आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनीत, संगठन विभागको सचिवमा ढुंगेल

सोमबार, २९ साउन २०८०, १६ : १९
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत  समाजवादीबाट प्रवेश गरेका केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । 

सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

त्यस्तै सुदूरपश्चिम प्रदेशका शंकरदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको एमालेले संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेललाई मनोनयन गरेको छ । संगठन विभागको प्रमुखमा काशीनाथ अधिकारी छन् । 

सचिवालय बैठकले राष्ट्रिय युवा संघ कञ्चनपुर जिल्ला अधिवेशनमा भएको कुटपिटको घटना छानबिन गर्न उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा भानुभक्त ढकाल र ज्वालाकुमारी साह रहेको कार्यदल बनाएको छ । उक्त कार्यदलले घटनाको छानबिन गर्दै समाधानको उपाय अवलम्बन गर्नेछ । 

साउन २७ राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा नेतृत्वका लागि दिनेश विष्ट र नवीन चन्द दुई समूहमा विभाजित बन्दा युवाहरु कुटपिटमा उत्रिएका थिए । त्यसक्रममा कुर्सी तोडफोडदेखि कुटपिट हुँदा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष एवं एमाले जिल्ला सदस्य रविन्द्र देवकोटा र प्रशान्त भट्टलगायत घाइते भएका थिए ।  बैठकले भदौ १६ असोज २२ भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्न प्रदेशबाट सिफारिस भएको अधिवेशन मिति पनि अनुमोदन गरेको छ । 

प्रदेश अधिवेशनमा प्रतिनिधिहरु पालिकाबाट चयन गर्ने निर्णय पनि गरेको छ । जसमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउन प्राथमिकतामा राखेर वडा र टोलमा न्युनतम एक तिहाइ युवा, पालिकामा न्युनतम् २०, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत सुनिश्चित गर्दै पार्टीमा युवाहरुको सहभागीतालाई तलैबाट विस्तार गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप