आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
हवाई यात्रामा अवरोध

१२ बजेपछि जहाज सञ्चालनमा रोक : क्यानको निर्णयपछि जहाज कुर्दाकुर्दै ४ जनाको मृत्यु

बुधबार, ३१ साउन २०८०, १७ : ३६
बुधबार, ३१ साउन २०८०

 सुर्खेत । १५ साउनदेखि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लागु गरेको ‘अपरेसन आवर’ले कर्णालीका हिमाली जिल्लाका नागरिकलाई निकै समस्या भएको छ । प्राधिकरणको नयाँ नियमअनुसार दिउँसो १२ बजेपछि जहाज सञ्चालन गर्न नमिल्ने निर्णयले हुम्ला, डोल्पा र मुगुका नागरिकले सास्ती खेपेका छन् । 

हिमाली जिल्लामा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मात्र उडानका लागि अनुमति दिइएको छ । जबकि बर्खाको समयमा हिमाली जिल्लामा बिहानदेखि मौसम खुल्न गाह्रो हुन्छ । जसका कारण जहाज आउन सक्दैन । त्यसको असर दुर्गमका नागरिकमाथि पर्ने नै भयो ।

दुर्गमका नागरिकको अवस्थालाई नबुझेर प्राधिकरणले गरेको नियमले नागरिक ज्यान गुमाउन बाध्य छन् । क्यानको निर्णयपछि जहाज कुर्दाकुर्दै हुम्लाका चार जनाको मृत्यू भइसकेको छ । 

मृत्यू हुनेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनार, सिमिकोट गाउँपालिका–७, का ७ महिने बालक रोहित शाही, खार्पुनाथ गाउँपालिका–१, का साढे १ वर्षका बालक आर्यन परियार र चंखेली गाउँपालिका–४, का ५ महिने बालक सन्देश लुवार रहेका छन् । चारै जना बालकको जहाज नआउँदा उपचार अभावमा मृत्यू भएको हो । 

शाही झाडापखालाका बिरामी थिए । जिल्ला अस्पताल हुम्लामा ल्याइएका उनलाई ठुलो अस्पतालमा लैजानुपर्ने डाक्टरको सल्लाह थियो भने इमरानको समस्या पनि उस्तै थियो । रगतमा समस्या देखिएका उनीहरुलाई १८ साउनमा सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्लाका चिकित्सकहरूको सुझाव थियो । यद्यपि मौसमका कारण बिहान जहाज आएन । बिरामीका आफन्तहरूले सिमिकोट विमानस्थलमा जहाज कुर्दाकुर्दै उनीहरुको ज्यान गयो । 

यस्तै परियारलाई निमोनिया र लुवारलाई कुपोषणको समस्या रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि बाहिर लैजान भनिएका उनीहरुको पनि जहाज कुर्दाकुर्दै उपचार अभावमा मृत्यू भएको हो । लुवारको ८ साउन र परियारको ७ साउनमा मृत्यू भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. प्रेम सिंहले जानकारी दिए । 

हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो । एक त सडक सुविधा नै नभएका र भएका ठाउँमा पनि भरपर्दो सुविधा नभएका हिमाली जिल्लाका नागरिकका लागि प्राधिकरणको नियम कालजस्तै बनेको नागरिकको गुनासो छ । हिमाली जिल्लाका बिरामीहरुका लागि एम्बुलेन्स भनेकै हवाईजहाज हो । 

‘बिरामी बालकहरु घरबाट नै सिरियस अवस्थामा अस्पतालमा ल्याइएको हो । उनीहरुलाई थप आइसियुमा राख्न रेफर गरियो,’ डा.सिंहले रातोपाटीसँग भने,‘समयमा हवाईजहाज नआएर उद्दार हुन सकेन । जसका कारण मृत्यू भएको हो ।’ 

हिमाली जिल्लामा हवाईजहाजबाहेक अर्को विकल्प नभएपनि प्राधिकरणले अन्याय गरिरहेको उनको भनाइ छ । ‘महिनौँ दिनदेखि अन्य बिरामीहरु पनि जहाजको पखाईमा छन्,’ उनले भने,‘जहाज नआउँदा खाद्यान्नदेखि सबैजसो कुरामा नागरिक मर्कामा छन् ।’

विरोधमा सदन अवरुद्ध

क्यानले दुर्गम कर्णालीका नागरिकमाथि खेलवाड गरेको भन्दै अहिले चर्काे विरोध हुन थालेको छ । तर पनि क्यानले उक्त निर्णयमा पुनर्विचार गरेको छैन । 

मंगलबार उक्त विषयलाई लिएर कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ । प्राधिकरणको ज्यानमारा निर्णयबारे सरकारले कुनै ध्यान नदिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । 

प्राधिकरणको उक्त निर्णय सञ्च्याउन प्रदेश सरकारको क्याविनेटले नै निर्णय गरी संघीय सरकारलाई दबाब दिनुपर्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए । 

अहिले संघीय सरकारमै कर्णाली प्रदेशका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन् भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला छन् ।

सोमबार मन्त्री ज्वाला, कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले भने हवाई उडानमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् । 

प्रधानमन्त्री दाहालले नागरिकलाई सास्ती हुने निर्णयको सम्बन्धमा सरकारले आवश्यक निर्णय लिने बताएको पूर्व मुख्यमन्त्री शाहीले बताए । 

क्यानको निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला, रुकुम पश्चिममा रहेका विमानस्थलमा दिउँसो हवाई उडान हुन सकिरहेको छैन । 

मध्याह्नपछि किन रोकियो हवाई उडान ? 

कर्णालीमा अहिले पाँच वटा विमानस्थल सञ्चालनमा छन् । तीमध्ये सिमिकोट, रारा र डोल्पा विमानस्थलको मध्यान्हपछि उडान तालिका छैन । यसअघि यहाँ मौसम अनुकुल हुँदा उडान हुने गरेका थियो । यद्यपि क्यानले उडान जोखिमपूर्ण भएको भन्दै मध्याह्नपछि उडान नगर्ने निर्णय गर्‍यो  । 

सुर्खेत विमानस्थलका कार्यालय प्रमुख राजनराज ढुङ्गेलका अनुसार विमानस्थलमा तालिका निर्धारण गर्न सुरक्षा व्यवस्थापन प्रणाली लागु छ । जसमा हुन सक्ने सम्भावित जोखिम, बेलाबखत भइरहने जोखिम र सुरक्षाका उपाय लगायतका विषयको पहिचान गरी त्यसको समाधानका उपाय निर्धारण गरिन्छ । उक्त प्रणालीमा विमानस्थल तालिका बमोजिम उडान हुने निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्नुपरेको उनले बताए । 

कर्णालीमा हुने उडानमा हावाको गति बढ्नु, बादल बाक्लिनु, मौसम खराबी, बढी हल्लिनुका कारण उडान जोखिम मानिएको छ । मनसुन समयमा जोखिम बढी हुने भएकाले निर्णयमा कडाई गर्न बाध्य भएको उनको भनाइ छ । 

‘पत्र पठाइसकेका छौँ’

क्यानको निर्णयले नागरिकले सास्ती भोगेको भन्दै प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई पत्र पठाइसकिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले जानकारी दिए ।

उनले रातोपाटीसँग भने,‘अहिले आपतकालीन उडानका लागि भनेर सहमति दिइएको छ । तर, नियमित उडानका लागि दिइएको छैन ।’ पुनः सोमबार अर्को पत्र पठाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप