नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन् ।
बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताए । उनले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताए । उनले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हितलाई समेटेर अघि बढ्न जरुरी रहेको बताए । नेपालका नागरिकहरु भारत गएपछि फर्किँदा र भारतका नागरिक नेपालबाट फर्किँदा समस्या झेल्नुपरेको भन्दै उनले त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताए ।