.सी. चयन हुँदा प्रतिष्ठानहरुको इञ्चार्जमा हितराज पाण्डे, रिटर्नी सेन्टर नेपालको इञ्चार्जमा लक्ष्मण पन्त चयन भएका छन् । 

यसैबीच माओवादीले नयाँ जनसंगठनका रुपमा आइसिटी फोरम गठन गर्ने निर्णय गरेको छ ।  उक्त फोरमको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज रेखा शर्मा र अध्यक्षमा गोविन्द आचार्यलाई जिम्मा दिने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप