आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले सरकारलाई सम्झायो गर्नुपर्ने १२ काम

सोमबार, २९ साउन २०८०, १७ : १९
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारले नागरिकको जीविकासँग सम्बन्धित र प्रत्यक्ष सरोकारका विषयमा यथेष्ट ध्यान दिनुपर्ने बताएको छ । बैठकले तत्कालै प्रभावकारी रूपले १२ वटा काम सरकारले गर्नुपर्ने बताउँदै ध्यानाकर्षण गराएको हो । 

यस्ता छन् कांग्रेसले सम्झाएका १२ काम :

क. उपभोग्य सामग्रीको मूल्य बढिरहेको छ । मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा सरकारले सकारात्मक पहल गरे पनि थप कार्य गर्न आवश्यक छ । जनताका दैनिक आवश्यकताका वस्तुको मूल्यवृद्धि र कालोबजारीका कारण जीवन कष्टकर बनेको छ । सरकारले तत्काल बढ्दो महँगी र कालोबजारी नियन्त्रण गरी जनतामा दैनिक आवश्यकताका वस्तु सरल र सुलभ रूपले प्राप्त हुने व्यवस्था गर्न, 

ख. लोकतान्त्रिक व्यवस्थामा सुशासनको प्रत्याभूति आधारभूत सर्त हो । नेपाली कांग्रेस कुनै पनि घटनाको कानुन बमोजिम स्वतन्त्र, निष्पक्ष, पूर्वाग्रहरहित छानबिन, अनुसन्धान हुनु पर्दछ भन्ने पक्षमा छ । ‘‘कुनै पनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’’ भन्ने हाम्रो पार्टीको नीति रही आएको छ । यो धारणा हामी निरन्तर राख्दै आएका छौ । सबै प्रकारका भ्रष्टाचार, अनियमितता र बेथितिहरूलाई नियन्त्रण गरी मुलुकमा सुशासनको सुनिश्चितता गर्न,

ग. सरकारले नागरिकलाई प्रदान गर्ने सेवा छिटो, छरितो र प्रभावकारी रूपमा दिन सबै कानुनी तथा संरचनागत सुधार गरी जनतालाई सेवा लिन उत्पन्न व्यवधान र जटिलता समाप्त गरी प्रत्येक सेवा छिटो छरितो र सर्वसुलभ बनाउन,

घ.जग्गाको कित्ताकाट गर्ने व्यवस्था लागू गर्ने घोषणा भए पनि सबै स्थानका कार्यान्वयन हुन नसकेका कारण नागरिकलाई घरायसी व्यवहार सम्पादन गर्न समेत कठिनाइ भएको छ । जग्गाको कित्ताकाट गर्ने कार्यमा विद्यमान जटिलतालाई उचित ढङ्गले सम्बोधन गरी कित्ताकाटको व्यवस्था गर्न,

ङ. श्रमिक मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गर्न ढिलो भइसकेको छ । तत्काल श्रमिकको ज्याला निर्धारण गर्न,

च. देशभरि कहीँ अतिवृष्टि र कहीँ अल्पवृष्टि भएको छ । अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानले मानवीय र भौतिक क्षति भएको छ भने खास गरी तराई मधेसमा समयमा पर्याप्त वर्षा नभएका कारण रोपाई हुन नसकेको र भूमिगत जल सतह तल झरेका कारण किसान मर्कामा परेका छन् । यस अवस्थाले भविष्यमा उत्पन्न हुनसक्ने खाद्यान्न समस्या समेतलाई ध्यानमा राखी अल्पकालीन एवं दीर्घकालीन योजना साथ किसान एवं जनताका पक्षमा कार्य गर्न,

छ. विगतमा फैलिएको कोरोनाको विश्वव्यापी महामारी र केही बाह्य कारणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । सरकारले अर्थतन्त्रमा सुधारको प्रयत्न गरेको छ । तथापि हाल पनि उद्योगी, व्यापारी, व्यवसायी, किसान, मजदुर लगायत सम्पूर्ण नागरिक आफ्नो व्यवसाय सञ्चालन गर्न तथा दैनिक जीविका चलाउन समेत चिन्ताग्रस्त छन् । अर्थतन्त्रलाई चलायमान गर्ने, लगानीमैत्री वातावरण बनाउने, बैङ्किङ प्रणालीलाई जनस्तरमा पुर्‍याउन अल्पकालीन र दीर्घकालीन योजना बनाई जनतामा अभिभावकीय भूमिका निर्वाह गरी आम नागरिकलाई आश्वस्त गर्न,

. सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न तत्काल जग्गा नाप जाँच, चर्को करको न्यूनीकरण तथा धनी पुर्जा वितरणमा तीव्रता दिएर समस्याको समाधान गर्न,

झ. देशको विभिन्न भागमा जातीय विभेद र छुवाछुतका घटना पछिल्लो समयमा बढेर गएको विषयलाई गम्भीरतापूर्वक लिँदै यो बैठक सरकारलाई यस्ता घटना निरुत्साहित र नियन्त्रण गर्न विशेष तदारुकता राख्न,

ञ.कोशी प्रदेश सुनसरी जिल्लाको धरान र नजिकको क्षेत्रमा डेंगु रोग अत्यधिक रूपमा फैलिएको छ । यसको प्रभाव देशभरि बढी रहेको छ । प्रभावकारी रूपमा डेंगु रोकथाम, नियन्त्रण गर्न,

ट. साउन २४ गते सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदी बन्दीको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषी माथि कानुनी कारबाही गर्न,

ठ.निर्माण व्यवसायी लामो समय देखि विभिन्न माग राखी आन्दोलनरत छन् । निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न,

सरकारमा सहभागी दलहरूको गठबन्धन नेपाली कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको बताउँदै बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय समेत गरेको छ । ‘राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक छ । गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक छ,’ पार्टीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप