आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

माओवादीका केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी, जिल्ला इन्चार्जमा व्यापक फेरबदल

बुधबार, ३१ साउन २०८०, १७ : ०६
बुधबार, ३१ साउन २०८०

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशको पूर्ण बैठकले केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिने भएको छ । ‘गाउँ–गाउँमा माओवादी, घरघरमा माओवादी’ नाराका साथ माओवादीले तीन महिने संगठन विस्तार अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिने भएको हो ।

माओवादीको प्रदेश समितिको बैठक बुधबार विराटनगरमा बसिरहेको छ । उक्त बैठकमा केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, केन्द्रीय परिषद् सदस्य र केन्द्रीय विभागका सदस्यहरुको कार्यविभाजन गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेश इन्चार्ज चक्रपाणि खनालसहितको उपस्थितिमा भएको बैठकले १४ जिल्ला र विराटनगर महानगरपालिकाको इन्चार्जसमेत तोक्ने छ । बैठकमा राखिएको प्रस्तावमा ताप्लेजुङमा सीता थेबे, पाँचथरमा झलकसिंह दर्लामी, इलाममा कुलप्रसाद साम्बा, झापामा राजेन्द्र कार्की, मोरङमा समिता कार्की, विराटनगर महानगरपालिकामा दुर्गाप्रसाद चापागाइँ र सुनसरीमा मणि खम्बू किरातीलाई इन्चार्ज बनाउने उल्लेख छ ।

यसैगरी तेह्रथुममा खेलप्रसाद बुढाथोकी, संखुवासभामा हेमकुमार राई, भोजपुरमा शिवबहादुर बस्नेत, खोटाङमा चम्पा कार्की, सोलुखुम्बुमा एकचन्द्र बराल, ओखलढुङ्गामा धिरेन्द्र्र शर्मा र उदयपुरमा धनमाया विकलाई इन्चार्जको जिम्मेवारी तोक्ने प्रस्ताव गरिएको छ । धनकुटामा भने आन्तरिक विवाद उत्कर्षमा पुगेका कारण प्रदेश समिति सचिवालयबाटै इन्चार्जसीप गर्ने प्रस्तावमा उल्लेख छ ।

बैठकले नेताहरुको कार्यविभाजन गर्दै प्रदेश नम्बर १ का १३७ वटै पालिकाको इन्चार्जहरु समेत तोक्ने भएको छ । माओवादी केन्द्रले पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका कार्यालयहरु र कार्यकर्ता व्यवस्थापन आदि काम गर्नेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल सञ्चालन गर्ने, विषयगत अन्तरक्रिया र तालिम, गोष्ठी, प्रशिक्षण, जनभेला, टोलभेला, युवा तथा महिलाहरुको भेला आयोजना गर्नेछ । अभियानको तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवा आदि कार्यक्रममार्फत जनपरिचालन गर्ने, सुशासन र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रमहरु सञ्चालन गर्ने छ । अभियानको नेतृत्व पालिका तथा वडा तहसम्म नै केन्द्रीय सदस्यहरुले नै गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप