आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि मलेसियामा जाने टोलीको बिदाइ

बुधबार, ३१ साउन २०८०, १९ : ५२
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।  

नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाइ गरिएको हो । उनीहरूलाई क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाइ गरेका थिए । नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ ।

सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो । नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखलामा प्रतिष्पर्धा गर्नेछन् । उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ । पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ । फाइनल खेल अगस्ट २६ मा हुनेछ । क्यानले ट्वान्टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीवार मात्रै रुविनाको नेपाली टोली घोषणा गरिएको हो । खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

रुबिनाको कप्तानीमा रहेको नेपाली टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् । बिदाइका अवसरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले इन्डोर अभ्यासमा पनि राम्रो तयारी गरेको बताइन् । रुविनाले मलेसियामा अभ्याससँगै ट्वान्टी–२० श्रृंखला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने र अहिले क्यानले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त गरेकाले त्यसको फाइदा लिने विश्वास व्यक्त गरिन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप