आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संन्यास लिएका बेन स्टोक्सलाई विश्वकप खेलाउन चाहन्छन् इङ्ल्यान्डका प्रशिक्षक

सोमबार, २९ साउन २०८०, १५ : ०५
सोमबार, २९ साउन २०८०

काठमाडौँ । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको एक वर्षभन्दा बढी समय बितिसकेको छ । उनले सन् २०२२ को जुलाईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । 

३२ वर्षीय स्टोक्सले सन् २०२२ को जुलाई १९ तारिखमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम एकदिवसीय प्रतियोगिता खेलेका थिए । उनले टेस्ट क्रिकेट भने अहिले पनि खेलिरहेका छन् । उनले हालै सम्पन्न इङ्ल्यान्डविरुद्धकाृ परम्परागत एसेस टेस्ट शृंखला पनि खेलेका थिए । उनी इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान पनि हुन् । 

हालै सम्पन्न एसेस शृंखलामा उनले उत्कृष्ट ब्याटिङ गरे । अहिले पनि स्टोक्सको ब्याटिङ लयमा देखिन्छ । पाँच टेस्टको एसेस शृंखलामा उनले कूल चार सय पाँच रन बनाए । एक खेलमा उनले एक सय ५५ रन बनाएका थिए ।  त्यसैले इङल्यान्डका प्रशिक्षक म्याथ्यु मोट यसै वर्षको अन्त्यमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि स्टोक्सलाई पनि टोलीमा समावेश गर्न चाहन्छन् । यसका लागि प्रशिक्षक म्याथ्युले स्टोक्ससँग कुरा पनि गरिसकेका छन् । तर, स्टोक्सले उनलाई स्पष्ट जवाफ दिएका छैनन् । त्यसैले प्रशिक्षक म्याथ्युले स्टोक्सलाई मनाउन उनी निकटका अन्य खेलाडीलाई पनि आग्रह गरेका छन् । 

केही समयअघि उनी घुँडामा समस्या देखिएको थियो । त्यसैले उनले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेल्न सकेनन् । एसेस शृंखलामा पनि उनले २९ ओभरमात्र बलिङ गरेका थिए । उनले तीन विकेट पनि लिएका थिए । अहिले उनी विस्तारै त्यो समस्याबाट मुक्त हुँदैछन् ।   

‘हामी उनलाई (बेन स्टोक्स) आगामी विश्वकपका लागि टोलीमा समावेश गर्न चाहन्छौं । यस विषयमा कुरा पनि भएको छ । तर, सन्न्यास फिर्ता लिएर टोलीमा फर्कने विषयमा बेनले कुनै स्पष्ट जवाफ दिएका छैनन् । हेरौं के हुन्छ,’ प्रशिक्षक म्याथ्यु भन्छन् । 

प्रशिक्षक म्याथ्युले एसेस शृंखलामा स्टोक्सको खेलको प्रसंशा पनि गरेका छन् । ‘उनको ब्याटिङ अझै लयमा छ । त्यसको पछिल्लो उदाहरण एसेस शृंखला नै हो । त्यसमाथि उनलाई टोलीमा समावेश गर्दा हामीले बलिङ पनि बोनसका रुपमा पाउँछौं,’ म्याथ्युले भन्छन् । 

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जिताउन पनि स्टोक्सले महत्वपूर्ण योगदान गरेका थिए । त्यो विश्वकपको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो । स्टोक्स उक्त विश्वकपको फाइनलमा म्यान अफ दी म्याच घोषित भएका थिए । उनले फाइनलमा अविजित ८४ रन बनाएका थिए । एकदिवसीय विश्वकपको १३औं संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप