आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

वकिलको कर्तुत : दुई वर्षसम्म ‘श्रीमती’ भन्दै लिभिङ टुगेदर, अर्की श्रीमती रहेको थाहा पाएपछि उल्टै लाञ्छना !

घरमा श्रीमती हुँदाहुँदै ‘विदुर’ भनेर वकिलले नै गरेका थिए पत्रिकामा विज्ञापन
मङ्गलबार, ३० साउन २०८०, १२ : ५९
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । गत साउन २३ गते रातोपाटीमा ‘वकिलले नै आरोपितको पत्नीलाई साक्षी राखेर अर्की महिलालाई श्रीमती स्वीकार गर्न लगाएपछि ...’ शीर्षकको समाचार प्रकाशित भएपछि त्यही दिन राति रातोपाटीको इमेल ठेगानामा एउटा इमेल आयो । आकाश शर्मा (परिवर्तित नाम) बाट आएको इमेलको सुरुवातमै लेखिएको थियो, ‘आर यु सेफ ? वी आर थ्रिटन्ड बाई लयर भोज बहादुर केसी।'

इमेलमा एक वकिलले कसरी एक महिला र उनको परिवारको जीवन अस्तव्यस्त बनाए, र अहिले कसरी लुकेर हिँड्नुपरेको छ भनेर विस्तृतमा लेखिएको थियो ।

इमेल पठाउने आकाशले आफ्नै आमाप्रति भएको अन्याय र अत्याचारको विषय उल्लेख गरेका थिए र त्यसलाई पुष्टी हुने केही अडियो रेकर्ड, म्यासेजको स्क्रिनसट र साइबर क्राइम आकर्षित हुने अश्लील म्यासेज र उनीहरुको बेइज्जत गर्न एक अधिवक्ताले पोष्ट गरेका सामग्रीहरुको स्क्रिनसट समावेश थियो । र, त्यो ‘अपराध’ गर्ने व्यक्ति अरु कोही नभएर माथिकै शीर्षकमा छापिएको समाचार उल्लेख भएका अधिवक्ता अर्थात् वकिल भोज बहादुर केसी थिए ।

‘कन्फिडेन्सियल’ (अति गोप्य) भनिएको उक्त इमेलमा ती युवकले आफ्नो मोबाइल नम्बरसमेत उल्लेख गरेका थिए र उक्त नम्बर कसैलाई उपलब्ध नगराउन आग्रह गरेका थिए । आफूहरु वकिल भोज बहादुर केसीको प्रताडनाबाट आजित भएको र त्रासकै कारण डेरासमेत छाड्नुपरेको इमेलमा उल्लेख थियो । आफूहरु केसीको अपराध र यातनाबारे मिडियामा आउन चाहेको तर विवरण अति गोप्य हुनुपर्ने इमेल प्रेषकको पहिलो शर्त थियो ।

इमेल लगत्तै हामीले ती युवकलाई सम्पर्क गर्‍यौँ र कलंकीको भाटभटेनी नजिकै उनीसँग भेट गर्‍यौँ । युवकसँगै झण्डै ५ दशक पुगेकी महिला पनि आएकी थिइन् । युवकले सुरुवातमै चिनाए, ‘उहाँ मेरो ममी ।’

त्यसलगत्तै एक क्याफेमा बसेर सुरु भयो कुराकानी । भेटघाटको कारण र उद्देश्यबारे स्पष्ट पार्न भनेपछि उनीहरुले ‘अपराधी’को कर्तुत अरुले पनि थाहा पाउनुपर्ने र उसलाई कानुनी कारबाही हुनुपर्ने कुरा गरे । तर हामीले अपराधी हो कि होइन भन्ने कुरा कानुनी उपचारमा गएपछि अदालतले मात्रै भन्न सक्ने बतायौँ । त्यसका लागि तपाईंहरु नै कानुनी उपचारमा जानुपर्ने बतायौँ । आफूहरु केवल घटनाबारे यथार्थ विवरण प्रकाशन गर्न सक्ने र त्यस्ता विवरण पनि स्वतन्त्ररुपमा पुष्टी हुने प्रकृतिका भएमात्रै छाप्न सकिने कुरा गर्‍यौँ । उनीहरुले पुष्टी हुने प्रमाण दिने र समाचारका रुपमा बाहिर ल्याउन तयार रहेको बताए ।

हामीले कुराकानीको अडियो रेकर्ड आफूहरुको प्रमाणका लागि सुरक्षित राख्नुपर्ने भएकाले रेकर्ड गर्ने तर अडियो प्रकाशन नगर्ने कुरा बतायौँ । भिडियो कुराकानी गर्न भने उनीहरुले अस्वीकार गरे । यद्यपि फोटो खिच्न तयार रहेको तर फोटो प्रकाशन गर्नैपर्ने भए कसैले नचिन्ने गरी प्रकाशन गर्नुपर्ने शर्त राखे । हामीले ‘पीडित’को पहिचान गोप्य रहने आश्वासन दिएपछि सुरु भयो ती युवक, उनकी आमा र आफन्तप्रति अधिवक्ता भोज बहादुर केसीले गरेको प्रताडनाको कथा ।

............

नम्रता शर्मा (नाम परिवर्तन) उमेर अहिले ४८ वर्ष लागिन् । ४० वर्षको उमेरमा उनका श्रीमानको मृत्यु भयो । हर्ट अट्याकको कारण श्रीमानको मृत्यु भएपछि १९ वर्षकी छोरी र १२ वर्षको छोराको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । सरकारी जागिरे रहेका श्रीमानको पेन्सन नै नम्रताको आम्दानीको एकमात्रै स्रोत थियो । छोराले एसइई दिए, सोही समयमा छोरीको पनि विवाह भयो । नम्रतालाई छोरा, छोरी, आफन्त तथा ज्वाइँले समेत कोही राम्रो मान्छे पाए विवाह गर्दा हुन्छ, बुढेसकालमा साथी पनि हुन्छ भने । छोराछोरीले नै कर गरेपछि नम्रता पनि राम्रो व्यक्ति पाए विवाह गर्न तयार भइन् ।

bhoj-bahadur-case

त्यही समयमा चिनजानका खड्का थरका व्यक्तिले एउटा प्रस्ताव लिएर आए । म्यारिज ब्यूरो चलाएर बस्ने उनले एक ६२ वर्षका पेन्सनवाला व्यक्तिको श्रीमती बितेको बताउँदै निजले विवाहका लागि करिब ५० वर्षकी क्षेत्री महिला खोजेको प्रस्ताव राखे । उनले ‘कुरा चलाउँ ?’ भनेर सोधेपछि नम्रताले ‘छोराछोरीसँग कुरा गरेपछि हुन्छ नि त, एकपटक कुरा गरौं’ भनेर म्यारिज ब्यूरोको एजेण्टलाई भनिन् । पत्रिकामा विज्ञापन देखेकै आधारमा खड्का थरका ती व्यक्तिले दुई जनाबीच भेटघाट गराइदिए ।

Bhoj Bahadur Bigyapan

.....

दुब्लो तर फुर्तिलो शरीर, अग्लो कद र चस्मा लगाउने ती व्यक्तिले बिहेवारीको विज्ञापनमा ६२ वर्ष भने पनि हेर्दा भने ६२ वर्षभन्दा धेरै बढीजस्तो देखिन्थ्यो । कुराकानीमा भने उनले आफ्नो उमेर ६२ वर्ष नै रहेको र आफू पेन्सन खाने व्यक्ति रहेको बताए । त्यतिबेला नम्रताको उमेर ४५ वर्षमात्रै थियो र उनी आफैँ पनि पेन्सन होल्डर थिइन् ।

ती पुरुषले आफ्नो नाम भोज बहादुर केसी रहेको बताए । श्रीमतीको मृत्यु भएका कारण बुढेसकालमा साथी चाहिन्छ भनेर विवाह गर्न खोजेको पनि उनले कुराकानीका क्रममा भने । भोज बहादुरले आफ्नो तीन जना छोराछोरी रहेको र तीनै जना डाक्टर रहेको बताए । एक छोरा र छोरी अमेरिकामा रहेको र अर्को छोरा पनि अमेरिका जान लागेको समेत उनले बताए ।

नेपालमा रहेको छोरा र बुहारी पनि अमेरिका गएपछि आफू एक्लो हुने भएकाले साथी खोजेको उनको भनाइ थियो ।

bhoj-bahadur-kc

नम्रताले पनि छोराछोरी हुर्केका कारण राम्रो व्यक्ति हुँदा विवाह गर्न तयार रहेको बताइन् । त्यसपछि नम्रताले छोराछोरीसँग यसबारे कुराकानी गरिन् । त्यसपछि उनका छोराछोरीले पनि भोजबहादुरसँग भेटघाट गरे । भोजबहादुरले नम्रताको छोरा र छोरीलाई आफ्नै छोराछोरी मान्ने र सोही अनुसारको व्यवहार गर्ने बताएपछि नम्रता र भोजबहादुरबीच विवाह गर्ने सहमति बन्यो ।

सहमति बने पनि भोजबहादुरले सामाजिक परम्परा अनुसार विवाह गर्न भने मानेनन् । विवाह दर्ता नै गर्ने तर सामाजिक परम्परा अनुसार विवाह नगर्ने बताएपछि अप्ठ्यारो मानेको होला भनेर नम्रताले पनि स्वीकार गरिन् । त्यसलगत्तै भोजबहादुरले कोटेश्वरमा बस्ने नम्रतालाई कलंकीमा फ्ल्याट खोजेर सारिदिए । नम्रतासँगै छोरा पनि कलंकी मै गए । विवाहित छोरी भने श्रीमानसँग आफ्नै फ्ल्याटमा बस्थिन् ।

भोजबहादुरले विवाह गरेपछि पनि नम्रतालाई आफ्नो घर नलैजानुको कारण घरमा छोरा र बुहारी भएको र उनीहरु अमेरिका गएपछि लैजाने आश्वासन दिए । नम्रताले पनि किन अप्ठ्यारो पारिदिनु भन्दै भोजबहादुरको प्रस्ताव स्वीकार गरिन् ।

....

भोजबहादुरको घर बालाजुको गंगा हल नजिकै थियो । जान आउन सजिलो र नजिक हुने भएकाले भोजबहादुरले नम्रतालाई कलंकीमा फ्ल्याट खोजेर राखिदिएका थिए । उनीहरुको ‘विवाह’लगत्तै भोजबहादुरले नम्रतालाई घुम्नका लागि भारत लिएर गए । केही दिन भारतमा बिताएपछि उनीहरु नेपाल फर्किए । नेपाल आएपछि पनि रातको समयमा भने भोजबहादुर बालाजुमा रहेको आफ्नै घरमा जान्थे भने प्रायःजसो बिहान ११ बजे नम्रताको फ्ल्याटमा जाने र काम भए अपराह्न एक बजेको समयमा फर्किने र काम नभए दिनभर बसेर साँझमात्रै फर्किने गर्थे ।

.....

भोजबहादुरले विवाहको ५/६ महिनापछि पनि आफूलाई श्रीमती बनाएर घरमा नलगेपछि नम्रताले गुनासो गर्न थालिन् । विवाह दर्ता पनि नगरिदिएको र घरमा पनि नलगेको कारण अरुले के भन्लान् भनेर नम्रताले गुनासो गरेपछि एकदिन भोज बहादुर सिन्दुर बोकेर नम्रताको छोरीको फ्ल्याटमा पुगे । सुत्केरी छोरी स्याहार्न नम्रता छोरीकै फ्ल्याटमा रहेको समयमा भोजबहादुरले खल्तीबाट सिन्दुर निकालेर नम्रताको सिउँदोमा लगाइदिँदै ‘आजबाट औपचारिक रुपमा श्रीमती भयौ’ भने ।

घरमा किन नलगेको र विवाह दर्ता किन नगराएको भन्दा छोरा–बुहारी बाहिर नगई श्रीमती बनाएर लैजाँदा उनीहरुलाई राम्रो नलाग्ने भएका कारण उनीहरु गएलगत्तै घर लैजाने र त्यसपछि वडा कार्यालयमा गएर विवाह दर्ता गरिदिने उनले बताए । नम्रता भोजबहादुरको ‘बाध्यता’ बुझेर चुप बसिन् ।

कलंकीको फ्ल्याटको भाडा पनि कहिलेकाहीँ भोजबहादुरले तिरिदिने गरेका थिए भने कहिलेकाहीँ नम्रता आफैँले पेन्सनबाट आएको रकमबाट तिर्ने गरेकी थिइन् । कलंकीको फ्ल्याटमा जाँदा कहिलेकाहीँ तरकारी, दाल, चामल, खाद्यान्न आदिचाहिँ भोजबहादुरले लगिदिने गरेका थिए । यस्तै गरेर टार्दाटार्दै करिब दुई वर्ष बित्यो ।

....

करिब तीन महिना अगाडि नम्रतालाई एकाएक एक महिलाको फोन आयो । आफूलाई भोजबहादुरको श्रीमती भनेर चिनाउने ती महिलाले भोजबहादुरसँग संगत नगर्न उनलाई आग्रह गरिन् । भोजबहादुरले आफूलाई पनि विवाह गरेको तर घर नलगेको र यातना दिइरहेको कुरा उनले नम्रतालाई बताइन् ।

तर ती महिलाको कुरामा नम्रतालाई विश्वास भएन । भोजबहादुरको श्रीमती पहिले नै मरिसकेको र आफूलाई सिन्दुर हालेर श्रीमती बनाएको भन्दै ‘तिमी त रखैल होला’ भन्नेसम्मको तुच्छ शब्द उनले बोलिन् । तर नम्रतालाई सम्पर्क गर्ने ती महिलाले भोजबहादुर र आफूबीच विवाह भएको विवाह दर्ता प्रमाणपत्रको फोटो नै पठाइदिएपछि उनको होसहवास उड्यो । आफूलाई श्रीमती बनाएर साढे दुई वर्षदेखि झुलाइरहेका व्यक्ति पेन्सन होल्डर नभएर एक वकिल रहेको र घरमा श्रीमती हुँदाहुँदै झुक्यानमा पारेर यौन शोषण गरेको उनले थाहा पाइन् ।

भोज बहादुर केसीको अर्को श्रीमती भएको कुरा थाहा पाएलगत्तै नम्रताले भोज बहादुर केसीसँग त्यस सम्बन्धमा कुरा गरिन् । आफूलाई गफलतमा पारी शोषण गरेकाले कानुनी उपचारमा जाने चेतावनीसमेत उनले दिइन् । त्यसपछि भोजबहादुरले ती महिलालाई पहिले आफूले श्रीमती बनाएर ल्याएको तर अर्कैसँग ‘पोइल’ गएको भन्दै उनीसँग सम्बन्धविच्छेदको मुद्दा चलिरहेको बताए । अनि ती महिलाको मोबाइल नम्बर, फेसबुक लगायतका सबैतिरबाट ब्लक गरिदिए ।

त्यसपछि फेरि सुरु भयो भोजबहादुरको अर्को किर्ते काम । धादिङका एक व्यक्तिलाई आफ्नी श्रीमती पोइल गएको भन्ने कागजात तयार पारेर काठमाडौं जिल्ला अदालतमा उनले मुद्दा हाल्न लगाए । चिन्दै नचिनेको व्यक्तिसँग विवाह गरेर गएकी भन्दै ती महिलाको नामसमेत उल्लेख गरेर सामाजिक सञ्जाल र ती महिलाको परिवारलाई पठाउन थाले । र, दायाँबायाँ गरे ठिक पारिदिने धम्कीसमेत दिन थाले ।

तर नम्रतालाई भोजबहादुरको हर्कतबारे झनै शंका लाग्न थालेपछि उनले ती महिलासँग फेरि कुरा गरिन् । ती महिलाले आफूलाई पनि त्यस्तै गरी विवाह गरेको र दुई वर्ष बसेपछि लाञ्छना लगाएर पन्छाउन खोजेको बताइन् । त्यसपछि आफूमाथि अन्याय भएको भन्दै नम्रता कानुनी कारबाहीमा जान खोजिन् ।

msg

तर जब नम्रता कानुनी उपचारमा जान खोजिन्, तब सुरु भयो भोजबहादुरको प्रातडना र धम्की । कानुनी उपचारमा जान खोजेपछि भोजबहादुर आफैँ प्रहरी कार्यालयमा गएर नम्रताले आफ्नो सम्पत्ति खाएर भागेको भन्दै उजुरी दिए । सामाजिक सञ्जाल र नम्रताको परिवार तथा आफन्तलाई म्यासेज पठाएर नम्रताका लागि आफूले रकम खर्च गरेको र उक्त रकम फिर्ता नदिए फ्ल्याटमा भएको सामानसमेत उठाएर लैजाने धम्कीसमेत उनले दिन थाले ।

केही समय अगाडि मात्रै भोजबहादुरले केही भाडाका गुण्डासमेत लिएर नम्रताको फ्ल्याटमै गएर सामान उठाएर लैजाने धम्की दिएका थिए भने टोल छिमेकमा समेत बेइज्जत गर्न थालेका थिए । कलंकीको डेरामा बस्न नसक्ने अवस्था भएपछि साउन २४ गतेमात्रै नम्रताले उक्त स्थान छाडेर अन्यत्र गएर बस्न थालेकी छन् ।

छोरीको अफिस जाने धम्की, छोराको अफिसमा इमेल पठाएर चरित्रहत्या

अधिवक्ता भोजबहादुर केसीको प्रताडना नम्रतालाई मात्रै छैन, उनका २० वर्षीय छोरा आकाश शर्मा र छोरीलाई समेत उत्तिकै छ । आकाशका अनुसार आफूले काम गर्ने कम्पनीमा भोजबहादुरले इमेल गरेर आफू र आफ्नी आमाको चरित्रहत्या गरेको रातोपाटीलाई बताए । साथै नम्रताकी छोरी काम गर्ने अफिसमा समेत गएर कामबाट निकालिदिने र नम्रताका लागि भएको ‘खर्च’ फिर्ता गर्नुपर्ने शर्त राखिएको नम्रताले बताइन् ।

यद्यपि भोजबहादुरले दुईतीन महिनाको भाडा तिरेको र कोठामा आउँदा कहिलेकाहीँ तरकारी र खाद्यान्न मात्रै ल्याएको नम्रताले बताइन् ।

नम्रताले भनिन्, ‘उसले लिएर आएको भनेको कहिलेकाहीँ तरकारी र खाद्यान्न मात्रै हो । त्यसबाहेक दुईतीन महिनाको भाडा उसले दिएको छ । घरधनीको बैंक खातामै उसले पैसा हालिदिएको छ । त्यसबाहेक उसले केही दिएको छैन । तर हामीलाई टर्चर दिन कहिले यति रकम दिएको छु भन्छ, कहिले यो यो सामान दिएको छु भन्छ । हुँदै नभएको कुरा गरेर हामीलाई धम्की दिन्छ । हाम्रो पक्षमा बोलिदिने कोही छैन । ऊ कानुन जानेको मान्छे, हुँदै नभएको प्रमाण ल्याएर फसाइदिन्छु भन्छ । अब हामी जाने कहाँ ? हामीमाथि भएको अन्याय र शोषण कसले देख्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप