आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस संसदीय दल बैठक

संसद अवरोध अन्त्य गर्न एमालेलाई कांग्रेसको अपिल

‘लामो समयसम्म संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी हो’
सोमबार, २९ साउन २०८०, १६ : ५८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपिल गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद् भवन बानेश्वरमा तीन दिन बसेको संसदीय दलको बैठकले सो अपिल गरेको हो ।

कुनै विषयमा आफ्नो असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रूपले प्रस्तुत हुन स्वाभाविक भए पनि लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको पार्टीले ठहर गरेको छ । सरकारलाई सदनका प्रति जवाफदेही बनाउनु पर्छ भने संसद् आफैं जनताका प्रति उत्तरदायी हुनुपर्ने कांग्रेसको भनाई छ ।

‘सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न सकेको छैनन् भने अर्को तर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानुन बन्न सकेका छैनन् । सरकारबाट नयाँ विधेयक प्रस्तुत गर्ने, प्रतिनिधिसभामा विषयगत समितिको नेतृत्व चयन गर्ने कार्य अवरुद्ध छ,’ पार्टीले भनेको छ, ‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्षी लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्ने पहल गर्ने निर्णय गर्दछ । संघीय संसद् नै निष्क्रिय भएको अवस्थाले संसदीय पद्धतिप्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद् अवरुद्ध गर्ने कार्यलाई उचित मान्न सकिँदैन ।’

देशमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको समस्या छ । बाढी, पहिरो र डुबानका कारण मानवीय र भौतिक क्षति भएको छ ।लम्पी स्किनको प्रकोपका कारण हजारौँ पशुचौपाया मरेका छन् । लाखौँ चौपाया सङ्क्रमित छन्, पशुधनको क्षतिका कारण किसानले ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।

डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको  सङ्क्रमण देशभरि फैलिएको छ । यी लगायत जनजीविकासँग जोडिएका, नागरिकका प्रत्यक्ष सरोकार भएका विषयमा सदनमा आवाज उठ्ने, छलफल हुने अवस्था बन्नु पर्ने पार्टीले जनाएको छ ।

बैठकले संघीय संसद्लाई प्रभावकारी बनाउन निरन्तर काम गरी रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  संसद् नेपाली जनताको सार्वभौम र शीर्षस्थ संस्था भएको र कानुन निर्माण गर्ने, सरकारका काम कारबाहीमा निरन्तर अनुगमन र निगरानी गरी सरकारलाई सदनका प्रति जवाफदेही बनाउने, देश र जनताका महत्त्वपूर्ण एवं समसामयिक विषयमा छलफल गरी राष्ट्र र जनताको सर्वोत्तम हितमा काम गर्नु संसद्को मुख्य काम भएको पार्टीले बताएको छ ।

‘तसर्थ संसद् जति क्रियाशील र प्रभावकारी हुन सक्यो त्यत्ति नै देश र जनताका हितमा काम हुन सक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफलीभूत हुने भएको हुँदा संसद्लाई पूर्ण रूपले प्रभावकारी बनाउनु पर्दछ,’ पार्टीले भनेको छ ।

संघीय संसदमा धेरै महत्त्वपूर्ण विधेयकहरू विचाराधीन रहेको स्मरण गराउँदै कांग्रेसले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार नियन्त्रण गर्ने लगायत तमाम विधेयक चाडै पारित गर्नुपर्ने जिकिर गरेको छ । बैठकले संसद्को दुईवटा अधिवेशनबाट हालसम्म न्यून सङ्ख्यामा विधेयक पारित भएका छन् । संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडो भन्दा चाँडो पारित गर्न सरकार र संसद्मा क्रियाशील सबै दलहरूलाई अपिल समेत गरेको छ । 

बैठकको निर्णयमा भनिएको छ, ‘सरकारले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउनु पर्छ । नेपाली कांग्रेस संसद् भित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रूपले लाग्ने निर्णय गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप