आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोरखामा भेटिएको ‘टल्कने ढुङ्गा’ उर्फ ‘क्वार्ज क्रिस्टल’को महत्त्व के, मूल्य कति ?

सोमबार, २९ साउन २०८०, १५ : ३८
सोमबार, २९ साउन २०८०

अचेल सामाजिक सञ्जालमा ‘टल्कने ढुङ्गा’ उर्फ ‘क्वार्ज क्रिस्टल’ भाइरल बनेको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार अनुसार, गोरखा नगरपालिका सतिपिपल– ७ स्थित चन्द्रमान शाही र राममाया शाहीको घरबाट प्रहरीले उक्त ढुङ्गा बरामद गरेको थियो । यो ढुङ्गा लाखौँ रूपैयाँमा खरिद–बिक्री हुन लागेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । 

करिब डेढ महिना जिल्ला प्रहरीको नियन्त्रणमा रहेपछि प्रशासनले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेर यसको चेकजाँच गर्न अनुरोध गरेको थियो । विभागबाट भूगर्भविद् सुस्मिता ढकाल र दुर्गा बोलखेले यसका विभिन्न पक्षको अध्ययन गरी त्यसको प्रतिवेदन यही साउन २४ गते प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बुझाएका छन् । 

उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ भएको र ‘खानी तथा खनिज पदार्थ ऐन २०४२’ बमोजिम अनुमति नलिई उत्खनन तथा संकलन गरिएकाले उक्त ढुङ्गा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ । यस ढुङ्गाका धनी राममाया र चन्द्रमानले भने आफूले पुस्तौँदेखि देवताको रूपमा पुज्दै आएकाले उक्त ढुङ्गा आफूहरूले नै पाउनुपर्ने माग गर्दै आएका छन् । 

365458661_625534993011449_2816632885431845138_n

जिल्लाका कतिपय सरोकारवाला निकाय र अन्य संघ–संस्थाले यसलाई गोरखा संग्रहालयमा अवलोकनका लागि राख्नुपर्ने भन्ने माग गरेका छन् । धार्मिक आस्थाको रूपमा लिइएकाले यसलाई गोरखा दरबारमा राखेर सर्वसाधारणका लागि पनि पूजाअर्चना गर्न खुला गरिनुपर्ने कतिपयको भनाइ छ ।

चन्द्रमानका छोरा सुरेशले आफ्नो घरमा रहेको टल्कने ढुङ्गाको तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि यसलाई हेर्न आउने र चासो राख्ने मान्छेहरूको भिड लाग्न थाल्यो । 

क्वार्ज क्रिस्टल के हो ?

क्वार्ज एक प्रकारको प्राकृतिक रूपमा पाइने खनिज हो, जसलाई स्फटिक पनि भनिन्छ । साधारणतया क्वार्ज रङहीन, पारदर्शी, अक्षीय तथा कठोर हुन्छ । खनिजहरूको कठोरपन नाप्ने मोह्स हार्डनेस स्केलमा यसलाई सातौँ नम्बरमा राखिएको छ, जसमा दश नम्बरमा हीरा (अति कठोर) र एक नम्बरमा टाल्क (अति नरम) पर्छ । 

प्राचीनकालदेखि नै युरोप तथा मध्यपूर्वी मुलुकहरूमा यसलाई आभूषणका रूपमा प्रयोग गरेको पाइन्छ भने वर्तमान समयमा यसलाई गहना तथा आभूषण बनाउन, सजावट सामग्रीका रूपमा, सिसा बनाउन, घडी तथा इलेक्ट्रोनिक सामान बनाउन र विभिन्न फ्याक्ट्रीमा घोट्ने तथा काट्ने काममा यसको प्रयोग गरिन्छ ।

मूल्य कति ?

कुनै पनि वस्तुको बजार मूल्य त्यसको बजार माग र आपूर्तिको सहजताले निर्धारण गर्छ । विशेषतः खनिज तथा बहुमूल्य वस्तुको मूल्य त्यसको शुद्धता, आकार प्रकार, तौल, कटाइछटाइले निर्धारण गर्छ । किमती तथा अर्धकिमती पत्थरहरूको मूल्यको हकमा फोर–सीको नियम लागू हुन्छ । अर्थात् कटाइ (कट), शुद्धता (क्ल्यारिटी), रङ (कलर) र शुद्धताको माप (क्यारेट) । 

गोरखामा बरामद गरिएको उक्त क्वार्ज क्रिस्टलको तौल ५२ किलो ३३० ग्राम भनिएको छ, जुन सामान्य अवस्थामा पाउनु एकदमै कठिन हुन्छ । यसका विभिन्न प्रकार हुन्छन्, जस्तै : पिङ्क क्वार्ज, मिल्की क्वार्ज, ह्वाइट क्वार्ज र क्लियर क्वार्ज । रह्यो मूल्यको कुरा, यसलाई हालको अवस्थामा बेच्दा धेरै मूल्य नपरे पनि त्यसलाई प्रशोधन गरेर उपयुक्त आकार र ढाँचामा बेच्ने हो भने प्रकार अनुसार प्रतिकिलो पाँच हजारदेखि ७० हजार अमेरिकी डलरसम्म पर्ने देखिन्छ । 

खानी तथा खनिज पदार्थ नियमावली २०५६ को अनुसूची १ मा खनिजलाई धातु र अधातुमा विभाजन गरिएको छ । क्वार्ज क्रिस्टल अधातु अन्तर्गत पर्छ र यसलाई महत्त्वपूर्ण तथा बहुमूल्य खनिजमा राखिएको छ ।

365517829_677405364405563_891171867483894372_n

(लेखक देवकोटा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययन गर्दै छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप