आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
करका कुरा

३ हजार करदाताले तिर्छन् ७८ प्रतिशत कर, १० करदाताबाटै उठ्यो १ खर्ब

मङ्गलबार, ३० साउन २०८०, १९ : ४५
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । आन्तरिक राजश्व विभागले उठाउने कूल करमध्ये ७८ प्रतिशत कर ३ हजार करदाताले मात्रै ७८ प्रतिशत कर तिर्ने गरेको खुलेको छ । विभागले उपलब्ध गरेको तथ्यांकअनुसार २९ सय ९१ करदाताले नै ७८ प्रतिशत कर तिर्ने गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९/८० मा ४ खर्ब ७९ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । जुन, गत आर्थिक वर्षमा राजश्व सङ्कलन लक्ष्यको ७६.५१ प्रतिशत हो । गत आर्थिक वर्षमा मन्त्रालयबाट विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य पाएको थियो ।

सङ्कलित कूल राजश्वमा समेत ७८ प्रतिशत राजश्व २९ सय ९१ जनाले नै दाखिला गर्ने खुलेको हो । तथ्यांकअनुसार १० जना करदाताले नै २२.५७ प्रतिशत कर तिर्छन् । यो भनेको १ खर्ब ८ अर्ब ३० करोड हुन आउँछ ।

यस्तै, कूल उठेको करको ४४.३० प्रतिशत कर ५० जना करदाताले मात्रै तिरेका छन् । ५० जना करदाताले २ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ कर तिरेका छन् । यसबाहेक, कूल १०० जना करदाताले सङ्कलित करको ५२.४६ प्रतिशत कर तिरेको खुलेको छ । यो भनेको २ खर्ब ५१ अर्ब ७३ करोड हो ।

यस्तै, ५०० जना करदाताले ३ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ कर तिरेका छन् । यो कूल सङ्कलित करको ६६.६८ प्रतिशत कर हो । यसबाहेक, १ हजार जनाले ३ खर्ब ४२ अर्ब १८ करोड तिरेका छन् । यो ७१.३२ प्रतिशत हो । ‘विभागको गत वर्षको तथ्याङ्क हेर्दा करिब ३ हजार करदाताबाटै नै कूल सङ्कलित करको ७८.१४ प्रतिशत उठेको देखिन्छ,’ विभागका उप–महानिर्देशक अर्जुन भट्टराईले भने, ‘कूल ५५ लाख ५४ हजार करदाता दर्ता छन् ।’

विभागको तथ्यांकअनुसार २ हजार करदाताले ३ खर्ब ६२ अर्ब ८२ करोड रुपैयाँ कर तिरेका छन् । यो कूल सङ्कलित करको ७५.६२ प्रतिशत कर हो । यसबाहेक, २९ सय ९१ जना करदाताले ३ खर्ब ७४ अर्ब ९३ करोड रुपैयाँ कर दाखिला गरेका छन् । यो कूल सङ्कलित करको ७८.१४ प्रतिशत हुन आउँछ ।

tax-1

कुन शीर्षकमा कति उठ्यो कर ?

गत आर्थिक वर्ष आन्तरिक राजश्व विभागले ४ खर्ब ७९ अर्ब रुपैयाँ कर उठाएको थियो । बजेटमार्फत अर्थ मन्त्रालयले विभागलाई ६ खर्ब ७७ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको विभागले लक्ष्यको ७६ प्रतिशत मात्रै कर उठाएको हो । विभागले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र शिक्षा सेवा कर गरी ७ शीर्षकमा कर उठाउँछ ।

यो ७ शीर्षकलाई समेत दुई भागमा विभाजन गरिएको छ । आयकर, घरबहाल कर र ब्याज करलाई आयकरतर्फ गणना गरिन्छ । यसबाहेक, अन्य करलाई सोही बमोजिम शीर्षकमा राखिन्छ । विभागका अनुसार गत आर्थिक वर्ष आयकरतर्फ २ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

tax-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप